घरेलु हिंशाबिरुद्ध र महिला शशक्तिकरणका लागि अमेरिकामा महिलाहरुले लगाए रातोसारी


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

घरेलु हिंशाबिरुद्ध र महिला शशक्तिकरणका पक्षमा शनिबार अमेरिकाको न्युजर्सीको एउटा कार्यक्रममा सहभागी सबै महिलाहरुले रातो सारी लगाए । अमेरिकामा नेपाली र दक्षिण एसियाका महिलाहरुको शशक्तिकरणका पक्षमा महिलाका लागि महिला भन्ने भन्ने नाराका साथ रेड सारी इभेन्ट गरिएको हो ।

शनिबार दिउसो न्युजर्सीको जर्सी सिटीमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारले अमेरिकामा दक्षिण एसियाली मुलका महिलाहरुले भोग्नुपरेका हिंशा र त्यसका प्रकृतिबारे जानकारी दिदै सबै प्रकारका हिंशाबिरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो ।

त्यस्तै जर्सी सिटी काउन्सिल प्रेसिडेण्ड रोलाण्डो लाभारोले दक्षिण एसियाली समुदाय र खासगरी नेपाली समुदायसँगको आफूहरुको सम्बन्ध विशेष रहेको बताउनुभयो । जर्सी सिटी र नेपालको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको स्मरण गर्दै जर्सी सिटीका तर्फबाट प्रतिनिधिमण्डल नेपाल भ्रमणको योजनामा रहेको जानकारी दिनुभयो ।

हरेक बर्ष गरिने यो कार्यक्रममा उपस्थीत नेपाली र दक्षिण एसियाली बाहेक अमेरिकन महिलाहरुले समेत ऐक्यवद्धताका लागि रातो सारी लगाउदै आएका छन् । महिलामाथि हुने हिंशाबिरुद्ध आवाज उठाउँदै आएको बोलो बहन अर्थात् स्पीक सिस्टरको उत्सवका रुपमा यो कार्यक्रम आयोजना गरिदै आएको छ । ‘बोलो बहन’ न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत ‘हड्सन स्पीक्स’ले संचालन गरेको अभियान हो ।

दक्षिण एसियाली समुदायले भोग्नुपरेका सामाजिक विषयहरुलाई उठाउदै आएको हडसन स्पीक्स र बोलो बहनको उक्त कार्यक्रम १६९ एकेडेमी स्ट्रीट, जर्सी सिटीमा गरिएको हो ।

न्यूजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंसाबाट पीडित भएका दक्षिण एसियाली महिलाहरुलाई निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली, बंगाली तथा अंग्रेजीमासमेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरुलाईसमेत निःशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com