१३ प्रश्नोत्तर : अमेरिका आउने सबैका मोबाइल, ल्यापटप जाँच गर्न सकिने


प्रकाशित मिति : माघ २१, २०७३ शुक्रबार

युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले कार्यकारी आदेश जारी भइसकेपछिका ६ दिनमा ११३६ जनालाई अमेरिका आउने जहाज चढ्न अस्वीकृतिका लागि सिफारिस गरेको भने ८७ जना भिसा भएका व्यक्तिहरुलाई अमेरिका छिर्नका लागि वेभर जारी गरेको छ । अहिलेसम्म दुईजनामात्र ग्रिनकार्ड होल्डरहरुलाई पोर्ट अफ इन्ट्रीमा रोकिएको सीबीपीले जनाएको छ । प्रस्तुत छ केही महत्वपूर्ण प्रश्नहरुमा सीबीपीले दिएका जवाफको भावानुवाद ।

१, कार्यकारी आदेशको कार्यान्वयन कहिलेदेखि सुरु भयो ?

कार्यकारी आदेश जनवरी २७ २०१७ देखि कार्यान्वयन गर्न सुरु गरिएको हो ।

२, कार्यकारी आदेशपछि यात्रा गर्नेहरु अमेरिका छिर्ने हरेक नाकामा प्रभावित हुन्छन् ?

हो, यो कार्यकारी आदेश अमेरिकी नागरिक बाहेक इराक, सिरिया, सुडान, इरान, सोमालिया, लिबिया र यमनको पासपोर्ट बोकेर अमेरिका आउने सबै यात्रुहरुका लागि लागु हुन्छ । हवाई, स्थल र सामुन्द्रिक सबै नाकामा लागु हुन्छ ।

३, कतिजना व्यक्तिलाई अहिलेसम्म नाकामा हिराशतमा लिइएको छ ?

सीबीपीले अहिलेसम्म कार्यकारी आदेशका आधारमा कसैलाई पनि हिराशतमा राखिराखेको छैन । यद्यपी कार्यकारी आदेशको क्षेत्राधिकारभित्र पर्ने कैयनलाई थप अनुसन्धान र जाँचबुझ गरिएको छ । अमेरिकामा आउने सवै व्यक्ति अनुसन्धान र जाँचबुझको दायरामा पर्छन् ।

४, कार्यकारी आदेशमा रहेका दुईवटा अपवादहरु के हुन् ? यो कसरी लागु हुन्छ ?

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र विदेश मन्त्रालयले व्यक्तिका केसहरु हेरेर केस अनुशार वेभर जारी गर्न सक्छ । यदि व्यक्तिको प्रवेश अमेरिकामा राष्ट्रिय रुचीको विषय छ र राष्ट्रीय सुरक्षामा कुनै खतरा छैन भने वेभर प्रदान गर्न सकिन्छ ।

५, यस्तो वेभरको प्रकृया के हुन्छ ?

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका बरिष्ठ अधिकारीहरुले त्यस्ता केसको अध्ययन गरेर वेभर जारी गर्न सक्छन् । सीबीपीले सेक्रेटरीको सुझाव अनुशार त्यस्तो प्रकृया चलाइरहेको छ ।

६, सातवटा देशबाट भन्नुको मतलव नागरिक, राष्ट्रियता वा जन्म के हो ?

यात्रुहरुलाई उनीहरुले बोकेको ट्राभल डकुमेन्टका रुपमा हेरिनेछ ।

७, कार्यकारी आदेशबिरुद्धका मुद्दाले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको कामलाई कसरी प्रभावित पार्छ ?

हरेकबर्ष लगभग ८० मिलियन विदेशी यात्रुहरु अमेरिकामा आउँछन् । हरेक दिन आउने झण्डै ३ लाख २५ हजारमध्ये १ प्रतिशतभन्दा कम यात्रुहरुलाई कार्यकारी आदेशपछि असुविधा भइरहेको छ । उनीहरु थप जाँचबुझको प्रकृयाबाट अमेरिकामा आउँछन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमान्दारिताका साथ कानुनको कार्यान्वयन गर्नेछ । न्यायिक आदेशहरुको पालना गर्दै अध्यागमन कानुन लागु गरिनेछ ।

८, ती सातवटा देशका ग्रिनकार्ड होल्डरहरुलाई पनि अमेरिका आउनबाट रोकिन्छ ?

कार्यकारी आदेश ग्रिनकार्ड होल्डरहरुका हकमा लागु हुँदैन । सीबीसीले सातवटा देशका ग्रिनकार्ड भएका १६१० जनालाई अमेरिका छिर्न अनुमति दिइसकेको छ ।

९, कतिजना ग्रिनकार्ड होल्डरहरुलाई कार्यकारी आदेशपछि अमेरिका छिर्न दिइएन ?

दुईजनालाई । जसमध्ये एकजना अपराधको रेकर्ड भएका थिए । अर्को एकजनाले अमेरिकामा प्रवेशको अनुरोध फिर्ता गरेर आफै क्यानडा फर्कने निर्णय गरे ।

१०, सीबीपीले यात्रुहरुलाई अमेरिका प्रवेशको आवेदन फिर्ता लिन वा ग्रिनकार्ड रद्द हुने कागजातमा हस्ताक्षर गर्न दवाव दिइरहेको छ ?

सीबीपी कानुनको पालना गर्न प्रतिबद्ध छ । अमेरिका छिर्नका लागि दिएको आवेदन कसैले फिर्ता लिन्छ भने त्यो स्वेच्छिक हो । र आवेदन फिर्ता लिने प्रकृया नयाँ होइन । व्यक्तिलाई स्वेच्छिक निर्णय गर्ने अधिकार दिनका लागि सबै सीबीपी अधिकारीहरुलाई तालिम दिइएको छ ।

११, प्रतिबन्ध लगाइएका बाहेकका अन्य देशको दोहोरो नागरिकता लिएकाहरुलाई के हुन्छ ?

आप्रवासी वा गैरआप्रवासी भिसा पासपोर्टमा रहेको भएमा दोहोरो नागरिकता लिएका अन्य देशका सबै नागरिकहरु निर्वाध अमेरिकामा प्रवेशका लागि आवेदन दिन स्वीकृती प्राप्त छन् ।

१२, सातवटा देशका अमेरिकामा विद्यार्थी, एक्सचेन्ज भिजिटर लगायत गैर आप्रवासी भिसामा रहेकाहरुको भिसा अब के हुन्छ ?

कार्यकारी आदेशको बखत अमेरिकाभित्र रहेकाहरु यो आदेशबाट प्रभावित हुँदैनन् । तर अमेरिका आइनसकेकाहरुका भिसा भने खारेज गरिएको छ । कार्यकारी आदेशको हस्ताक्षरका बखत अमेरिकाबाहिर रहेकाहरु र त्यसपछि अमेरिकाबाहिर गएर अमेरिका छिर्न खोज्नेहरुलाई अस्थायी समयसम्मका लागि अमेरिका छिर्न दिइनेछैन ।

१३, व्यक्तिका विद्युतीय उपकरणहरु हेर्ने अधिकार सीबीपीलाई छ ?

अमेरिकामा आउने सबै विदेशी यात्रुहरुको जाँचबुझ अनिवार्य छ । जाँचबुझका क्रममा उनीहरुका कम्प्युटर, डिस्क, ड्राइभ, टेप, मोबाइल फोन, संचारका अन्य साधन, क्यामेरा, म्युजिक, मिडिया प्लेयर र अन्य विद्युतीय वा डिजिटल उपकरण समेत हेर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com