भारु नोट नसाटिने जोखिम बढ्यो

प्रकाशित मिति : मंसिर १, २०७३ बुधबार

नेपालमा रहेका पुराना भारतीय पाँच सय र हजार दरका नोट व्यवस्थापन पेचिलो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबिआई)लाई पठाएको पत्रको जवाफ नआउँदा नेपालमा रहेको मुद्रा के हुने भन्ने अझै टुंगो लागेको छैन । नेपालमा रहेका भारु पाँच सय र हजारका नोट साटिने सम्भावना कम रहेको अर्थ मन्त्रालयको उच्च स्रोतले बताएको छ ।

तर, नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर (आर्थिक) कृष्णहरि पुष्कर भने नेपालीसँग रहेको वैधानिक रकम सटहीको व्यवस्था गरिदिन भारत सरकार सकारात्मक रहेको बताउँछन् ।

मंगलबार बिहान भारतीय आरबिआईको हवाला दिँदै भारतीय मिडिया ‘आजतक’को अनलाइनले नेपालको प्रस्ताव अस्वीकार गरेको समाचार प्रकाशित गरेको थियो । त्यस्तो समाचार प्रकाशित भएपछि भारतीय नोट रहेका नेपालीमा त्रास फैलिएको छ ।

हो, नसाटिन सक्छ : अर्थ मन्त्रालय

नेपालको बैंकिङ प्रणालीबाहिर रहेका पाँच सय र हजारका भारु नोट सटही हुनेमा अर्थ मन्त्रालयका उच्च अधिकारीहरू विश्वस्त छैनन् । आफ्नो मुद्राबारे निर्णय गर्ने अधिकार सम्बन्धित देशमा मात्रै निहित हुने भन्दै उनीहरूले मुद्रा सटही हुने सम्भावना नरहेको संकेत गरे । ‘भारतीय मुद्राबारे अन्तिम निर्णय गर्ने अधिकार भारतलाई नै छ,’ अर्थका उच्च अधिकारी भन्छन्, ‘मुद्रा अपचलन रोक्न उनीहरूले त्यस्तो निर्णय गरेका हुन्, नेपालले भनेअनुसार हुन्छ भन्ने लाग्दैन ।’

नेपालीसँग भएको भारुप्रति भारत उत्तरदायी छ कि छैन ?

१४ वर्षसम्म नेपालमा प्रतिबन्धित भारु पाँच सय र हजारको नोट दुई वर्षअघि खुला गरिएको थियो । सन् २००० देखि नेपालमा ती नोट प्रतिबन्धित थिए भने ८ माघ ०७१ अर्थात् २२ जनवरी २०१५ देखि पुनः वैध बनाइएको थियो । त्यसैले नेपालका बैंकहरूले त्यस्ता नोट स्वीकार गरेर त्यसको सट्टा नेपाली रुपैयाँ दिँदै आएका थिए । बैंकमा जम्मा भएको र सर्वसाधारणले वैधानिक रूपमा बोकेको रकम स्वीकार गर्नु भारतको जिम्मेवारी हो ।

नेपालको मुख्य व्यापार भारतमा निर्भर छ । सामान आयात गर्ने व्यापारीले नेपालीमा होइन भारुमा पैसा तिर्नुपर्छ । त्यसका लागि उनीहरूले भारतीय नोट संकलन गरिरहेका हुन्छन् । ठूला आयातकर्ताले एलसीलगायतका बैंकिङ च्यानलबाट भुक्तान गरे पनि साना व्यापारीले भने नगदै कारोबार गर्छन् । त्यसका लागि संकलित वैधानिक रकम भारतले स्वीकार नगरे नेपाली व्यापारी संकटमा पर्नेछन् ।

सीमा क्षेत्र मात्र होइन पहाडी जिल्लाबाट समेत लाखौँ नेपाली भारतीय श्रम बजारमा छन् । तिनीहरूले पारिश्रमिकबापत ल्याएको अथवा पठाएको नगद पनि अब संकटमा छ । त्यति मात्र होइन, भारतीय सैनिक तथा प्रशासनिक क्षेत्रमा काम गरेका नेपालीले भारतमै गएर पेन्सनस्वरूप बुझेको रकम पनि संकटमा छ । त्यसैले भारतमा पसिना र रगत बगाएर जम्मा गरेको नेपालीको पैसाप्रति भारत सरकारको दायित्व छ ।

भारतमा पढ्न जाने विद्यार्थी र उपचार गर्न जाने बिरामीले बैंकिङ नियमअनुसार भारु साटेका छन् । सामान्यतया २५ हजार र डाक्टरको सिफारिस हेरेर ५० हजारसम्म भारु लिन पाइन्छ । तर, पैसा साटेकाहरू कतिपय भारत पुगेका छैनन् भने कतिपयको पैसा खर्च नभएर फिर्ता भएको नयाँ पत्रिकामा खबर छ । विद्यार्थी र बिरामीको रकमप्रति भारतले आफ्नो दायित्व छैन भन्न नमिल्ने हो ।

नेपाली सर्वसाधारण तनावमा

पाँच सय र हजार दरका पुराना भारतीय नोटमा प्रतिबन्ध लगाएपछि ती मुद्रा भएका नेपाली त्रासमा रहेका छन् । नेपालमा २५ हजार भारुबराबरको मात्रै ती दरका नोट ल्याउन तथा सटही गर्न पाउने व्यवस्था छ । तर, त्यही रकम पनि साट्न नपाइने हो कि भन्ने त्रास नेपालीमा छ । यस विषयमा नेपाल सरकार तथा राष्ट्र बैंकले कुनै निर्णय लिन नसक्दा ती दरका नोटको मूल्यमा तीव्र कमी आएको छ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका सीमावर्ती ठूला सहरमा ती दरका भारु र नेरुको विनिमय दर बराबरीमा आइपुगेको सम्बन्धित क्षेत्रका स्थानीयले बताएका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com