अमेरिकामा भिजिटर लगायतका भिसाको अवधि थप्न कम्तीमा ४५ दिन अगाडि आवेदन दिन सुझाव


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

तपाईको भिसा स्टीकरको अवधि जतिसुकै भएतापनि पोर्ट अफ इन्ट्रीमा आइसकेपछि सीबीपी अधिकारीले तपाई अमेरिकामा कतिसमय बस्न सक्नुहुनेछ भन्ने कुरा निर्धारण गर्छन् । सामान्यतया भिजिटर भिसामा आएको व्यक्तिलाई बढीमा ६ महिनासम्म अमेरिकामा बस्नका लागि अनुमति प्रदान गरिन्छ ।

यदि उक्त अवधिभन्दा लामो समय बस्नुपर्ने भएको खण्डमा त्यस्तो भिसावाहकले युएससीआईएसमा अवधि थपका लागि आवेदन दिनुपर्छ । सामान्यतया आई ९४ मा उल्लेख भएको अवधि समाप्त हुनुभन्दा कम्तीमा ४५ दिन अगाडि भिसा थपका लागि आवेदन दिन युएससीआईएसले सुझाव दिएको छ ।

यदि कम्तीमा ४५ दिन अगाडि फाइल गर्न नसकेको खण्डमा आई ९४ मा बसाईको अवधि समाप्त हुनु अगाडि अनिवार्य फाइल गर्नुपर्छ । अन्यथा अमेरिका छाडेर पुन फर्कन प्रतिबन्ध लाग्नुका साथै अमेरिकामा नै रहेको खण्डमा देशनिकाला समेत हुनसक्छ । तपाईको पासपोर्टमा लगाइएको छापमा सीबीपीले अमेरिकाबस्नका लागि दिएको अनुमतिको अवधि फेला नपरेमा तपाईले अनलाइनमा गएर आई ९४ रेकर्ड हेर्न सक्नुहुनेछ ।

भिसाको अवधि थप्नका लागि आई ५३९ नामको फर्म भर्न आवश्यक छ । यो आवेदन अनलाइनबाट पनि दिन सकिन्छ । अनलाइनबाट आवेदन दिंदा सहज र युएससीआइएसका सुचनाहरु प्राप्त गर्न प्रभावकारीसमेत हुने गर्छ । कानूनी रुपमा गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेकाहरु, स्टाटस अद्यावधिक रहेकाहरु, भिसाको लागि अयोग्य हुने प्रकारको कुनै अपराध नगरेकाहरु, भिसा लिंदाका शर्तहरु उल्लंघन नगरेकाहरु, पासपोर्टको म्याद नसकिएकाहरुले भिसा थपको लागि आवेदन दिन सक्छन् । ६ महिना भिसा थप्नका लागि यो आवेदन दिइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा थपको लागि आवेदन दिइसकेपछि युएससीआईएसको निर्णय नआउँदै ६ महिना अगाडि नै अमेरिका छाड्नुपरेमा आफूसँग समयमै भिसा थपका लागि आवेदन दिएको प्रमाण स्वरुप युएससीआईएसबाट प्राप्त रिसिप्ट सुरक्षित राख्नुपर्छ । भिसा थपका लागि दिइएका आवेदनहरुमा युएससीआईएसले निर्णय दिन ढिलो गरेका कारण कैयन भिसा वाहकहरुले निर्णय आउनुभन्दा अगाडि नै अमेरिका छाड्नेगर्छन् । यसरी अमेरिका छाड्दा भिसा थपका लागि अनुरोध गरिएको अतिरिक्त ६ महिना अवधि अगाडि नै फर्कनुपर्छ ।

यदि भिसा थपका लागि अनुरोध गरिएको अतिरिक्त ६ महिनाको अवधिसम्म युएससीआईएसबाट कुनै निर्णय नआएको खण्डमा अतिरिक्त ६ महिनाको अवधि समाप्त हुनु अगाडि नै भिसा थपका लागि अर्को आवेदन दिनुपर्ने कानून व्यवसायी केशवराज सेडाईले सुझाव दिनुभएको छ । उदाहरणका लागि अमेरिका आउँदा ६ महिना बस्ने अनुमति दिएकाहरुले पाँचौं महिनामा भिसा थपका लागि आवेदन दिएका छन् भने ११ औं महिनासम्म पनि निर्णय नआएको खण्डमा अर्को आवेदन दिनुपर्छ वा अमेरिका छाड्नुपर्छ ।

