लिम्बूलाई किपट अथ्र्याए


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

– बसन्त बस्नेत
श्रावण ७, २०७४- पञ्चायत सरकारले किपट बिर्ता खोस्नेगरी २०२१ सालमा भूमिसुधार योजना ल्याएपछि पूर्वका लिम्बू अगुवाहरू चर्कै रिसाए। तिनीहरूले राजा पृथ्वीनारायण शाहबाट १८३१ साउन २२ मा पाएको लालमोहर प्रमाणका रूपमा पेस गरे। त्यसैलाई आधार मान्दै राणाहरूबाट पाएको सनद पनि ठीकठाक तयार राखे। सरकार भने किपटियाहरूमार्फत् समुदायले भोगचलन गरिआएको जमिन अब रैकरमा बदल्ने योजनामा थियो। सुब्बाहरू राज्यले दिएको दस्तावेज देखाएर राज्यसँगै लड्ने मनस्थितिमा पुगे।

तेह्रथुमका भूपू गभर्नर ललितबहादुर तुम्बाहाङ्फे (पूर्वसांसद विजय सुब्बाका बुवा) को घरमा सबैतिरका सुब्बाहरूले संकलन गरेको दस्तावेज संग्रह गरियो। अगाडिका सरकारहरूले भूमि व्यवस्थाबारे जेसुकै नीति लिएको भए पनि पञ्चायतले आफ्नो नयाँ योजना लागू गरिछाड्यो। इतिहासकार शिवकुमार श्रेष्ठले तुम्बाहाङ्फेकहाँ गएर सबै दस्तावेज केलाए। साझा प्रकाशनले प्रकाशन गरेको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ को परिशिष्ट खण्डमा यी बहुमूल्य लेखोटहरू पढ्न पाइन्छ।
८२ वर्षको उमेरमा अघिल्लो बुधबार, २८ असारमा देहान्त भएका धनकुटा क्याम्पसका पूर्वप्रमुख श्रेष्ठ १९९२ असार ३० गते जन्मेका थिए। उनले इतिहास संकलन र अध्ययनको दायरालाई लिम्बुवानमा खुम्च्याएर भने बसेनन्। उनी भन्थे, ‘लिम्बू नभए पनि म लिम्बुवानमा नै जन्मे, हुर्केकाले सानै उमेरदेखि लिम्बुवानको रीतिथिति, इतिहास र संस्कृति अध्ययन गर्ने जिज्ञासा थियो यही जिज्ञासाले मलाई लिम्बूको रीतिथिति, इतिहास र संस्कृति खोज्न प्रेरणा दियो।’
श्रेष्ठका ‘आधुनिक विश्वको इतिहास,’ ‘युरोपको इतिहास,’ ‘विश्वका प्राचीन सभ्यताहरूको इतिहास’ जस्ता पुस्तकहरू छन्। किराती लोककथाहरूका दुई भाग लेखेका उनको ‘हिमालयन फोकलोर : टेल्स् अफ् इस्टर्न नेपाल’ र ‘किराती फोक–टेल्स’ अनूदित छन्। आठपहरिया जातिको ऐतिहासिक, सामाजिक र आर्थिक अवस्थामाथि उनको अर्को त्यस्तै पुस्तक छ। उनको ‘किराती लोककथाहरू’ पूर्वतिर निकै चर्चित पुस्तक हो, जसमा संगृहीत दन्त्यकथाहरू उनले आफैं विभिन्न जिल्लाहरू पैदल घुमेर खोजबिन गरेका हुन्।
जानकारहरूका अनुसार महेशचन्द्र रेग्मीले ‘ल्यान्डअनरसिप इन् नेपाल’ पुस्तकमा राज्यको भूमिसुधार नीतिले लिम्बूसहित विभिन्न जाति, क्षेत्रका मानिसहरूलाई दिएका प्रभाव र असरबारे जुन प्राज्ञिक उचाइबाट ऐतिहासक विवरण प्रस्तुत गरे, आम पाठकका लागि त्यो निकै दुर्बोध्य थियो। त्यस किताबमा किपट प्रथामाथि छुट्टै परिच्छेद नै छ। लिम्बुवानको इतिहास अनुसन्धान गरेका अध्येता अर्जुनबाबु माबुहाङ भन्छन्, ‘राज्यले सुब्बाहरूलाई दिएको सनत तिरोहरूको सरकारी रेकर्ड खोज्ने काममा रेग्मीको योगदान छ, तर त्यो अधिकांशले त्यसलाई बुझ्नै सकेनन्। लिम्बूलाई किपटको बारेमा सजिलो गरी अथ्र्याउने पहिलो इतिहासकारचाहिं शिवकुमार श्रेष्ठ हो। केही समय भूमिसुधार विभागका कर्मचारी भएर काम गरेकाले गर्दा जग्गाको किसिम र प्राविधिक पक्षमा उहाँको पकड थियो।’ लिम्बुवानको ऐतिहासिक अध्ययनलगायत शोध ग्रन्थहरू पढेपछि राजनीतिज्ञ तथा लेखक स्व. काजीमान कन्दङ्वाले श्रेष्ठलाई इतिहास अन्वेषणको क्षेत्रमा इमानसिंह चेम्जोङ र प्रेमबहादुर माबोहाङपछि तेस्रो लहरमा उभ्याएका छन्।

