नेपालमा दुई तिहाई बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित


प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार

शरद शर्मा/ नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा . अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताउनुभयो । अहिले एक तिहाई मात्र उपचार गर्न आउँछन् । आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ ।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उहाँले बताउनुभयो । “क्यान्सरको उपचार खर्चालु छ, दुई–तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्”, उहाँले भन्नुभयो, “अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ । ”

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा वर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् । बालबालिकालाई रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गौलाका ट्युमर जस्ता क्यान्सर लाग्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायतमा उपचार हुन्छ । कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले बाल–क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउनुहुन्छ । क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पु¥याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सृदढीकरण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

पौडेलका अनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो । अस्पतालका निर्देशक डा पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताउनुहुन्छ । “अहिले हुने खानेले मात्र आफ्ना बालबालिकालाई पाठेघरमा हुने क्यान्सरको खोप लगाएका छन्”, उहाँले भन्नुभयो, “सरकारले नै बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउन सके धेरै बालबालिका क्यान्सरबाट बच्न सक्ने थिए ।”

यस्तै तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताउनुहुन्छ । पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो समस्या हुने उहाँको भनाइ छ । उहाँका अनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एक जनामा देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको बताउनुहुन्छ ।

यस्तै पाटन अस्पतालका बालरोग तथा क्यान्सर रोग विशेषज्ञ डा सुचारिका तुलाधरले अस्पतालमा दुई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिनुभयो । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।

कान्ति बाल अस्पतालले बाल क्यान्सरको उपचारमा संलग्न नर्सिङ स्टाफलाई तालिम दिएको छ । अस्पतालका नर्सिङ निरीक्षक इन्दु अधिकारी बस्नेत र स्टार्फ नर्स बन्दना अधिकारीले भारतको क्रिश्चियन मेडिकल कलेजबाट तीन महिनको बाल क्यान्सरसम्बन्धी तालिम लिनुभएको छ । “यो रोगबारे जनेचतना जगाउने तथा बेलैमा उपचारका लागि अस्पताल पुग्न सके समस्या समाधान सहज हुनेछ”, नर्सिङ निरीक्षक बस्नेत भन्नुहुन्छ ।

अस्पतालका निर्देशक डा रायमाझीले अस्पतालमा बालबालिकाको क्यान्सर बार्डका लागि पाँच शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडियु) स्थापना गर्न तयारी गरिएको जानकारी दिनुभयो । नेपालले सन् २०३० सम्ममा बालक्यान्सर रोगीमध्ये ६० प्रतिशतलाई पूर्ण निको बनाउने लक्ष्य लिएको छ । -RSS /फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com