अमेरिकामा आई ९४ मा उल्लेख भएको अवधिभन्दा बढी बसेको खण्डमा स्वत भिसा रद्द हुने प्रावधान रहेपनि यदि गैर आप्रवासी भिसा वाहक आई ९४ को अवधि समाप्त भएपछि अमेरिकाबाट फर्केको छ तर उसले अमेरिकामा रहँदा आई ९४ को अवधि समाप्त हुनु अगाडि नै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको छ भने उसको भिसा रद्द हुनबाट संरक्षण प्राप्त हुन्छ । अर्थात् समयमै र व्यवस्थीत रुपमा फाइल गरिएका भिसा थप वा परिवर्तनका आवेदनको सन्दर्भमा निर्णय नआउँदै अमेरिका छाड्दैमा उनीहरुको भिसा रद्द हुँदैन ।

तर अध्यागमन तथा राष्ट्रियता ऐनको २२२ जी हरेकका सन्दर्भमा फरक फरक तरिकाले लागु हुनसक्ने भएकाले अर्कोपटक अमेरिका फर्कदा समयमै भिसा थपका लागि आवेदन दिएको रसिद बोक्नुपर्छ । सीबीपीले भिजिटर भिसा थपका लागि आवेदन दिएका तर निर्णय अगाडि नै फर्किएकाहरुलाई आई ९४ को अवधि समाप्त हुनु अगाडि समयमै भिसा थप वा परिवर्तनका लागि आवेदन दिएको रसिद बोक्न सुझाव दिएको हो ।

भिजिटर, विद्यार्थी लगायतका गैर आप्रवासी भिसाको स्टाटस परिवर्तन र थपका लागि दिइएका आई ५३९ का अनलाइन आवेदनमा युएससीआईएसले हुलाकमार्फत बायोमेट्रिक सुचना पठाउन छाडेको छ । अनलाइनमार्फत दिइएका त्यस्ता आवेदनमा बायोमेट्रिकको सुचना पनि अनलाइन एकाउन्टमा नै गएर हेर्न सकिन्छ ।

बायोमेट्रिक अप्वाइन्टमेन्ट तय भइसकेपछि अनलाइन एकाउन्टमा डकुमेन्ट सेक्सनमा गएर बायोमेट्रिक अप्वाइन्टमेन्टको सुचना हेर्न सकिन्छ । उक्त सुचनामा कुन मिति र समयमा कुन स्थानमा गएर बायोमेट्रिक दिने भन्ने उल्लेख हुन्छ ।

बायोमेट्रिक दिने आवेदन सपोर्ट सेन्टरमा जाँदा भने उक्त सुचना प्रिन्ट गरेर नै लैजानुपर्नेछ । अनलाइनमार्फत गरिएका आई ५३९ आवेदनमा अनलाइनमा नै आवेदनको अवस्था हेर्न सकिन्छ भने थप कागजातको माग भएको खण्डमा त्यस्ता कागजात वा प्रमाण पनि अनलाइनमार्फत नै पेश गर्न सकिन्छ । त्यस्तै सम्पर्क सम्बन्धि विवरणहरु पनि अनलाइनमार्फत नै सहजै परिवर्तन गर्न सकिन्छ ।

युएससीआईएसका महत्वपूर्ण सुचनाहरु नछुटाउन नियमित रुपमा अनलाइन एकाउन्ट चेक गर्न सुझाव दिइएको छ । नोटिफिकेशनका लागि साइनअप गरेको खण्डमा हरेक अपडेटका लागि इमेलमा समेत सुचना प्राप्त हुनेछ ।

यदि बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति पछाडि सार्न परेमा युएससीआईएसको सम्पर्क केन्द्र ८०० ३७५ ५२८३ मा फोन गर्न सकिन्छ । तर सुरुको अप्वाइन्टमेन्टको समय र मिति अगाडि नै फोन गरेर नयाँ अप्वाइन्टमेन्ट तय गर्न आवश्यक छ । त्यस्तै अप्वाइन्टमेन्ट सार्नुपर्नाको उचित कारण समेत बताउन आवश्यक हुन्छ ।

यदि समयमै नयाँ अप्वाइन्टमेन्ट तय गर्नका लागि सम्पर्क नसकेमा वा नयाँ अप्वाइन्टमेन्टका लागि उचित कारण पेश गर्न नसकेमा युएससीआईएसले बायोमेट्रिकको नयाँ मिति नदिने सम्भावना रहन्छ । अप्वाइन्टमेन्टमा उपस्थीत नभएमा वा नयाँ मिति तय नगरेमा युएससीआईएसले आवेदन त्यागेको ठहर गर्दै अस्वीकार गर्न सक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com