भिसा बुलेटिनकै मिति युएससीआईएसबाट सदर, ग्रिनकार्डवाहकका दम्पत्ति र एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड करेन्ट


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

भिसा बुलेटिनकै मिति युएससीआईएसबाट सदर भएपछि अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि जनवरी महिनामा पनि मौका आएको छ । जनवरीमा महिनामा दम्पत्ति र छोराछोरीहरुका लागि आई १३० आवेदन दिन चाहनेहरुले एकसाथ आई ४८५ आवेदन समेत दिनसक्ने भएका छन् ।

७ महिनादेखि पाउँदै आएको यो सुविधा जनवरीमा पनि जारी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाईदेखि नै परिवारमा आधारित उक्त श्रेणीको ग्रिनकार्डका लागि आवेदन मिति सबैका लागि करेन्ट हुँदै आएको छ । अमेरिकामा नै विवाह गरेर आफ्ना दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न चाहने ग्रिनकार्डवाहकका लागि समेत यसलाई सुनौलो मौका भनिएको छ ।

आई १३० आवेदन युएससीआईएसमा पेन्डिङ अवस्थामा रहेकाहरुले पनि अमेरिकामा नै रहेका दम्पत्ति र छोराछोरीका लागि आई ४८५ ग्रिनकार्ड आवेदन दिएर वर्क परमिट र एड्भान्स परोल समेत प्राप्त गर्न सक्नेछन् । साथै उनीहरुलाई भिसा जोगाइराख्ने झन्झट पनि हुनेछैन ।

तर अमेरिकाबाहिर दम्पत्ति र छोराछोरी हुनेहरुका सन्दर्भमा भने आवेदकले कुनै आवेदन फाइल गर्न जरुरत छैन । आई १३० स्वीकृत भएर आवेदन नेशनल भिसा सेन्टरमा गइसकेकाहरुले भने दूतावासमा छिटो अन्तरवार्ता प्राप्त गर्नसक्नेछन् ।

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्नेलाई सहज

१५ महिनाको अन्तरालपछि डिसेम्बरमा अमेरिकामा रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन करेन्ट भएकोमा जनवरीमा पनि कायमै रहेको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन चाहने व्यक्तिले जनवरीमा पनि ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ समेत एकसाथ फाइल गर्न पाउनेछन् ।

रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डको आवेदन मिति पनि जनवरीमा करेन्ट रहेको छ । तर तेश्रो श्रेणीको ग्रिनकार्ड भने करेन्ट छैन । तेश्रोबाहेक अरु सबै श्रेणीका ग्रिनकार्डमा नेपालीहरुले आई १४० सहित ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् ।

युएससीआईएसले भिसा बुलेटिनको मितिलाई मान्यता दिएमा विगतमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका र आवेदन पेन्डिङ अवस्थामा रहेकाहरुले पनि जनवरीमा ग्रिनकार्ड आवेदन अर्थात् आई ४८५ फाइल गरेर वर्क परमिट लिएर काम गर्न वा एड्भान्स परोल लिएर यात्रा गर्न पाउनेछन् ।

पहिलो श्रेणीमा एक्स्ट्रा अर्डिनरी क्षमता भएकाहरु, अतिदक्ष प्रोफेसर र रिसर्चरहरु, बहु राष्ट्रिय म्यानजर र कार्यकारीहरु पर्छन् । त्यसमध्ये एक्स्ट्राअर्डिनरी क्षमताको ग्रिनकार्डका लागि आवेदक आफैले वा वकिलको सहायतामा आवेदन दिन पाउँछन् भने अरुका लागि रोजगारदाता कम्पनीले आवेदन दिनुपर्छ । एक्स्ट्रा अर्डिनरी ग्रिनकार्डका लागि रोजगारदाताको आवश्यकता हुँदैन ।

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डको ब्याकलग के थियो ?

