निषेधको राजनीतिले विद्रोह हुने पूर्व राजा ज्ञानेन्द्र शाहको चेतावनी (पूर्णपाठ)

प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै जहाँ हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुने बताएका छन् । पूर्वराजा शाहले सम्बोधन गर्दै निषेधको राजनीतिले विद्रोह हुने चेतावनी समेत दिएका छन् । ज्ञानेन्द्रले नेपालमा मौलिकता र राष्ट्रियता हराउदै गएकोप्रति असन्तुष्टि जनाए।

सम्बोधनको पूर्णपाठः

जगतगुरु शंकराचार्य, मठाशीश, गुरुवाचार्य र यस अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलनमा उपस्थित हुनुभएका ओमकार परिवारका धर्मगुरु तथा हिन्दु दर्शनका चिन्तकहरु। धार्मिक, दैविक र प्राचिन एतिहासिक तथ्य बोकेको नेपाल भूमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नु हुने अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन आयोजक तथा यहाँ उपस्थित सबै धर्मपरायण, संघ संस्था तथा आस्थाका पात्रहरुप्रति पनि म आभार व्यक्त गर्दछु ।

हिन्दु धर्म एवम् दर्शन विश्वकै महान र उदार छ । अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचिन ऐतिहासिक पाशुपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गुरु, सन्त, महात्मा, पिठाधिश एवम् विद्वान विवेचकहरुको भेला हुनु आफैँमा स्तुत्य कार्य हो । म यहाँ पाल्नु भएका जगतगुरु शंकराचार्य, मठाधीश, पिठाधिश, गुम्वाचार्य र विभिन्न आश्रम प्रमुख धर्माधिमहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।

धर्म जो धारण गरिन्छ त्यसको धेरै कारण छन् । आत्म उन्नति, परमार्थ र परमपूण्य मात्र होइन, धर्मले राष्ट्र, समाज एवम् सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछ । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालाई अभिवृद्धि गर्न र आन्तरिक एवम् अन्तराष्ट्रिय सद्भावको प्रवद्र्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ भन्ने मेरो धारणा छ ।

सम्पूर्ण हिन्दु दर्शन एवम् संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरि हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबाटै नेपालले देवभूमि, तपोभूमि, योगभूमि भन्ने नाम पाएको छ । हिन्दु अनुयायीका आराध्यदेव पशुपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ । चारै वेद, उपनिष्द, अठार पुराण, भागवतगीता, रामायण, महाभारत आदि ग्रन्थहरु र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापुरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारीसम्मका उपज हुन् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा बौद्ध, किराँत, प्रकृतिपुजक, जैन, शिख आदि समष्ठिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभूमि हो ।

गुरु गोरखनाथको आशीर्वाद प्राप्त यो भूमिमा हामी एकत्र भएका छौँ । नेपाल हिन्दु, बौद्धहरुका लागि सधै प्ररणाको अक्ष्य स्रोत हो । आज हाम्रो धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनजागृत र सुसंस्कृत बनाउन एकबद्ध गर्नु पर्ने खाँचो देखापरेको छ । जनसुकै युग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ, त्यसैगरि असत्य, असत्य नै ! यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनुभव गरिआनएको कुरा हो । आफ्नो भाषा, इतिहास, धर्म, दर्शन र संस्कृति देशका धरोहर हुन्, वैभव हुन् र प्राण हुन् । यिनको समुचित रुपमा संरक्षण, संवद्र्धन र समादर गरेर नै आफ्नो मुलुकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हुनु परेको छ ।

हाम्रो दर्शनलाई नयाँ बाटो चाहिएको छैन। तर नयाँ सोच आवश्य चाहिएको छ। यस्तो सोच होस् जसले पुरानै बाटोमा हामी अगाडि बढ्न सकौँ । नयाँ दायित्व होइन तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसँग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतु होस् जसमा आस्था र विकासको जरा, मानवीय अनुभव र आत्मीयताले भरिभराउ होस् । कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौँ भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निमित्त अभिशाप सिद्ध भएका छन् । यस्तो विषम, जटिल र क्लिष्ठ परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व के के हुन्, भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नु पर्ने बेला भएको छ ।

सनातन धर्म, संस्कृति र सभ्यताको प्राचिन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौ वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशिलतालाई हृदयगम गरेर सबै मिलर अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौँ । राजर्षि जनककका आदर्श, बुद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौँ विद्वान र विदुषिहरुले देखाएको बाटो र हजारौँ वर्षदेखि हाम्रा पूर्वजबाट विरासतमा प्राप्त सद्गुण र सदविचार अनुशरण गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौँ । गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पुजक सनातन हिन्दु अनुयायीका रुपमा प्रश्न गर्न चाहन्छौँ कि विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवतखण्डको संरक्षण कसरी हुन सक्दछ ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र आध्यात्मको केन्द्र जोगाउने के सामुहिक दायित्व भित्र पर्दैन ?
तराईमा बसोवास गर्ने नेपालीहरु आफ्नो धार्मिक साध्य पुरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेषी र पाथिभरा जस्ता पवित्र तीर्थ स्थलसम्म पुग्छन् भने, हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको पवित्र धाम जनकपुर र लुम्बिनी रहेको छ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बुनेको छ ।

सनातनी हिन्दुहरु जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन् । जहाँ हिन्दु हुन्छन् । त्यहाँ शान्ति र सद्भाव हुन्छ । असत्यलाई निरुत्साहि गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्युनिकरण गर्न आह्वान गर्दछु । हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ । आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्बोधन गर्ने दायित्वबाट मानवजाती पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्पिएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष्य होइन र हुनु पनि हुँदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत् अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेका छन् ।

हाम्रो दर्शनले हामीलाई सधै अगाडि बढ्न निर्देशित गर्दछ तर व्यवहारमा निशेषको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउदछ । असन्तुलनले उपेक्षा जन्माउदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौ भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ । अन्त्यमाः बहुजन हिताय, बहुजन सुखायको मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौँ । श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरुन् ।
जय नेपाल ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com