सातामै चार किलोमिटर पिच


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

पूर्ण सरकारी लगानीमा धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडक एक सातामा चार किलोमिटर कालोपत्रे भएको छ । असोज १४ गतेदेखि कालोपत्रे सुरु भएको हो । वाग्मती गाउँपालिका–८ स्थित न्युरेनीदेखि शान्तिपुरसम्म ४ किलोमिटर पिच भइसकेको छ ।

हेटौंडा–सिन्धुली अर्थात् पश्चिमी खण्डको फापरबारी क्षेत्रबाट कालोपत्रे सुरु गरिएको छ । सडकको ११ मिटर चौडाइमा गर्ने कालोपत्रे १० सेन्टिमिटर बाक्लो रहने पश्चिमी क्षेत्रका आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए । चालु आवमा पश्चिमी क्षेत्रतर्फ कम्तीमा ७० किलोमिटर कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ ।

पुलहरू बनाउने काम पनि धमाधम भइरहेको छ भने केही स्थानमा सडकलाई चौडा बनाउने कार्यले पनि तीव्रता पाएको छ । धरान–चतरा सडकको पूर्वी खण्डमा पनि दसंै सक्नेबित्तिकै कालोपत्रे गर्न सुरु गर्ने जनाएको छ । यो चालु आवमा पूर्वी खण्डमा २५ किलोमिटरमात्र कालोपत्रे गर्ने योजना रहेको पूर्वी खण्डका इन्जिनियर रामदेयार चौधरीेले बताए । धरान–चतरा– हेटौंडाका दुवै खण्डमा चालु आवमा ९५ किलोमिटर पिच हुने आयोजनाले जनाएको छ ।

पश्चिमी क्षेत्रको हेटौंडा उपमहानगरपालिकाको गौरीटारदेखि वाग्मतीस्थित फापरबारीका विभिन्न भागमा घरगोठ अधिग्रहण गरिनसकेकाले सडक विस्तार गर्ने कार्यले गति लिन सकेको छैन । खासगरी गौरीटारदेखि फुर्केचौरसम्मको सडक खण्डको दुवैतर्फ घरगोठ छन् । ‘क्षतिपूर्तिको कुरा नटुंगिएकाले निर्माण कम्पनीले सडक चौडा गर्न पाएको छैन,’ पश्चिमी क्षेत्रका आयोजना प्रमुख रानाभाटले भने,‘क्षतिपूर्तिको कुरा टुंगिएपछि यस क्षेत्रमा आयोजनाको निर्माणले गति लिनेछ ।’

हेटौंडा उपमहानगरपालिका–६ को गौरीटारदेखि फापरबारीसम्म ८ सय ६७ वटा घरगोठ सडक सीमाभित्र पर्छन् । उक्त घरगोठ भत्काएर क्षतिपूर्ति दिने रकम पनि भवन प्रविधि तथा तालिम केन्द्रले निर्धारण गरिसकेको छ । संरचना भत्काएर क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रियामा जाँदैछौं आयोजना प्रमुख रानाभाटले भने । ८ सय ६७ वटा घरगोठको क्षतिपूर्ति आयोजनाले ८१ करोड रुपैयाँ उपलब्ध गराउनुपर्ने देखिएको छ ।

३ सय १८ किलोमिटर लामो धरान–चतरा–हेटौंडा सडकलाई २ खण्डमा विभाजित गरेर निर्माण कार्य सुरु गरिएको छ । निर्माणाधीन धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडक करिब २२ अर्बको लगानीमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । तीव्र गतिमा निर्माण कार्य अघि बढेको छ । कुल आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलको ४० प्रतिशत काम सम्पन भइसकेको छ । लोजार, माझी र कालीखोलाको पुल निर्माण भइसकेको छ । पश्चिमी क्षेत्रमा ३३ वटा पुल पर्छन् । त्यसमध्ये ३ वटा सम्पन्न भइसकेको छ । १२ वटा पुलको ७० प्रतिशत काम भइसकेको आयोजनाले जनाएको छ ।

मकवानपुरमा १२ वटा र सिन्धुलीमा २१ वटा पुल पर्छन् । करिब एक वर्षको बीचमा ३३ वटै पुल निर्माण गरिसक्ने आयोजनाले दाबी गरेको छ । सडक निर्माणमा १ सय १५ किलोमिटरमध्ये ७० किलोमिटर लम्बाइ टेवा पर्खाल, नाली कजवे निर्माण गरिसक्नुका साथै ११/११ मिटर चौडा बनाइसकेको छ । ‘७० किलोमिटर सडक कालोपत्रे गर्नका निम्ति तयारी अवस्थामा राखिएको छ,’ आयोजना प्रमुख रानाभाटले भने, ‘अब पिच धमाधम हुन्छ ।’ पिच गर्नका लागि फापरबारी क्षेत्रमा प्लान्ट पनि जडान गरिसकिएको छ । उक्त प्लान्टले प्रतिघण्टा २० ट्रकभन्दा बढी पाकेको अलकत्रा उत्पादन गर्छ ।

धरान–चतरा–हेटौंडा सडकलाई सफल आयोजनाका रूपमा लिइएको छ । हेटौंडादेखि सिन्धुलीसम्मको १ सय १५ किलोमिटर लामो पश्चिमी खण्ड र सिन्धुलीदेखि धरानसम्मको १ सय ३४ किलोमिटर लम्बाइ रहेको पूर्वी खण्डमा विभाजित गरेर निर्माण कार्य अगाडि बढाएको छ । हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुलपुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजनाको कार्यालय स्थापना गरिएको छ भने पूर्वी क्षेत्रको गाईघाटमा आयोजनाको कार्यालय राखिएको छ ।

