नेपालीलाई करोडपति बनाउँदै राजेश हमाल


प्रकाशित मिति : आश्विन १८, २०७५ बिहीबार

अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् ।

अन्तराष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’को नेपाली संस्करणको रुपमा ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेको छ ।

भारतमा लोकप्रियता हाँसिल गरेको प्रतियोगिता मुलक कार्यक्रम ‘कौन बनेगा करोडपति’ नेपालीहरु बीच पनि लोकप्रिय रहेकाले आफूहरुले यसलाई नेपालमा सञ्चालन गर्न लागेको हमालले बताए ।
बेलायतबाट सन् १९९८मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा निर्माण भएका छन् ।

प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजन मार्फत प्रशारण हुँदैछ । कार्यक्रम राजेश हमालले सञ्चालन गर्ने छन् ।

बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अभिनेता हमालले भने, ‘अन्तराष्ट्रिय रुपमैं लोकप्रियता हाँसिल गरेको कार्यक्रमको सञ्चालक बन्न पाउँदा खुसी लागेको छ । को बन्छ करोडपतिले यसमा सहभागी हुने नेपालीहरुलाई बौद्धिकसँगै आर्थिक रुपमा पनि धेरै हदसम्म सबल बनाउने छ ।’ शिक्षासँग जोडिएको एउटा बौद्धिक कार्यक्रम भएकाले पनि यो कार्यक्रम सञ्चालन गर्न पाउँदा आफुलाई खुसी लागेको उनले बताए ।

पत्रकार भेटघाट कार्यक्रममा केविसी नेपाल (को बन्छ करोडपति नेपाल)को प्रोमो पनि रिलिज गरिएको छ । प्रोममा ‘नमस्कार नेपाल, तपाईहरु सन्चै हुनुहुन्छ’ भन्ने नेपाली सम्बाद सहित कौन बनेका करोडपतिका सञ्चालक एवम् बलिउड अभिनेता अमिताभ बच्चनले को बन्छ करोडपतिलाई सफलताका शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया पनि सुरु गरिएको आयोजक पक्षले पत्रकार भेटघाटका क्रममा जानकारी गराईयो । जसका लागि केबिसी नेपाल मोवाईल एप्स डाउनलोड गरेर यसलाई घरमै बसेर पनि खेल्न सकिने पनि जानकारी गराइयो ।

आयोजक विपिन कुमार आचार्यले नेपालीहरुलाई गेम खेलाउँदै आर्थिक रुपमा समृद्ध र अझ बौद्धिक बनाउन आफूहरुले को बन्छ करोडपति नेपाल कार्यक्रम टेलिभिजनमार्फत सञ्चालन गर्न लागेको बताए ।

कार्यक्रममा सिभिल बैंकका सिईओ गोविन्द गुरुङ, इन्डिका हेयर कलरका कन्ट्री म्यानेजर सपनदास गुप्ता, राजिव शाहलगायतले कार्यक्रमको सफलताको कामना गरे ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com