पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्‍यो’


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

म्याग्दीको धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भने, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उनले भने, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए । घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।

“मामा ९प्रकाश०ले राति १ बजे आएर हामीलाई उठाए । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ”, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भने, “पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पुर्यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ । बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । चार अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।

कटान नियन्त्रणका लागि श्रमदान अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा नदी कटान नियन्त्रणका लागि शनिबार ग्याबियन पर्खाल लगाउन श्रमदान अभियान चलाइएको छ । गाउँपालिकाको अगुवाइमा शनिबार बेनी, पिप्ले र भगवतीका युवाले श्रमदान गरेर ग्याबियन पर्खाल लगाएका हुन् । जोखिमयुक्त ठाउँमा १० थान जाली भरिएको छ । पचास देखि ६० युवाले श्रमदान गरेर सहयोग गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

रघुगङ्गा नदीले कटान गरेको ठाउँमा थप क्षति हुन नदिनका लागि ग्याबियन पर्खालका साथै बेनी–जोमसोम–कोरला सडक आयोजनासँगको समन्वयमा ठूला ढुङ्गा थुपारिएको छ । अध्यक्ष भण्डारी आफैँ पनि युवाहरुसँग श्रमदान गरेर ढुङ्गा फुटाउने र पर्खाल लगाउने ठाउँसम्म पुर्याउने काममा खटिएका थिए । रघुगङ्गा नदीमा शनिबार आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएको छ ।

बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर कटानको जोखिमका कारण विस्थापित भएका छन् । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ । ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको स्थानीयवासीले बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com