धरान–चतरा–हेटौंडा सडकको मध्यभागबाट १५/१५ मिटरभित्र पर्ने घरगोठलगायत भौतिक संरचनाको क्षतिपूर्ति आयोजनाले उपलब्ध गराउने व्यवस्था छ । उक्त आयोजनाले जग्गाको रकम उपलब्ध नगराउने र घरगोठको क्षतिपूर्ति दिने नीति रहेको छ । उक्त सडकमार्गको ट्रयाक खोलेर कैयौं क्षेत्रमा नाली, तटबन्ध निर्माण गरेर कालोपत्रे गर्नमात्र बाँकी छ । सडक सीमाभित्र पर्ने घरगोठको क्षतिपूर्ति उपलब्ध गराएर सडक चौडा गर्ने कार्य केही खण्डमा विलम्ब भएको छ भने केही ठाउँमा सडकको एलाइमेन्ट नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।
२०७२ चैत २९ गतेको राजपत्रमा सहायक सडक मार्ग तोकेर सडकको मध्यभागबाट दायाँबायाँ १५/१५ मिटर सडक सीमा उल्लेख गरेको छ । सरकारले उक्त सडकलाई प्राथमिकताको आयोजनामा राखेर चालु आवका निम्ति ३ अर्ब रुपैयाँ विनियोजित गरेको छ ।

धरान–चतरा–गाईघाट–सिन्धुली–हेटौंडा सडकको ट्रयाक ओपन गर्ने कार्य गत वर्षमा नै सम्पन्न भइसकेको छ । सडकलाई फराकिलो पार्ने, कजवे बनाउने, लिटिनिङ वाल निर्माण गर्ने कार्य पनि भइरहेका छन् भने आधा दर्जन वटा पुलको निर्माण कार्य पनि सम्पन्न भइसकेको छ पश्चिमी क्षेत्रका आयोजना प्रमुख रानाभाटले भने, ‘निर्माण कार्यले तीव्रता पाएको छ ।’ तीन वर्षभित्र ११ मिटर चौडाइको दुई लेनको सडक निर्माण गर्ने गरी सुरु भएको योजनाले नयाँ ट्रयाक खोलेर कालोपत्रे गर्न थालिसकेको आयोजना प्रमुख रानाभाटले बताए।
पश्चिम खण्डमा कालिका, स्वच्छन्द र राकेन जेभी कम्पनीले निर्माण कार्यको ठेक्का लिएका छन् भने पूर्वी खण्डका निम्ति लामा, शर्मा र रसुवा जेभी कम्पनीले सडक निर्माण गर्ने जिम्मेवारी पाएका छन् । तोकिएको समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीले १० प्रतिशत बोनस पाउने व्यवस्था गरिएको छ । तोकिएको समयमा काम नसक्ने कम्पनीले १० प्रतिशत हर्जाना व्यहोर्नुपर्ने व्यवस्था छ । ‘बोनस र हर्जानाको व्यवस्था गरिएको नेपालको यो एकमात्र सडक आयोजना हो,’ पश्चिमी क्षेत्रका आयोजना प्रमुख रानाभाटले भने, ‘यो आयोजनाको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न भएर कालोपत्रे पनि हुन्छ ।’ आयोजनाले साइट क्याम्प तथा निर्माण सामग्री प्रयोगशालासमेत स्थापना गरी काम गरिरहेको छ । उक्त सडकको पश्चिमी खण्डको सिन्धुलीमा ६६ र मकवानपुरमा ४८ किलोमिटर पर्छ ।

उक्त सडकको पश्चिमी खण्डतर्फ ३३ वटा पुल निर्माण र पूर्वी खण्डमा ४२ वटा पुल निर्माण गर्नुपर्छ । यस आयोजनामा ७५ वटा पुल निर्माण गर्नुपर्छ । भित्री मधेसबाट राजधानी छिचोल्ने सफल वैकल्पिक मार्गका रूपमा विकसित गरिएको उक्त मार्गबाट तराई जिल्लालाई नछोई राजधानी पुग्न सकिन्छ र दूरी पनि छोटो छ । ‘आगामी २ वर्षभित्र धरान–चतराको सडक १८ महिनाभित्रमा कालोपत्रे भइसक्छ,’ आयोजना प्रमुख रानाभाटले भने, ‘यो सडकको निर्माणको निम्ति सरकारले उच्च प्राथमिकता दिएका कारण अब १८ महिनाभित्र सडकमा सवारीसाधन गुड्न थाल्छन् ।’

आव २०६४/२०६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको थियो । तर यो वर्ष ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पिचदेखि लिएर पुलहरूको निर्माण कार्य गर्न ठेक्का भएर पनि काम सुरु भइरहेको छ । भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने उक्त सडकलाई दुई लेनको बनाउने कार्य भइरहेको छ ।

धरान–चतरा सडक मकवानपुरमा ४९ दशमलव ३५, किलोमिटर, सिन्धुलीमा १ सय ३९ दशमलव नौ सय २५ मिटर, उदयपुरमा १ सय १० दशमलव ३३ र सुनसरीमा १८ दशमलव ८ किलोमिटर पर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com