अब वीरेन्द्र हत्याको प्रतिवेदन खोतल्नुपर्छ : गृहमन्त्री निधि


प्रकाशित मिति : ७ पुस २०७३, बिहिबार

विनोद घिमिरे
/मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्ड छानबिनबारे छलफल भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र जनआन्दोलनको उपलब्धीप्रति प्रश्न उठाउँदै राजनीतिक वक्तव्य दिएलगत्तै मन्त्रिपरिषदमा दरबार हत्याकाण्डको पुनः छानबिनको प्रस्ताव आएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविन गरिनुपर्ने कुरा उठाएका हुन् ।

नारायणहिटी दरबारभित्र ०५८ जेठ १९ गते राति गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो, जुन आम जनताले पत्याएका छैनन् । अकल्पनीय यस घटनाको १५ वर्षपछि पुनः छानविनको कुरा उठेको हो ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा मन्त्रालयगत एजेण्डाहरुमाथि निर्णय भएपछि समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सुरुमै उपप्रधान एवम् गृहमन्त्री निधिले पूर्वराजा ज्ञानेन्द्रबाट जारी गरिएको विज्ञप्तिको प्रसंग कोट्याए । उनले अब दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने बताए ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री निधीले दरबार हत्याकाण्डको छानविन प्रतिवेदन त्यत्तिकै थन्किएको भन्दै अब त्यसलाई खोतल्नुपर्ने बताए ।

तर, कांग्रेसकै मन्त्रीहरु रमेश लेखक र नविन्द्रराज जोशीले मन्त्री निधीको कुरा जायज भए पनि अहिले संविधान कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पनि पूर्वराजाको वक्तव्य आउनु, राजनीतिक दलहरुले संघीयता विरोधी अभिव्यक्ति दिँदै हिँड्नु र संविधान संशोधनको विरोधमा आन्दोलन हुनुलाई सामान्यरुपमा लिन नहुने विश्लेषण मन्त्रीहरुलाई सुनाएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘पछिल्ला जे जति गतिविधिहरु भएका छन्, ती सबै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिक जस्ता उपलब्धीविरुद्ध छन्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘हामी सबै संविधान कार्यान्वयनमा केन्द्रित होऔं, षडयन्त्रलाई चिरौं ।’

क्याबिनेटमा एमालेको समेत चर्चा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्रोतका अनुसार क्याबिनेटमा भएको समसामयिक छलफल र विश्लेषणमा एमालेका विषयमा पनि केहीबेर चर्चा भएको थियो । संविधान संशोधन अवरुद्ध गर्ने एमालेको गतिविधि लोकतान्त्रिक प्रक्रियाको विपरीत हो भन्दै प्रधानमन्त्रीले प्रक्रियामा जाँदा संशोधन प्रस्ताव फेल भए पनि पास भए पनि स्वीकार्न तयार हुनुपर्ने बताएका थिए ।

प्रधानमन्त्रीले बोलिसकेपछि थप बोलेका यातायात मन्त्री रमेश लेखकले विगतमा कांग्रेस र एमालेले ल्याएकै संविधान संशोधन प्रस्तावलाई अहिले एमालेले विरोध गर्नु दुःखद भएको भन्दै उसलाई सहमतिमा ल्याउन पहल गर्नुपर्ने बताएका थिए ।

त्यसैगरी ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अहिले संविधान कार्यान्वयन गर्नुपर्ने मुख्य दायित्व भएकाले संविधान संशोधनलाई प्रक्रियामा लैजानुपर्ने बताएका थिए । उनले स्थानीय निकायको नभई स्थानीय तहको चुनावको तयारीमा लाग्नुपर्ने पनि बताएका थिए ।

यसैवीच मन्त्रिपरिषद बैठकबाट बाहिरिँदै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संविधान प्रदत्त बाटोबाटै सरकार अघि बढ्ने बताए । श्राेत अनलाइन खब र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com