पहिले प्राज्ञिक वृत्तमा छलफल हुने, अनि पछिल्ला वर्षहरूमा क्षेत्रीय राजनीतिको मुद्दा बनेको ‘किपट’ के हो त? रेग्मी लगायत शोधकर्तालाई उद्धृत गर्दै श्रेष्ठले आफ्नो पुस्तकमा लेखेका छन्, ‘जमिनको स्वामित्व जात, गाउँ, नातागोता र पारिवारिक आधारमा रहेको हुन्छ र व्यक्तिहरूको उक्त जमिनमाथिको निश्चित स्वामित्व पनि उनीहरूको सम्बन्धित सामाजिक एकाइको सदस्यतामा आधारित हुन्छ। यस प्रकारको जमिनको स्वामित्व जातीय चरित्रको छ, यो पूर्ण रूपको स्वामित्वभन्दा पनि भोगाधिकारमा सीमित स्वामित्व हुन्छ।’ २००७ सालको परिवर्तनलगत्तै खुलेका विभिन्न पार्टीहरू किपट प्रथाबारे मौन बसे पनि नेपाली कांग्रेसले अब यो हटाउनुपर्छ भन्ने प्रस्ताव पारित गरेको पनि श्रेष्ठले उल्लेख
गरेका छन्।
इतिहासकार श्रेष्ठले किरात सभ्यताको उद्भव, काठमाडौं उपत्यकामा किरात राज्य निर्माणदेखि पछि बनेको नेपाल राज्य निर्माणमा लिम्बू समुदायको योगदानबारे प्रशस्तै अन्वेषण गरेका छन्। इतिहास पढ्दा थाहा हुन्छ— पृथ्वीनारायण शाहले अरू राज्यहरू जित्दै लगे पनि लिम्बुवानलाई वार कि पार लगाउन सकेका थिएनन्। गोर्खाली अफिसर रघु राना र लिम्बू कमान्डर काङसोरेबीचको लडाइँमा रघुराना मारिए। गोर्खाली फौजतिर ठूलो संख्यामा हताहती हुँदै गर्दा सिक्किमले पनि गोर्खाविरुद्ध लडाइँको विगुल फुक्यो। दुश्मनहरू आफूविरुद्ध संगठित हुँदै गएको देखेपछि पृथ्वीनारायण शाहले लालमोहर गरिदिए। त्यही लालमोहरमार्फत् लिम्बूको भूमिलगायत प्राकृतिक, सामाजिक स्रोतमाथि निश्चित अधिकारहरू सुरक्षित हुनेगरी उनीहरू गोर्खा राज्यमा समाहित भए।
पृथ्वीनारायणले लिम्बूसित सन्धि गर्दै गर्दा त्यहाँभित्रका प्रशासनिक पद्धतिहरूलाई उप्रान्त राज्यकै सम्पत्तिका रूपमा स्वीकार गर्ने वाचा दिलाएका थिए। पृथ्वीनारायणको लालमोहरमा किपट शब्द कतै उल्लेख छैन, बरु रणबहादुर शाहले छाप गरिदिएको लालमोहरमा पहिलोपटक उक्त शब्द प्रयोग भएको देखिन्छ। किपट शब्द लिम्बुवानसँग मात्रै सम्बन्धित भनी कतिपय अनुसन्धाताहरू भन्छन्, तर श्रेष्ठले गजेन्द्रबहादुर प्रधानांग, फ्रान्सिस ह्यामिल्टन लगायत इतिहासकारलाई उद्धृत गर्दै गोर्खालीहरूले पूर्व नेपाल विजय गर्नुपहिल्यै पश्चिम नेपालमा माझी र अन्य जातिले किपट चलाएको तथ्य दिए। तर इतिहासको जतिसुकै गीत गाए पनि किपटले फाइदा गरिरहेको भने थिएन।