सन् २०१८ को अगस्त भन्दा अगाडि अमेरिकामा भिजिटर भिसामा आउनेहरुले समेत एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउँथे । सामान्यतया गैरआप्रवासी भिसामा अमेरिका आएको व्यक्तिले ९० दिनभित्र आप्रवासी भिसाका लागि आवेदन दिएमा वा स्टाटस परिवर्तन गर्न खोजेमा त्यसलाई गैरकानुनी मानिन्छ । अमेरिकी सरकारले गैरआप्रवासी भिसाका नियम उल्लंघन हुन नदिन यो नियम बनाएको हो ।

त्यसैले भिजिटर भिसामा अमेरिका आउने व्यक्तिले सामान्यतया ६ महिनाका लागि अमेरिका बस्ने अनुमति पाउने हुनाले भिजिटर भिसामा नै आएको बखत ३ महिना नाघेपछि एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र यात्राका लागि एड्भान्स परोल प्राप्त गर्दै आएका थिए ।

तर सन् २०१८ को अगस्तमा अमेरिकी सरकारको भिसा बुलेटिनमा यो श्रेणीको ग्रिनकार्डका लागि फाइनल एक्सन डेट १ मे २०१६ तोकियो । युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि आई १४० फाइल गर्नेहरुले सन् २०१८ को अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागि झण्डै २ बर्ष ४ महिना कुर्नुपर्ने अवस्था सृजना भयो । नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् ।

त्यसपछि सेप्टेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई नै फाइलिङ मितिका रुपमा स्वीकार गरेपछि त्यतीबेला नयाँ आवेदन दिनेहरुले आई १४० का साथमा आई ४८५ फाइल गर्न पाएनन् । आवेदन पेन्डिंग अवस्थामा रहेका वा आई १४० स्वीकृत भइसकेका तर ग्रिनकार्ड आवेदन नदिएकाहरुलाई पनि समस्या उत्पन्न भयो । सन् २०१८ को सेप्टेम्बरमा जुन १ , २०१६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र आई ४८५ फाइल गर्न पाउने भए ।

सन् २०१८ को अक्टोबरमा युएससीआईएसले भिसा बुलेटिनकै फाइलिङ मितिलाई मान्यता दिएको थियो । त्यो क्रम सन् २०१९ को जनवरीसम्म चलेको थियो । तर पनि झण्डै ७ महिना कुर्नुपर्ने अवस्था भने विद्यमान नै थियो । भिजिटर भिसामा आएर स्टाटस परिवर्तन नगरी फाएल गर्न सम्भव थिएन । सन् २०१९ को फरबरीमा युएससीआईएसले पुन भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई नै फाइल गर्ने मितिका रुपमा मान्यता दिएको थियो, जसका कारण पुन १४ महिनाभन्दा लामो समय कुर्नुपर्ने अवस्था आएको थियो ।

त्यसपछि गत अक्टोबरदेखि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिदै आएपनि झण्डै तीनमहिना कुर्नुपर्ने अवस्था भने कायमै थियो । डिसेम्बरमा पनि युएससीआईएसले भिसा बुलेटिनको फाइलिङ मितिलाई नै मान्यता दिएमा एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड आवेदकका लागि खुशीको खबर हुनेछ ।

खासगरी अमेरिका आइसकेको तीनमहिना पूरा भइसकेकाहरु र एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्न चाहनेहरुका लागि यो खबर सुखद हुनेछ । उनीहरु कन्सुलर प्रकृयाका लागि फर्केर जानुपर्ने बाध्यता हुनेछैन । त्यस्तै अमेरिका आएर एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गरिसकेर पेन्डिंग अवस्थामा रहेका वा स्वीकृत भइसकेका तर आई ४८५ फाइल गर्न कुरेर बसेकाहरुका लागि पनि यो सुखद खबर हुनेछ । अमेरिका बाहिर रहेका एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदकका सन्दर्भमा भने नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउनेछ ।

अमेरिकी सरकारले एक्स्ट्रा अर्डिनरी लगायतका ग्रिनकार्डका लागि आई १४० सँगै ग्रिनकार्ड आवेदन आई ४८५ सँगै फाइल गर्न नपाइने गरी औपचारिक नियम नै ल्याउने तयारी गरिरहेको छ । उक्त नियम आगामी अप्रिलमा प्रकाशित गर्ने सरकारी योजना रहेको छ ।

अमेरिकाका संघीय अध्यागमन एजेन्सीले सन् २०२० मा गर्ने अध्यागमन परिवर्तनको योजना सार्वजनिक गर्दै अप्रिलमा ग्रिनकार्डका सन्दर्भमा नयाँ नियम प्रकाशन गर्ने तयारी गरेका हुन् । अहिले भिसा बुलेटिनका कारणमात्र आई १४० का साथमा आई ४८५ फाइल गर्न नसकिने अवस्था सृजना भएपनि फाइल गर्न नपाइने नियम नै भने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com