सकेसम्म आजदेखि काठमाडौंका यी रुट प्रयोग नगर्न प्रहरीको आग्रह


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

काठमाडौं – भोलि र पर्सि काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका कारण केही दिनदेखि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

आजदेखि झनै मुख्य सडकमा यात्रा गर्न गाह्रो हुने भएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाको सवारीका कारण शनिबार बिहानसम्मै काठमाडौंका केही रुटमा यात्रा गर्न समस्या हुने देखिएको छ ।

ट्राफिक प्रहरीले अति विशिष्ट पाहुनाको लागि तय भएको सवारी रुटको विकल्प प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तीनवटा सवारी रुट तय गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ ।

यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ ।

सकेसम्म यो रुट प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com