‘दलित भएकाले न्युयोर्कमै कोठाभाडामा नपाउँदा रातभर बाहिरै, रेष्टुरेण्टबाट निकालियो’


प्रकाशित मिति : चैत्र ४, २०७५ सोमबार

कथित तल्लो जातको भएका कारण न्युयोर्कमा कोठाभाडामा पाउन समस्या भएको र आफूले कैयन बर्ष थर लुकाएर बस्नु परेको वासिंटन डिसीमा आयोजित एक कार्यक्रमका वक्ताले दुखेसो गरेका छन् । नासो कम्युनिटी अमेरिका, एडवान, आईसीडीआर र पीडीआरसी इन्टरनेशनले आयोजना गरेको जातीय विभेद तथा सबै प्रकारका विभेदबिरुद्ध प्रवासी अभियान विषयक गोष्ठीमा वक्ताले आफूमाथि अमेरिकामा रहेका नेपालीबाटै भएको विभेदबारे बोले ।

न्युयोर्क निवासी रायन लाम्गादेले आफू कथित दलित जातकै भएका कारण न्युयोर्कमा आफूले कोठाभाडामा नपाउँदा रातभर घरबाहिर बिताउनुपरेको घटना स्मरण गरेका थिए । उनले भने – ‘मैले कैयन बर्ष आफ्नो थर समेत परिवर्तन गरेर बसें । नेपालीहरुले कोठा खाली हुँदासमेत कथित तल्लो जातको भनेर भाडामा दिन अस्वीकार गरे ।’

अमेरिकामा आउनासाथ आम्दानी वा अन्य कारणले सिंगै अपार्टमेन्ट भाडामा लिन समस्या हुने सन्दर्भमा नेपालीहरुसँगै मिलेर बस्नुपर्ने बाध्यता छ । तर यसरी बस्दा नेपालीहरुले दलित भएकै कारण कोठा भाडामा नदिने वा कोठामा नराख्ने समस्या कैयनले भोग्दै आएका छन् । अमेरिकामा समेत नेपालीहरुले नेपालीहरुमाथि नै विभेद गर्नु बिडम्बनापूर्ण रहेको बक्ताहरुले बताए ।

कार्यक्रममा न्युयोर्कमा नेपालीले संचालन गरेको एउटा रेष्टुरेण्टमा एक युवाले दलित भएकै कारण कामबाट निकालिनुपरेको प्रसंग समेत उल्लेख गरेर डीबी सागरले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा कार्यस्थल, विद्यालयहरुमा हुने विभेदका बारेमा समेत उल्लेख गरिएको थियो । भर्जिनियामा आयोजित एक कार्यक्रममा एक स्थापित नेपालीले नै जातीय विभेदलाई प्रोत्साहन गर्ने मन्तब्य दिएको प्रसंग र स्कुल पढ्ने आफ्ना बच्चाका साथी दलित भएकै कारण बाबुआमाले सम्बन्ध टुटाएको प्रसंग पनि कार्यपत्रमा समावेश गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा अमेरिकाको भ्रमणमा रहनुभएकी माननीय सांसद तथा नेपालको संसदको ‘राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितीको सभापति निरा देवि जैरु परियारले सम्बोधन गरेकी थिईन् । उक्त गोष्ठीमा प्रमुख अतिथि सांसद जैरूले नेपालको दलित समस्यालाई हेर्ने दृष्टिकोण र सामाजिक रूपान्तरणको तरिका फेर्नु जरूरी भएको उल्लेख गर्दै ‘आरक्षण भनेको भिख हैन, सकारात्मक विभेद हो। त्यसलाई अझै सकारात्मक बनाएर लैजानु पर्छ’ भन्दै दलित समुदायले प्राप्त गरेको राज्यको सुबिधाहरू र उपलब्धीहरूलाई उपयोग गर्नु पर्ने कुरामा जोड दिईन् ।

गोष्ठीका आयोजक र अतिथि वक्ताहरूले नेपाल र अमेरिका लगायत बिदेशी भूमिमा रहेको नेपाली समुदायमा प्रतक्ष र अप्रतक्षरूपमा बिद्यमान जातीय विभेद र छुवाछूतको कुसंस्कार एक्काईसौं शताव्दीको आधुनिक समाजको लागि लज्जास्पद र मानव जातिको कलंक भएको भन्दै यस्तो अमानवीय परम्पराको अन्त्य गर्नु पर्ने बताएका थिए । उक्त गोष्ठीमा सांसद जैरूलाई आयोजक चार संस्थाहरूले दलित आन्दोलनको अभियन्ताको रूपमा सम्मान गरेका थिए ।

नासो कम्यूनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा को सभापतित्वमा सम्पन्न समारोहमा सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स नेपालकि संस्थापक अध्यक्ष ईन्दिरा रानामगरले सम्बोधन गर्दै दलित र सिमान्तकृत समुदायको महिला र बालवालिकाहरू बढी हिंसामा पर्ने उल्लेख गरिन् । आयोजक संस्थाहरूको तर्फबाट एडवानकी संस्थापक अध्यक्ष तथा जर्सी सिटी मेयरकी सल्लाहकार डा. विष्णुमाया परियार र पिडिआरसीका भिम बिकेले सम्बोधन गर्दै छुवाछुत समस्या र जातीय विभेदबारे प्रकाश पारेका थिए ।

डा. विष्णुमाया परियारले जातीय विभेदका लागि कथित गैर दलितहरुले समेत बोल्नुपर्ने र यसो गर्दा जातीय विभेद अन्त्यका अभियान थप प्रभावकारी हुने बताइन् । गोष्ठीको सन्चालन नासो कम्यूनिटीका महासचिव पूर्णसिंह बराईलीले गरेका थिए ।

फोटो : प्रदीप परियार थापा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com