एक्सक्लुसिभ : २०१८ मा १७ हजार १ सय ९१ नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

आर्थिक बर्ष २०१८ मा १७ हजार १ सय ९१ जना नेपालीको अमेरिकाको भिजिटर भिसा अस्वीकृत भएको छ । अमेरिकाको सरकारी तथ्यांकलाई आधार मान्दा कुल ३३ हजार ३ सय ६१ जना नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा १६ हजार १ सय ७० जना नेपालीले मात्र भिसा पाएका छन् ।

तथ्यांक हेर्दा कुल आवेदकमध्ये ५१ द्यशमलव ५३ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको छ । नेपालीहरुको यति धेरै भिजिटर भिसा अस्वीकृत भएको कुल आवेदनसंख्याको प्रतिशतका हिसाबले विगत ७ बर्षकै सबैभन्दा धेरै हो ।

आर्थिक बर्ष २०१८ मा कुल आवेदकमध्ये ४८ दशमलव ४७ प्रतिशत नेपालीले मात्र अमेरिकाको भिजिटर भिसा पाए । अमेरिकी सरकारको विदेशमन्त्रालयबाट भिसा पाउने नेपाली र भिसा अस्वीकृत हुने नेपालीहरुको संख्या र प्रतिशत हिसाब गरेर कुल भिसा आवेदकको संख्या र अस्वीकृत आवेदनको संख्या निकालिएको हो । यो संख्यामा दुईचार नम्बर फेरवदल समेत हुनसक्छ ।

आर्थिक बर्ष २०११ मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५९ दशमलव ९ प्रतिशत थियो । त्यस्तै सन् २०१० मा नेपालीको भिजिटर भिसा अस्वीकृत प्रतिशत ५८ दशमलव ३ थियो । सन् २००९ मा ५९ दशमलव १, सन् २००८ मा ५१ दशमलव २, सन् २००७ मा ५५ दशमलव १ र सन् २००६ मा ५५ दशमलव ३ प्रतिशत रहेको थियो ।

तर सन् २०१२ र त्यसपछिका बर्षहरुमा नेपालीहरुको भिसा अस्वीकृत प्रतिशत स्वीकृत प्रतिशतको तुलनामा कम थियो । अर्थात् कुल आवेदकमध्ये ५० प्रतिशतभन्दा धेरै नेपालीहरुले नै अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका थिए । तर सन् २०१८ मा आएर भिजिटर भिसा पाउने नेपालीको प्रतिशतको तुलनामा नपाउनेहरुको प्रतिशत र संख्या धेरै भएको छ ।

सन् २०१२ मा ४९ दशमलव ४, सन् २०१३ मा ४६ दशमलव ४, सन् २०१४ मा ३८ दशमलव २, सन् २०१५ मा ४२ दशमलव १९, सन् २०१६ मा ४९ दशमलव ५४ र सन् २०१७ मा ४६ दशमलव ४२ प्रतिशत कुल भिजिटर भिसाका आवेदक नेपालीको भिसा अस्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक रहेको छ ।

आर्थिक बर्ष २०१८ मामात्र अमेरिकाको भिजिटर भिसाको आवेदन दिने नेपालीहरुबाट झण्डै ६० करोड रुपैया अमेरिकी सरकारलाई आम्दानी भएको छ । जसमध्ये अमेरिकाको भिजिटर भिसाको आवेदन दिने तर भिसा नपाउनेहरुमध्येबाट समेत झण्डै ३० करोड रुपैया अमेरिकी सरकारलाई आम्दानी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com