बादी समुदायको पीडा : न जग्गा, न काम


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

Locals of Badi community holding discussion on their debts, in Chainpur, Bajhang, on Tuesday, July 5, 2016. Photo: THT

पुस्तौँदेखि जग्गा, जमिन र खास थातथलो नभएका बादी समुदाय पुसको चिसोले हैरान भएका छन् । नदीको किनारमा माछा मारेर जीविकोपार्जन गर्दै आएका हुन् वा मादल बनाएर बिक्री गरी आएको पैसाले परिवार पाल्ने बादी समुदाय किन नहुन्, सबैको पीडा चिसोबाट कसरी जोगिने भन्ने नै छ ।

कुशे गाउँपालिका–५ का १४ वर्षीय रमण बादीको विद्यालय जाने उमेरमा बुवासँग माछा मार्नका लागि प्रयोग हुने जाल (पासा) बनाउँदै दिन कट्ने गरेको छ । बुवा गणेशबहादुर बादीसँग दैनिक सोही काम गर्दागर्दै पढ्न नपाएको रमण बताउँछन् । गणेश अब पेशा परिवर्तन गर्ने सोचमा रहेको बताउँछन् । “माछा मारेर मात्र परिवार पालनपोषण गर्न निकै मुस्किल भयो, कतैबाट सहयोग पाएको भए अरु काम गर्ने थिएँ”, गणेशले भने ।

उनले थपे, “जेठो छोरा भर्खरै जन्मिएको थियो माछा मार्ने कामसँगै फलामबाट भाडा बनाउनतर्फ लागियो । यो कामबाट पनि खासै केही प्रगति भएन ।” गणेशका छ छोराछोरी छन् । उनको एकतलाको खरले छाएको कच्ची घर छ । जुन घर निर्माण गरी गणेश बसिरहेका छन्, सो घर निर्माण गरेको जग्गासमेत उनको नाममा छैन । अन्य जग्गाको कुरा त सपनाजस्तै भइसक्यो । ऐलानी जग्गामा एकतले कच्ची घर निर्माण गरी बसेका गणेश आठ जना परिवारको समस्या टार्ने एक्लो व्यक्ति छन् ।

वर्षैपिच्छे जन्मिएका छोराछोरीको स्याहारसुसार गर्नमै गणेशकी श्रीमतीको दिन बित्ने गर्छ । छिमेकीको घरमा साना छोराछोरीलाई मिठोमसिनो खुवाएको देख्दा आफ्नो घरमा मकैको रोटी आधा पेट खाएर बाँकी छोराछोरीलाई दिई प्राण बचाउनुपरेको बाध्यता फूलमायाको हृदयमा बलियो गाँठो बनेर बसेको छ । दुब्ला, पातला देखिने साना बालबालिकाले पूरै पेट खाना नपाएको बताएका छन् । बिहान खाए, बेलुकी के खाने भन्ने चिन्ताले सताउने गर्छ, फूलमायाले भनिन्, “गाउँपालिकाका अध्यक्षसँग जग्गा माग्दा कसैले सुन्दैनन्, हाम्रो कुरा सुन्ने कोही भएन । सरकारले आधातले कच्ची घर बनाइदिएपछि बास बसेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फूलमायालाई छोराछोरी पढाउने इच्छा भए पनि कपडा किन्ने, कापीकलम किन्ने पैसा नहुँदा विद्यालय पठाउन नसकेको पीडा सुनाइन् । “फलामको भाडा बनाए पनि बिक्री हुँदैन, बाहिरबाट फलाम ल्याउनसमेत मुस्किल छ”, गणेशले भने । गाउँगाउँमा डेक, मोबाइलका कारण मादल बिक्री हुन छाडेपछि पुख्र्यौली पेशा छाड्न बाध्य अर्का रामबहादुर बादीले पीडा पोखे । “मादल बनाउन काठ चाहिन्छ तर सामुदायिक वनले जथाभावी काठ काट्न दिँदैन, अनि हाम्रो पेशा कसरी चल्छ”, रामले भने । आधुनिक प्राविधिका कारण मादलको महत्व घट्दै आएको उनको भनाइ छ । पुख्र्यौली पेशा माछा मारेर, मादल बनाएर जीवन निर्वाह गर्ने बादी समुदाय अहिले विस्तारै सो पेशा छाड्न बाध्य भएको उनको भनाइ छ ।

उनीजस्तै कुशे गाउँपालिकामा मात्र ४१ घरभन्दा बढी बादी समुदायको बसोबास छ । कसैको पनि आफ्नो जमिन छैन । शुरुमा रुकुमपश्चिम आठबीसकोटको राडीमा बसोबास गर्दै आएका यहाँका बादी समुदायका सर्वसाधारण कुशे गाउँपालिकामा आएको करिब दुई दशक बितेको छ । आफ्नो निजी जमिन र सम्पत्ति नभएका बादी समुदायका सर्वसाधारण जीवन निर्वाह र आधारभूत आवश्यकता पूरा गर्नका लागि अहिले सङ्घर्षमा रहेको बताएका छन् ।

केही वर्षअघि आफ्ना र अर्काका पीडा गीतमार्फत सुनाउँदै आवश्यक खाद्यान्न, पैसा असुल्दै आएको यो समुदाय अहिले नयाँ जीवन जिउने रणनीति बनाउन अनेक उपायको खोजीमा छन् । उनीहरू अब आफैँ आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाउन चाहेको बताउँछन् । उनीहरूको इच्छा स्थानीय सरकारले जग्गा उपलब्ध गराइदेओस् भन्ने छ । सरकारले एकतले कच्ची घर बनाउन पैसा दिए पनि अन्य जीवन जिउने आधार नदिएको उनीहरूको भनाइ छ ।

स्थानीय सरकारले आयआर्जन गर्न र जीवन जिउने गतिलो उपायसहितको योजना ल्याएर श्रम गर्ने वातावरण सिर्जना गरोस् बादी समुदायको माग छ । आफूहरूलाई भोट खसाल्न मात्र प्रयोगको साधन बनाइएकामा उनीहरू पीडा व्यक्त गर्छन् । “हाम्रो जीवन निर्वाहका लागि ध्यान कसैले दिँदैनन्, मात्र यो गर्छौँ, त्यो गर्छौँ भनी गफ दिन्छन्”, अर्का कालीबहादुर बादीले भनिन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com