यहाँनेर एक बुद्धिजीवीका रूपमा श्रेष्ठको आलोचनात्मक योगदान देखिन्छ। जतिसुकै ऋण परे पनि पर्वाह नगरी सामाजिक धार्मिक रीतितिथि चलाउने हुँदा भोगबन्धकी प्रथाका कारण किपट अन्तत: स्वयं लिम्बूहरूकै लागि हानिकारक बन्न पुगेको निष्कर्ष उनले आफ्ना पुस्तकहरूमार्फत् दिए। समाजशास्त्री चैतन्य मिश्र भन्छन्, ‘किपटलगायत त्यस बेलाका भूमि वितरणसम्बन्धी प्राय: सबै प्रथाहरू जमिनदारीमा आधारित थिए। समुदायका निश्चित मानिसहरूमा रहेको सम्पत्तिसम्बन्धी अधिकार राज्यले खोसेर व्यक्तिको निजी सम्पत्तिका रूपमा हस्तान्तरण गर्ने नीति लिनु उचित नै हो। किपट खारेजी भए पनि त्यसको ऐतिहासिक पक्ष खोजी गरिनु प्राज्ञिक अनुसन्धानको क्षेत्रमा श्रेष्ठको योगदान हो।’
गैरलिम्बू समुदायमा जन्मी हुर्की विश्वको इतिहास विषयमा उच्च शिक्षा लिए पनि श्रेष्ठले आफ्नो शोधको विषय लिम्बुवानको क्षेत्रीय अवयवलाई बनाए। ‘लिम्बुवानको सम्बन्धमा आजसम्म स्वदेशी र विदेशी इतिहासकारले आफ्नै दृष्टिकोणले मात्र लेख्ने प्रयास गरेका छन्, तिनीहरूले तथ्य केलाएर वास्तविकता औंल्याउन सकेका छैनन्,’ श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ को भूमिकामा लेखेका छन्, ‘इतिहासकारहरूले कसैप्रति पूर्वाग्रह राख्नु हुँदैन भन्ने धारणाले मैले ऐतिहासिक अध्ययन थालेको छु।’ लिम्बुवानको पुरानो भूगोल कहाँदेखि कहाँसम्म भन्ने विवाद राजनीतिकर्मीहरू गरिरहन्छन्। श्रेष्ठले ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र संखुवासभा गरी ४३४७ वर्गमाइलमा रहेको भूभाग मात्रै लिम्बुवान भएको पुस्तकमा ठोकुवा गरेर लेखेका छन्।
२०७० असोज दोस्रो साता यो पंक्तिकार धनकुटा सदरमुकाम सिरानबजारस्थित श्रेष्ठको घर पुग्दा उनी धर्मपत्नीसहित बुढ्यौलीका दिनहरू गुजार्दै थिए। किरातहरूको इतिहास खोजीमा आफू क्रियाशील रहेको बताउने उनी स्वास्थ्य र स्मरणशक्ति पहिलेजस्तो नरहेकाले दस्तावेजहरूको सिलसिलेवार अध्ययन तथा तिथिमितिको ‘क्रोनोलोजिकल अर्डर’ मिलाउन नसकिरहेको दुखेसोमा थिए। आफ्ना केही प्रकाशित कृति थमाउँदै उनले भनेका थिए, ‘बूढा मरे, भाषा सरे भन्छन्। आफू कहिले मरिने हो ठेगान छैन। इतिहासचाहिँ अरूलाई सारिराखूँ।’ नयाँ पुस्ताको प्राविधिक विषयप्रति मोह, तर इतिहास, अर्थशास्त्रजस्ता विषयप्रति घट्दो रुचिले उनी दिक्किएका थिए। उमेरले हो कि, तन्नेरीहरूको सोच–समझप्रति उनले पत्यार गरेको देखिएन।
श्रेष्ठ अब फर्कन्नन्, अनि पुरानै भूमि पद्धतिमा आधारित किपट, विर्ता, अमाल पनि फर्कने छैन। तर उनले हाम्रो नेपाली समाज कस्तो कालखण्डबाट गुज्रिएर विकास भएको हो भनी अध्ययन गर्न गतिला सामग्रीहरू लेखेर छाडिदिएका छन्। श्रेष्ठ अरू इतिहासकारभन्दा यसर्थ अब्बल छन्— किरात लिम्बुवानमाथि लेखिएका अधिकांश इतिहास कि त लिम्बू भाषामा छन्, कि त अंग्रेजीमा। श्रेष्ठले आम नेपाली पाठकमा पुग्ने माध्यम भाषा बदले। आफूलाई फैलाए, र अमर भए। प्राध्यापक बालकृष्ण माबुहाङ भन्छन्, ‘इतिहास भनेर शासकहरूका गाथा पढाइने पञ्चायती युगमै शिवकुमार श्रेष्ठले उपेक्षित भूमिको इतिहास खोतल्ने काम गर्नुभयो। प्रजातन्त्र आउँदा उहाँमा जुन प्रकारको केही गरौं भन्ने उत्साह थियो, त्यसलाई राज्यले उपयोग गर्न सकेन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com