‘छोरी मरे अर्की जन्माउँला’


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

छोरालाई मीठो–मसिनो खुवाएर हुर्काउँछन् र कुपोषण हुने सम्भावना पनि कम हुन्छ । अधिकांश छोरीले भने पेटभरि खान नपाएका कारण कुपोषित हुनुपर्छ । कुपोषित बालिकाका आमाहरू छोरी मरे अर्काे जन्माउँला पो भन्छन् ।

वसन्तप्रताप सिंह

बझाङ । दुर्गाथली गाउँपालिकाको सैनपसेला वाइकोटकी शान्ति जप्रेलको घरमा गएका जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृतले शान्तिकी तीन वर्षकी छोरी अस्मितालाई कडा खालको कुपोषण भएको पत्ता लगाए । उनले कुपोषित बालिकाको उपचार निःशुल्क गरिने भन्दै जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गर्न अनुरोध गरे ।

शान्तिको परिवारले सानी छोरीको उपचारका लागि धामीझाँक्री लगाउँदा ७–८ हजार खर्च गरिसकेको थियो । छोरीको माया मारिसकेको भन्दै स्वास्थ्यकर्मीको अनुरोध शान्तिले अस्वीकार गरिन् । शान्तिका श्रीमान् चार वर्षदेखि मलेसियामा छन् । घरमा बूढा ससुरा छन् । अरू छोराछोरी पनि हेर्नुप-यो । अस्पताल जाँदा घरमा कोही नहुने भन्दै शान्तिले छोरीको उपचार गर्नै मानिनन् । त्यसपछि पोषण अधिकृत इन्द्र कार्कीले अस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना नगरे प्रहरीमा उजुरी गर्ने धम्की दिए । त्यसपछि उनले डरले पनि छोरीलाई जिल्ला अस्पतालमा भर्ना गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिनसम्म त शान्ति अस्पताल बसिन् । तर, तेस्रो दिन दिउँसो खाजा खाने निहुँ पारेर छोरीलाई लिएर निस्केकी उनी अस्पताल फर्किनन् । बिरामी हराएपछि अस्पतालमा खैलाबैला भयो । उनको खोजी गरिदिन अस्पतालले प्रहरीलाई गुहा-यो । खोज्दै जाँदा प्रहरीले उनलाई घरमा फेला पा-यो । गत पुसको अन्तिम साता अस्मिताको कुपोषणकै कारण मृत्यु पनि भइसकेको छ । ‘तीन दिनसम्म अस्पताल बस्ता घरमा गाईवस्तु र घरको काम डामाडोल भइसकेको थियो । बूढा ससुराले घर धान्न सक्ने कुरा भएन । मरे मर्ली बाँचे बाँच्ली भनेर अस्पतालबाट भागेर आएँ । घर पुगेको भोलिपल्ट मरिहाली,’ अस्पताल जानु पहिला नै छोरी मर्छे भनेर आफू अस्पतालबाट भागेको उनी स्वीकार गर्छिन् ।

पुसको पहिलो साता खिरातडी गाविसकी साढे चार वर्षीया बालिका करिश्मा कुँवरको पनि कुपोषणकै कारण ज्यान गयो । स्वास्थ्यकर्मीले उनको परिवारलाई उपचार गर्नका लागि धेरै सम्झाए । छोरी मरे अर्की जन्माउँला । अस्पतालमा गएर हप्तौँ उपचार गर्दा घरको काम बिग्रन्छ भनेर परिवारले उपचार गर्न मानेनन् । जिल्ला स्वास्थ्य कार्यालयको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका प्रमुख डाक्टर सुनील गजुरेलले भने, ‘जति सम्झाउँदा पनि परिवारले मानेन । हेर्दाहेर्दै बालिकाको ज्यान गयो ।’

यी दुवै गाउँबाट सदरमुकामस्थित जिल्ला अस्पताल आउन–जान एक दिन लाग्छ । तर, अचम्म के छ भने जिल्ला अस्पताल सिमखेतबाट करिब पाँच सय मिटरको दूरीमा रिठापाटा भन्ने गाउँ छ । त्यो गाउँकी तुल्सी नेपालीका तीनजना छोरीमा अहिले पनि कडा खालको कुपोषण छ । तीनमध्ये पनि दुई वर्षकी सरस्वतीको समयमा उपचार भएन भने ज्यानै जाने खतरा छ । तर, स्वास्थ्यकर्मीले घरमै गएर दशौँपटक उपचारका लागि अनुरोध गर्दा पनि उनले मानेकी छैनन् । तुल्सी भन्छिन्, ‘मेरो जेठो छोरा पनि सानोमा यस्तै थियो । अहिले बेंग्लोर गएर पैसा कमाउने भइसक्यो । यिनीहरू हाम्रो नाम बेचेर पैसा खानलाई दिनदिनै अस्पताल भर्ना गर्नुपर्छ भनेर हैरान पार्छन् । धेरै दिन गाली गरेर पठाइसकेँ, आउन छाडेका छैनन् ।’ कुपोषणको उपचार गर्दा निको हुन्छ भन्ने ज्ञान नपाएकी उनी उल्टै स्वास्थ्यकर्मीलाई यसरी गाली गर्छिन् ।

