तारे भिरका माथि तारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन


प्रकाशित मिति : माघ २४, २०७८ सोमबार

लक्ष्मीप्रसाद सापकोटा/ पर्वत सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो ।

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ ।

‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भिरका माथि तारमा ‘क्याफे’ विस्तारै हिँडिरहेको हुन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । “बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ, स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो”, कार्कीले भन्नुभयो, “तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताउनुभयो । अहिले सुरुआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उहाँको भनाइ छ ।

क्याफेका लागि मात्रै झण्डै रु ९५ लाख लगानी गरेको बताउँदै उहाँले प्रतिव्यक्ति  दुई हजार ५०० शुल्क राखिएको जानकारी दिनुभयो । सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ । अहिले सुरुआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पका बारेमा छलफल भइरहेको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिएका यसअघिका लहरभन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ । निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भीडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन् ।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ । पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ । त्यस कारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो, अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाका जस्तो मारमा पर्नुपरेको छैन”, उहाँले भन्नुभयो, “हामीले पूर्णरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौँ, ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौँ, जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ ।” कोरोना सङ्क्रमण भए पनि दैनिक बन्जी र स्वीङ गर्नेको पनि उत्तिकै भीडभाड रहेको कम्पनीले जनाएको छ । RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com