सुमलकुमार गुरुङले लिए ६७ वर्षको उमेरमा बेलायती विश्वविद्यालयबाट डिग्री


प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार

पढ्ने इच्छालाई उमेरले छेक्दैन् भन्ने प्रमाण हुन् लण्डन प्लमस्टिड बस्दै आएका बुद्धिजीवी, साहित्यकर्मी एवं सामाजिक अभियन्ता सुमलकुमार गुरुङ ।

उमेरले ६७ वर्ष काटिसकेका सुमलले  बेलायतको सोआस् युनिभर्सिटीबाट बौद्ध दर्शनमा स्नाताकोत्तर पूरा गरेका छन् । उनले एमए इन बुद्धिष्ट स्टडीको अध्ययन मेरिट डिभिजनसहित पूरा गरेर अध्ययन चाहनालाई केही कुराले पनि छेक्दैन् भन्ने सन्देश प्रवाह गरेका छन् ।

सन् १९७७ मा भारतको सिलोङस्थित नर्थ इष्टर्न हिल युनिभर्सिटीबाट अंग्रेजी, इतिहास र पोलिटिकल साइन्स विषयमा बीए गरेका थिए सुमलले । तर घरायसी अवस्था र व्यवहारिक दबाबका कारण पढाइ अघि बढाउन सम्भव नभएपछि उनलाई जागिरमा होमिनु वाध्यता बनेको थियो त्यतिबेला ।

जागिरको खोजी गर्दै जाँदा भारतीय सेनामा ‘सिनियर एनसिओ क्लर्क’ को तहमा काम गर्ने अवसर जुरेको थियो सुमललाई । १५ वर्षको सेवापछि भारतीय सेनामा पेन्सन पकाएर नेपाल फर्किएका उनले कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रमा

प्रशासनिक अधिकृतको रुपमा तीन वर्ष काम गरे । त्यसपछि हङकङतर्फ लागेका उनले त्यहाँ १२ वर्ष बिताए । हङकङमा रहँदा सुरक्षा अधिकृतहरुलाई प्रशिक्षण दिने काम गरे उनले ।

हङकङपछि सुमलको गन्तव्य थियो बेलायत । सन् २००८ मा बेलायत आएका उनले यहाँ सुरक्षा अधिकृतको रुपमा नोकरी गरे लण्डनको वेस्टमिनिस्टर किङ्सवे कलेजमा। जुन सेवाबाट गत वर्ष मात्रै उनले अवकास लिए ।

भारत, नेपाल, हङकङ र बेलायतमा गरी ४ दशक बढी जागिरे जीवनमा व्यस्त सुमल गत वर्ष अवकाश लिएपछि भने फुर्सदिलो बने । त्यही फुर्सदको समय सदुपयोग गर्ने सोचमा बेलायती विश्वविद्यायबाट एमए पूरा गर्ने रहर पलायो उनमा । आफ्नो विद्यार्थी जीवन पूरा गरेको ४ दशकपछि फेरि पढाइमा फर्किनुको रहस्य खोल्दै समुलले भने, ‘त्यो बेला बीए सकेर जागिरमा लाग्नैपर्ने वाध्यता थियो । त्यसैले मेरो मास्टर्सको रहर अधुरै थियो । त्यही अधुरो रहर पूरा गर्ने योजना बनाएं । जागिरबाट अवकाश लिएपछि उपलब्ध भएको खाली समयलाई अध्ययनमै लगाउन छोराछोरीले पनि सुझाव दिए ।’

अध्ययनप्रतिको उत्सुकता र चाहनाले जीवनको उत्तराद्र्धतिर फेरि सुमल झोला बोकेर विश्वविद्यालय धाउन थाले । साताकै तीन चार दिनसम्म पनि कक्षाहरु हुन्थे । उनी नियमित कक्षामा जान्थे । सहपाठीहरु आफ्ना नाति नातिनासरहका थिए । ‘शुरु शुरुमा असहज र अफ्ठेरो लागेको थियो । पढाइ टिप्न पनि सजिलो भएन । तर बिस्तारै बानी पर्दै गयो । त्यसैगरी, पढाइमा पनि प्रगति हुँदै गयो’- उनले अनुभव सुनाए ।

डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष समेत रहेका सुमल अहिले साउथ इष्ट लण्डनमा एक बौद्ध गुम्बा निर्माण गर्ने महाअभियानमा छन् । ‘बौद्ध दर्शनका बारेमा अहिलेसम्म अध्ययन गर्ने, ग्रन्थहरु प्रकाशन गर्ने धेरैजसो विदेशी छन् । हामी नेपालीहरुले नै यसको अध्ययन, अनुसन्धान गर्न सके अझै प्रभावकारी हुन्थ्यो जस्तो मलाई लाग्ने गर्दथ्यो’, बौद्ध दर्शनसम्बन्धी विषय रोज्नुको सन्दर्भबारे सुमलले भने, ‘मैले आफैले बौद्ध दर्शनबारे अध्ययन गरेर त्यससम्बन्धी तथ्य र ज्ञानहरु उजार गर्ने उद्धेश्यले यो विषय रोजको हुँ ।’

झण्डै तीन दशकदेखि साहित्य सिर्जनामा सक्रिय उनका कविता, कथा, नियात्रा र संस्मण गरी आधा दर्जन बढी प्रकाशित छन् । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार उनी पूर्व केन्द्रीय उपाध्यक्ष र निवर्तमान बेलायत अध्यक्ष पनि हुन् ।

सुमलकी पत्नी सारादेवी आफैं पनि स्रष्टा हुन् । साहित्य, सिर्जनामा सक्रिय छन् । एकमात्र छोरा सुदर्शन लण्डनको किंग्स कलेज अस्पतालमा डाक्टर छन् । एक्ली छोरी पनि किंग्स कलेज युनिभर्सिटीकै लेखा शाखामा व्यवस्थापन तहमा रहेर काम गर्दै आएकी छन् । पर्वत जिल्लाको मादी गाउँपालिका चित्रेमा जन्मिएका हुन् सुमल ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com