आज रक्षाबन्धन र जनैपूर्णिमा : यस्तो छ उच्चारण गरिने मन्त्रको अर्थ


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

आज जनै र डोरो धारण गरेर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् भने नयाँ जनै लगाउँछन् ।

जनैको ६ शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म, योगका रूपमा सनातन धर्मावलम्बीले मान्दै आएका छन् । जनैलाई ब्रह्म सूत्र वा ज्ञानको धागो मानिन्छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर संरक्षण गरेको पौराणिक कथा यो चाडसँग जोडिएको छ ।

वामन अवतार विष्णुले राजा बलीलाई मन्त्र साँधिएको डोरो बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको कथा पनि यो चाडसँग जोडिन्छ । यसै दिन सप्तऋषि काश्यप, अत्रि, गौतम, भारद्वाज जमदग्नी, वाशिष्ठ र विश्वमित्रलाई कुश, कालो तिल र जलले तर्पण दिइने भएकाले ऋषि तर्पणीका रूपमा पनि यो चाड मनाइँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रको अर्थ

रक्षाबन्धन गर्दा यो मन्त्र उच्चारण गरिन्छ:

येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥

जसको अर्थ हुन्छ :

‘जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ ।’

त्यस्तै जनै लगाउँदा गायत्री मन्त्र जप्ने गरिन्छ :

ॐ भूर्भुव स्वः तत् सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ॥

जसको अर्थ हुन्छ :

‘आफ्ना तेजले व्यापक ब्रहृमाण्ड जगत्मा चैतन्य प्रदायक सूर्यको झैँ विकाररहित तेजोमय एवं वरण गर्न योग्य देवको ध्यान गर्दछौँ । उनैको दैवी शक्तिबाट सत् मार्गमा लाग्न हाम्रो बुद्धि उत्प्रेरित होओस् ।’

जनैको महत्व

जनै धारण गर्नाले चञ्चल चित्तलाई वशमा राख्न सकिने तथा व्यक्तिमा सद्गुणको विकास हुने विश्वास गरिन्छ । काम, क्रोधजस्ता नकारात्मक आवेगहरुमा नियन्त्रण राख्न सजिलो हुने विश्वास समेत गरिन्छ ।

जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुने तथा यसमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्ने विश्वास छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन समेत जनैपूर्णिमाको दिन विधिपूर्वक जनैधारण गरिन्छ ।

जनैपूर्णिमाको एक दिनअघि पशुपतिनाथको जनै फेराउने प्रचलनअनुसार शनिबार नै पशुपतिनाथका मूूल पुजारीले नाथको जनै फेरेका थिए । पशुपति मन्दिरवरिपरि वैदिक मन्त्रोच्चारण गरिएको काँचो धागो बाँधेर मन्दिरलाई स्वच्छ राखिएको थियो ।

राखी र गुन्हु पुन्ही

आज तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन छ । अचेल पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।

नेवार समुदायले आज गुन्हु पुन्ही मनाउने गर्दछन् । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com