जुनमा १९१८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा तर नयाँ अप्वाइन्टमेन्ट पाउन ४३६ दिन


प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार

जुन महिनामा अमेरिकाले १९१८ जना नेपालीहरुलाई भिजिटर भिसा प्रदान गरेको छ । जसमध्ये काठमाडौंमा रहेको अमेरिकी दूतावासले १५८० जनालाई भिजिटर भिसा जारी गरेको छ । यो संख्या विना अन्तरवार्ता नविकरण गरिएका भिजिटर भिसा र अन्तरवार्ता लिएर जारी गरिएका भिजिटर भिसाको कुल संख्या हो ।

विगतमा जुनका लागि अप्वाइन्टमेन्ट लिएका र इमर्जेन्सी अप्वाइन्टमेन्ट लिएकाहरुलाई जुनमा भिजिटर भिसा जारी गरिएको थियो । मे महिनामा जुनको तुलनामा अझै धेरै २२१७ नेपालीले बी श्रेणीको भिजिटर भिसा पाएका थिए । अमेरिकी दूतावास काठमाडौंलेमात्र २ हजार २३ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

मे महिनामा अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको थियो । कुनैपनि महिनामा यति धेरैलाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको मासिक रेकर्ड सार्वजनिक गर्न थालेपछिको यो नै पहिलो पटक हो । सन् २०१७ को मार्चदेखि अमेरिकी विदेशमन्त्रालयले मासिक रुपमा जारी भिसा संख्या सार्वजनिक गर्न थालेको हो ।

अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा विना अन्तरवार्ता भिजिटर भिसा नविकरण समेत गरिरहेको छ । विगतमा भिजिटर भिसा लिएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले यो सुविधा पाइरहेका छन् । त्यस्तै विगतमा कुनै पनि प्रकारको गैर आप्रवासी भिसा लिएकाहरुलाई पनि विना अन्तरवार्ता विद्यार्थी भिसा प्राप्त गर्ने सुविधा रहेको छ ।

कोरोना महामारीपछि अमेरिकी दूतावासहरुले नियमित भिसाहरु सुचारु गरेपनि अप्वाइन्टमेन्ट पाउन भने निकै मुस्किल हुने गरेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिजिटर भिसाको अप्वाइन्टमेन्ट पाउन गत महिना औषतमा २७४ दिन लाग्ने गरेकोमा अहिले यो अवधि बढेर ४३६ दिन पुगेको छ । यो सप्ताहन्त र विदा सहितका दिन गणना गरेर निकालिएको औषत अवधि हो ।

काठमाडौंबाट विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा ७९ दिन लाग्ने गरेको छ । गतमहिनासम्म विद्यार्थी र भिजिटर भिसाबाहेक अन्य गैर आप्रवासी भिसाको अन्तरवार्ता पाउन भने औषतमा १७ दिनमात्र लाग्ने गरेकोमा अहिले यो अवधि पनि २०३ दिन पुगेको छ ।

अमेरिकी दूतावास दिल्लीमा भने भिजिटर भिसाको अन्तरवार्ता अप्वाइन्ट पाउन अझ मुस्किल रहेको छ । दिल्लीमा भिजिटर भिसाको अप्वाइन्ट पाउन औषतमा ५६७ दिन लाग्ने गरेको छ । तर विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट पाउन भने औषतमा २२ दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट पाउन औषतमा २८८ दिन लाग्ने गरेको छ ।

अमेरिका, युरोप लगायत भिजिटर भिसाको अप्वाइन्टमेन्टमा विश्वब्यापी रुपमा नै ढिलाई भइरहेको छ । भिजिटर लगायतका अल्पकालिन भिसा लिन चाहने आवेदकहरुले भिसा अप्वाइन्टमेन्टका लागि लामो समय कुर्नुपरेको छ भने भिसा प्रकृयामा समेत ढिलो हुने गरेको छ । विश्वका कैयन देशमा भिसा आवेदनका नयाँ प्रावधानहरु समेत थपिएका छन् ।

तर सबैभन्दा ढिलाई भने अमेरिकाको भिजिटर लगायतका भिसा लिन चाहनेहरुका सन्दर्भमा भइरहेको छ । अमेरिकाको भिजिटर भिसा बी वानका लागि अप्वाइन्टमेन्ट पाउन निकै नै मुस्किल हुने गरेको छ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसा आवेदन दिएका आवेदकले एकबर्षपछाडिको मात्र अप्वाइन्टमेन्ट उपलब्ध रहेको गुनासो गरेको छन् । अहिले अमेरिका जान चाहनेहरुका लागि समेत सन् २०२३ वा सोभन्दा पछिको मात्र अप्वाइन्टमेन्ट उपलब्ध रहेको सेवाग्राहीहरुको गुनासो छ ।

त्यस्तै युरोपको शेंगेन भिसाको अप्वाइन्टमेन्ट पाउन पनि निकै मुस्किल हुने गरेको छ । भारत, अमेरिका र यूकेबाट शेंगेन भिसाको अप्वाइन्टमेन्ट पाउन निकै मुस्किल रहेको छ । नेपालबाट समेत अप्वाइन्टमेन्ट पाउनमा समस्या रहेको आवेदकहरुको भनाई छ ।

त्यस्तै चीनको भिसा आवेदकहरुले कोरोना परीक्षणका झन्झटिलो प्रकृयाको सामना गर्नु परिरहेको छ भने जापानको भिसामा पनि ढिलाई भइरहेको छ ।

कोरोना महामारीपछि विश्वका कैयन देशहरुले पर्यटकहरुलाई यात्रा सुचारु गरे लगत्तै आवेदनको संख्यामा बृद्धि भएकाले यो अवस्था श्रृजना भएको हो । त्यस्तै जुनदेखि अगस्तको बीचमा कर्मचारीहरुको कटौती भएकाले र महामारीका कारण सरकारी नीतिमा आएका परिवर्तनहरुले पनि भिसा प्रकृयामा ढिलाई भएको छ ।

सन् २०२२ भर नै भिसामा यस्तो समस्या जारी रहने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय यात्राको योजना बनाउनेहरुलाई सकेसम्म छिटो भिसाको प्रकृया सुरु गर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com