चिया आन्दोलन सहमति नजिक


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन् । उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन् ।

इलामको सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए । दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य रु ४० भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए ।

त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुगेको बताएका छन् । नगरपालिकाले समेत तोकिएको मूल्यमा किसानको चिया किन्न उद्योगीलाई आदेश दिएपछि उद्योगी माग पूरा गर्न सकारात्मक देखिएको सूर्योदय नगरपालिका–११ का चिया किसान सोनामछिरिङ काजीले बताए ।

नगरपालिकाले हरियो चियापत्तीको न्यूनतम मूल्य रु ४० कानूनमै लेखिएकाले उद्योगले पूरा नगरे कारवाही गर्ने बताएपछि उद्योगी सकारात्मक देखिएको सोनामले बताए । “नगरपालिका, चिया किसान र उद्योगीबीच वार्ता बस्दा नगरप्रमुख रणबहादुर राईले कानूनको कुरा गरेपछि उद्योगी सकरात्मक हुँदै आएका हुन्”, उनले भने, “धेरै उद्योगी अहिले पनि सकारात्मक हुनुहुन्छ । केही उद्योगीले मात्र कुरा बुझ्नुभएको छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नगरका अधिकांश किसानले गुणस्तरहीन चिया कारखानामा ल्याउने भएकाले तोकिएको मूल्य दिन नसकेको उद्योगीले बताएका थिए तर किसानले भने सबै चियालाई कारखानाले एकै दाम दिने भएकाले चियामा गुणस्तर कायम गर्न नसकेको बताएका थिए । “कारखानाले सबै चियाको दाम एकै किसिमको दिन्छ”, सोनामले भने, “डोकोमा लगेको, बोरामा खाँदेको वा एक पात दुई सुइरो वा आठ इञ्च लामो सबै चियाको दाम एउटै मापदण्डमा राखेपछि गुणस्तर कम भएको हो ।”

उद्योगीले गुणस्तरीय चिया मात्र किनेमा आफूहरू गुणस्तरीय चिया बनाउन पनि तयार रहेको सोनामले बताए । उद्योगले चियाको गुणस्तरअनुसार प्रतिकिलो रु ४० देखि रु १०५ सम्म दाम दिन सकिने बताएपछि तोकिएअनुसारको चियाको दाम नदिने गरेको किसानले बताएका छन् । तोकिएकै दाम दिने उद्योगले कबोल गरेर चिया लिए पनि भुक्तानीको समयमा तोकिए जति दाम नपाउने गरेको अर्का चिया किसान डम्बर कटुवालले बताए । “हामी सबै किसान पढेलेखेका पनि छैनौँ । पहिले राम्रै दाम दिने भनेर चिया किने पनि पछि कम दाम दिन्छन्”, डम्बरले भने, “आफूले उत्पादन गरेको वस्तुको मूल्यमा समेत हामी ठगिँदै आएका छौँ ।”

यता उद्योगहरूले भने गुणस्तरीय चिया आए तोकिए (रु ४० प्रतिकिलो) भन्दा बढी पनि मूल्य दिएर किन्ने बताएका छन् । किसानको चियामा गुणस्तर नहुने भएकाले नै कम मूल्य दिनुपरेको उद्योगीले बताएका छन् । “विषम परिस्थिति छ, चिया बजारमा जानसमेत सकेको छैन तर पनि चियाको गुणस्तरअनुसारको मूल्य दिन्छौँ”, सूर्योदय चिया प्रोडक्सनका सचिव गोपाल कट्टेलले भने, “हामी गुणस्तरीय चिया आएमा रु ४० होइन रु ९५ मा समेत किन्न सक्छौँ ।” कट्टेलले बन्दाबन्दीका कारण चिया बेच्न नसकिएकाले चियाको अग्रिम भुक्तानी दिन नसकिएको बताए ।

नगरपालिकाले पनि तोकिएको भन्दा कम मूल्यमा किसानको चिया उद्योगले किन्न नसक्ने बताएको छ । चियाको मूल्य निर्धारण गर्दा उद्योगी, किसान, चिया बोर्ड सबैको छलफल भएकाले उद्योगले कानूनअनुसार चल्नुपर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com