रिठापाटामा काम गर्ने जिल्ला स्वास्थ्य कार्यालयकी पोषण अधिकृत सविता शाही ठकुरीले तुल्सीलाई घरमै गएर धेरैपटक उपचार गर्नका लागि सम्झाएको, तर उनले उल्टै गाली गरेर पठाउने गरेको सुनाइन् । उनले भनिन्, ‘मरे मेरै छोरी मर्छे । तिमीहरूलाई के खसखस भनेर उल्टै हप्काउँछन् । बच्चीको अवस्था हेरेर दया लाग्छ । डाक्टरहरूले पनि सम्झाउँदा मान्दै मानेकी छैनन् ।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका कुल एक हजार तीन सय २५ बालबालिकामध्ये ७ सय ६१ जना बालिका छन् । अभिभावकले उपचार गर्न नमान्दा यीमध्ये अधिकांश बालिकाको ज्यान खतरामा छ । कात्तिकयता मात्र यस जिल्लामा कुपोषणका कारण चारजनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरू सबै बालिका नै थिए । त्यसो त छोरालाई मीठो मसिनो खुवाएर हुर्काउँछन् र कुपोषण हुने सम्भावना कम हुन्छ । छोरालाई कुपोषण भयो भने अस्पताल लैजान्छन् भने छोरीलाई वास्तै गर्दैनन् ।

‘छोरा र छोरीमा यो हदसम्मको विभेद होला भनेर कल्पनासम्म गरेको थिइनँ,’ जिल्ला स्वास्थ्य कार्यालयको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका प्रमुख डाक्टर सुनील गजुरेल भन्छन्, ‘निःशुल्क उपचार हुन्छ । कुरुवालाई पनि खान–बस्नको व्यवस्था हामी नै गर्छौं भन्दा पनि छोरीको उपचार गर्न मान्दैनन् । यो मरे अर्की जन्माउँला भनेर सजिलै भन्छन्, म त छक्क परेको छु ।’ अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालिकालाई स्थानीय वैद्य र धामीझाँक्रीलाई देखाउने, बान्द्रे लागेको भन्दै जिउभरि बाँदरको दिसा दलिदिने प्रचलन रहेको उनले बताए ।

जिल्लाभर गरेको सर्वेक्षणमा खाद्यान्न अभाव, अशिक्षा, अन्धविश्वास र असुरक्षित खानपान व्यवहारका कारण यहाँका धेरैजसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कुपोषितहरूमध्ये पनि आधाभन्दा बढी बालिका रहेको र छोराछोरीमा गरिने विभेदका कारण उपचार नपाउँदा धेरैजसो छोरीको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर विष्णु खतिवडाले बताए । ‘जिल्लामा उपचार नहुने खालका बिरामीलाई हामी नै खर्च दिन्छौँ । उपचार गर्न जाऊ भन्दा पनि मान्दैनन् । घरको काम अलपत्र पर्ने बहाना देखाएर अस्पतालबाट भाग्छन् । धेरैजसो कुपोषित छोरीले कलिलै उमेरमा ज्यान गुमाउनुपरिरहेको छ,’ उनले भने ।

घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको जानकारहरू बताउँछन् । दलित महिला सङ्घकी अध्यक्ष आशा विक भन्छिन्, ‘छोरा भए मीठो–मसिनो खान दिने, सुत्केरीलाई पनि माया गर्ने गर्छन् । छोरी पाउँदा परिवारले खानपिन र हेरचाहमा खासै वास्ता गर्दैनन् । जन्मनेबित्तिकै विभेदमा पर्ने भएकाले बालिकामा कडा खालको कुपोषण बढी देखिएको हो ।’
कुपोषणको यो भयावह चित्र भएको बझाङ जिल्लामा काम गर्ने कोही नभएको भने होइन ।

गैरसरकारी क्षेत्रबाट सञ्चालित सुआहारा, एकीकृत बहुक्षेत्रीय पोषण कार्यक्रमले मात्र यस जिल्लामा पोषणको नाममा हालसम्म ३० करोडभन्दा बढी खर्च गरिसकेका छन् । यस्तै सरकारी स्तरबाट सञ्चालित कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र जिल्ला स्वास्थ्य कार्यालय, महिला विकास कार्यालयलगायतका कार्यालयले पोषणको नाममा खर्च गरेको रकमको ग्राफ योभन्दा दोब्बर हुने गरेको छ । यसमध्ये ९० प्रतिशतभन्दा बढी रकम पोषणसम्बन्धी चेतना जागरणमा खर्च भएको विभिन्न तथ्याङ्कमा उल्लेख छ । तैपनि दुर्गम गाउँका बालिका कुपोषणको सिकार भइरहेका छन् ।  (संचारिका फिचर सेवा) (वसन्तप्रताप, बझाङमा कार्यरत पत्रकार हुन् ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com