यस्तो छ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन


प्रकाशित मिति : पुस १०, २०७९ आईतबार

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उहाँ प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । उहाँको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ ।

पछिल्लो निर्वाचनमा मतका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र क्रमशः पहिलो, दोस्रो र तेस्रो शक्तिका रूपमा स्थापित भएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री हुनुभएको थियो । उहाँले दोस्रो कार्यकालमा आफूले जनअपेक्षाअनुसार काम गर्नसकेको सार्वजनिकरूपमा नै बताउँदै आउनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई नेकपा ९एमाले०को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उहाँ विसं २०६५ को साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । यस्तै, २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका उहाँ २०७४ जेठ २३ गतेसम्म कार्यकारी प्रमुखका रूपमा रहनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकले अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्री दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिनुभयो । विसं २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षामा उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नुभएको थियो । उहाँले एमपीएसम्मको अध्ययन गर्नुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालले कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गर्नुभएको हो । विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उहाँको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमलभन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गर्नुभएका दाहालको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरामध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ ।

उहाँ नारायणी विद्या मन्दिर मावि शिवनगर ९२०२९० साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा (२०३३–०३५) सालमा अध्यापन गर्नुभएको थियो । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता प्राप्त गरेर आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका दाहालले रामबहादुर थपा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो ।

उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा ९एकताकेन्द्र०को महामन्त्री हुनुभयो ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक हुनुभएको थियो ।

विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभएका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभयो ।

साथै उहाँले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ । अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ (भाग १, २ र ३) ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन् ।

उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित हुनुभएको थियो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन ।

विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो । सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो । सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो ।

यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी हुनुभएको हो । सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बन्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com