‘द्वन्द्व व्यवस्थापनमा नेपाल विश्वकै नमूना’


प्रकाशित मिति : मंसिर २३, २०७३ बिहीबार

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक उदाहरण भएको बताएका छन्। इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको ‘बाली डेमोक्रेसी फोरम’को नवौँ सम्मेलनलाई सम्बोधन गर्दै महतले सो कुरा बताएका हुन्।उनले भने, ‘संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ।’

विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गरे। यस सम्मेलनको यसपटकको नारा धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ। शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको धारणा राखे।

उनले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत आफँै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए। मन्त्री महतले भने,‘हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ। हाल नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहनुभएको छ।’

सो सम्मेलनमा मन्त्री महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै नेपालमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्मबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रहिआएको स्मरण गरे। नेपाल सधैँ शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको मन्त्री महतले उल्लेख गरे। शुक्रबारसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले पनि मन्तव्य राख्ने कार्यक्रम छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com