‘फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो’


प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेको थिईनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिईनन् ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भनिन्, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भनिन्, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।”

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यसपछि उनी डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जानुभयो । एक÷दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।” असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भईन् । दुवैजना माइती घरमा गए ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँशु खसाल्दै भनिन्, “माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।”

उनले त्यसपछिका कुरा खोतल्दै भनिन्, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।” ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तरक्रिर्या कार्यक्रममा यी कुरा भनेकी हुन् । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उनि भन्छिन्, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेकी छिन् । सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

“प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन्, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताईन् ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउँछिने । अन्तरक्रिर्या कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउन्छिन् । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ ।

“पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो”, अधिवक्ता भट्टले भने, “केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।” एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए । उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

“कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्”, उनले भने, “सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।”

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com