विश्वप्रसिद्ध ४ नीतिकथा
प्रकाशित मिति : माघ २७, २०७५ आईतबार
कमिला र ढुकुर
एउटा कमिला खोलामा पानी खान गयो । उसलाई खोलाले बगायो । रुखको हाँगामा बसेको एउटा ढुकुरले कमिला पानीमा डुब्न लागेको देख्यो । उसले एउटा पात टिपेर कमिलाको नजिकै पानीमा खसाल्यो । कमिला पातमाथि चढ्यो र खोलाको किनारामा आइपुग्यो ।
केही बेरपछि एउटा चरा-सिकारी रुखमुनि आयो र रुखको हाँगामा बसेको ढुकुरलाई मार्न गुलेली ताक्यो । ढुकुरमाथि खतरा आइलागेको देखेर कमिलाले सिकारीको औँलामा टोक्यो । अचानक कमिलाको टोकाइले गर्दा उसले ताकेको गुलेली ढुकुरलाई लागेन । ढुकुर उडेर गयो ।
केटो र बयर
आमाले घैँटोमा पाकेका बयर राख्नु भएको थियो । केटोले बयर खान खोज्यो । उसले घैँटोभित्र हात घुसार्यो । उसले सकेसम्म धेरै बयर मुठ्ठीमा लियो र हात बाहिर झिक्न खोज्यो । तर घैँटोको मुख सानो भएकोले उसले आफ्नो हातको मुठ्ठी बाहिर झिक्नसकेन । उसले मुठ्ठीमा भएको बयर छोड्न चाहन्नथ्यो । तर मुठ्ठी नफुकाइकन हात बाहिर झिक्न पनि सकिन्नथ्यो । यसैले केटो रुन थाल्यो ।
छोरो रोएको सुनेर आमाले के भयो भनेर हर्न आइन् । घैँटोभित्र हात अडकेको देखेर उनले भनिन्, “मुठ्ठीमा भएको आधा बयर घैँटोभित्रै खन्यायौ भने तिम्रो हात सजिलैसँग बाहिर आइहाल्छ नि । त्यसैले त धेरै लोभ गर्न हुन्न भनेको हो ।”
सुनको फुल पार्ने हाँस
एउटा गाउँलेले हाँस पालेको थियो । एक दिन उसले हाँसको खोरमा राखेको फुल पार्ने डालोमा पहेँलो रंगको फुल देख्यो । उसले फुल उचालेर हेर्यो । ढुंगाभन्दा गह्रुँगो थियो । उसले त्यो फुल मिल्काउन खोज्यो । किन भने कसैले उसलाई जिल्याउन ढुँगाको फुल राख्यो होला भन्ने उसले ठान्यो । तर उसले त्यो फुल फालेन, घर लैजाने बिचार गर्यो । घरमा लगेर हेर्दा त ऊ छक्कै पर्यो । किनभने त्यो फुल त शुद्ध सुनको फुल रहेछ ।
भोलिपल्ट विहान हाँसको खोरमा हेर्दा फेरि अर्को सुनको फुल देख्यो । उसले दिनदिनै सुनको फुल बटुल्न थाल्यो । दिनदिनै सुनको फुल बेचेर ऊ निक्कै धनी भयो । धेरै धनी भएपछि उसको लोभ बढ्दै गयो । उसले दिनदिनै फुल बटुलेर बेच्नुको सट्टा हाँसको पेटभित्र भएको सब फुल एकै चोटि निकाल्ने बिचार गर्यो ।
अनि एक दिन उसले हाँसलाई काट्यो र उसको फेट चिरेर हेर्यो । तर त्यहाँ एउटा पनि सुनको फुल थिएन ।
तिर्खाएको कौवा र घैँटो
एउटा कौवा साह्रै तिर्खाएको थियो । उसले पानी राख्ने घैँटो देख्यो । ऊ घैँटोको मुखमा बस्यो र पानी खान खोज्यो । तर पानी घैँटोको पीँधमा भएकोले उसले पानी खान सकेन । उसले पीँधमा भएको पानी खान धेरै पल्ट कोसिस गर्यो तर सकेन । ऊ निराश भएर उड्नै लागेको थियो । त्यसै बेला उसको मनमा एउटा विचार आयो ।
कौवा उडेर केही पर गयो जहाँ सानासाना गुच्चाजत्रा ढुंगा थिए । उसले चुच्चोले एकएक वटा ढुंगा ओसार्दै घैँटोभित्र राख्न थाल्यो । घैँटोको पीँध ढुंगाले भरिएपछि पानी माथि आयो । अब उसले सजिलैसँग पानी खान सक्थ्यो । यसरी बुद्धि पुर्याएर कौवाले पानी खायो र फुर्तिलो भएर उडेर गयो । थोरैथारै गरेर भए पनि प्रयास गरे सफल भइन्छ ।