घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो ।

१६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म १९ जना पुगेका छन् । रंगेहात पक्राउ गर्ने अख्तियारको काम निरन्तर चलिरहे पनि राख्ने ठाउँको अभाव देखिन थालेको छ । अख्तियारले लकडाउनको अवधिमा ३ हजार रुपैयाँ घुस खानेदेखि ८ लाख ५० हजार रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये केहीलाई अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । रंगेहात पक्राउ परेर हाल हिरासतमा राखिएकामध्ये धेरै मालपोतका कर्मचारी र इन्जिनियर छन् । हिरासतमा रहेकालाई क्रमबद्ध रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियारको हिरासतमा रहेकामध्ये मालपोत कार्यालयका ६ जना र इन्जिनियर ५ जना छन् । बाँकी प्रहरी, स्थानीय प्रशासन, खानेपानी विभाग, सडक विभागका कर्मचारी, लेखापाल, लेखापढी व्यवसायी, कार्यालय सहयोगीलगायत छन् । त्यस्तै, अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र, अनियमिततामा संलग्न १ सयभन्दा बढी फाइलको अध्ययन गरिरहेको स्रोतले जानकारी दियो ।लकडाउन सुरु भएको दिन अख्तियारले रौतहटको यमुनामाई गाउँपालिका–३ का वडासदस्य रामविश्वास मुखिया र निरगुन पासवान (दुसाद)लाई १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । १९ वैशाखमा अख्तियारले कैलालीको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्खे धामीलाई ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो ।

२८ वैशाखमा अख्तियारको टोलीले नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन अधिकृत जयमंगल प्रसादलाई १ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । उनले खानीसम्बन्धी कामका लागि विभिन्न बहाना बनाएर काम अवरोध गर्दै सेवाग्राहीसँग घुस मागेसँगै नियन्त्रणमा लिएको हो । अनुसन्धान पूरा गरेर अख्तियारले १८ जेठमा वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध ६ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरेको छ । आयोगले अभियोगपत्रमा प्रमुख प्रसादले ६ लाख रुपैयाँ घुस लिएर चुनढुंगा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएकाले सोहीअनुसारको बिगो मागदाबी गरेको जनाएको छ । उनले चुनढुंगा निकासी गर्न छोडपुर्जी दिने सर्तमा १ लाख तत्काल र ५ लाख रुपैयाँ काठमाडौंमा लिने सहमति जनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

७ जेठमा अख्तियारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका सिनियर डिभिजन इन्जिनियर आनन्दकुमार झालाई १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । २१ जेठमा आयोगले ताप्लेजुङ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जीवनकुमार यादव र कार्यालय सहायक वन अधिकृत वीरेन्द्रप्रसाद शाहलाई जनही १/१ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

२३ जेठमा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० का जनकल्याण वैज्ञानिक वन व्यवस्थापन कोषाध्यक्ष मीनबहादुर घोलेसमेत दुई जनालाई ३ लाख ३० हजार ५ सय घुस रकमसहित नियन्त्रणमा लिएको थियो । २४ जेठमा पाल्पा, रैनादेवी गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुन ३ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको थियो । लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय खुल्ने निर्णय गरेसँगै ३ असारमा भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंबाट ८ लाख ५० हजार घुस रकमसहित मालपोत अधिकृत रघुवंश कँडेल, नासु क्रमशः उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको थियो ।

११ असारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमाल विक्रम विष्टले कार्यालयमा परेको मुद्दा सहजीकरण गरिदिने भन्दै मागेको ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परे । उनी मात्रै होइन, २३ असारमा जिल्ला सर्लाही, प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादव ५ हजार घुस रकमसहित पक्राउ परे । उनले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनका लागि घुस रकम मागेका थिए ।

यस्तै, १७ असारमा आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल सबइन्जिनियर वीरेन्द्र चन्द, सबइन्जजिनियर रञ्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई २ लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनीहरूले खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घुस रकम मागेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com