प्रधानन्यायाधीश पराजुलीलाई न्यायसम्पादनबाट अलग बस्न न्यायाधीशहरूको सुझाव


प्रकाशित मिति : फाल्गुन २८, २०७४ सोमबार

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायसम्पादनबाट अलग हुन सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले सुझाव दिएका छन्।

न्यायाधीश चोलेन्द्रशमशेर जबराले डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकको अवहेलना मुद्दामा प्रधानन्यायाधीश पराजुलीसँग इजलासमा बस्न अस्वीकार गरेपछि अरू न्यायाधीशहरूले पनि उनलाई न्यायसम्पादनबाट अलग बस्न सुझाएका हुन्।

न्यायाधीश राणा इजलास अस्वीकार गरेर सर्वोच्चबाट निस्किएपछि बाँकी  न्यायाधीशले प्रधानन्यायाधीशलाई भेटेर छलफल गरेका थिए।

सामान्यत: न्यायालयमा गम्भीर घटना हुँदा प्रधानन्यायाधीशले ‘फुलकोर्ट’ डाकेर सबै न्यायाधीशसँग छलफल गर्ने र निर्णय लिने प्रचलन छ।  आजको भेट फुल कोर्ट भने थिएन।

स्रोतका अनुसार यत्रो विवाद आइसकेपछि अब प्रधानन्यायाधीशले पेशी तोक्न र न्यायसम्पादन गर्न नहुने जिकिर ति न्यायाधीशहरुको थियो।

‘उहाँले फुलकोर्ट बोलाउनु भएन। हामी आफैं गएर कुरा राख्यौं,’  एक न्यायाधीशले भने, ‘उक्त बैठकमा केही न्यायाधीशले न्यायसम्पादबाट अलग बस्न गोपाल पराजुली ज्यूलाई सुझाएका थिए।’

डाक्टर केसीको मुद्दामाथि यसअघिकै इजलासले पराजुलीका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरू छानविनका लागि मगाएपछि उनी एक पक्ष भएकाले यो मुद्दा हेर्न हुँदैनथ्यो भन्ने ती न्यायाधीशहरूको जिकिर थियो।

‘यस्तो अवस्थामा हामीले तपाईंलाई कजलिष्ट तोक्न, न्यायसम्पादनबाट अलग बस्न सुझाव दिन्छौं भन्ने कुराहरू पनि त्यहाँ आएका थिए,’ ती न्यायाधीशले भने।

स्रोतका अनुसार डाक्टर केसी र कान्तिपुरकै मुद्दा हेरिरहेका ७ मध्ये अर्का एक न्यायायधीशले पनि उक्त भेटमा प्रधानन्यायाधीशलाई निकास दिन भनेका थिए।

‘न्यायलय चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै उहाँले प्रधानन्यायाधीशबाटै निकास आउनुपर्ने कुरा गर्नुभयो,’ स्रोतले भन्यो।

प्रधानन्यायाधीश पराजुलीले सबैका कुरा सुनेपछि एउटा सर्तमा आफूले निकास दिने बताएको अर्का न्यायाधीशले जानकारी दिए।

‘तपाईंहरूले फुलकोर्टबाट चोलेन्द्र श्रीमानको कदमविरुद्ध बोल्नुहोस् त्यसपछि मैले एउटा निकास दिन्छु,’ प्रधानन्यायाधीश पराजुलीलाई उदृत गर्दै ती न्यायाधीशले भने, ‘तपाईंहरूले मलाई बाहिरबाट आक्रमण हुँदासमेत  साथ दिनुभएन।’

चिया ब्रेकमा बसेको उक्त भेट साढे तीन घन्टासम्म चलेको थियो।

यसअघि अाजै न्यायाधीश जबराले  प्रधानन्यायाधीश पराजुली गत साउनमै अवकास हुनु पर्ने भएपनि उनले कागजात मिलाएर अहिलेसम्म सेवामा रहेको बताउँदै पराजुलीसँगको बेन्च बहिष्कार गरेका थिए। ब

बेन्च बहिष्कार गर्दै उनले भनेका थिए, ‘यो मुद्दामा मेरो फरक राय छ। हिजो हामीले प्रधानन्यायाधीशका सबै कागजात र प्रमाणपत्र हे¥यौं, शारदा माविदेखि त्रिभुवन विश्वविद्यालयसम्म सबै प्रमाणपत्र अध्ययन गर्यौं। प्रमाण पत्र हेर्दा उहाँका फरक फरक जन्ममिति भेटिए।’

प्रधानन्यायाधीश पराजुलीका कागजात अध्ययन गर्दा उनका तीन वटा जन्म मिति देखिएको न्यायाधीश राणाले बताए।

उहाँका कागजात हेर्दा २००९ साउन, २०१० वैशाख र २०११ साउन गरी तीन वटा जन्ममिति भेटिए। यी तीनमा १ वर्षभन्दा बढीको अन्तर छ,’ न्यायाधीश राणाले भने, ‘न्याय परिषद् ऐनले पनि फरकफरक जन्ममिति भेटिएको अवस्थामा जुन सबैभन्दा अघिल्लो छ त्यसैलाई कायम गर्नुपर्ने भन्छ। त्यसअनुसार उहाँले गत साउनमै अवकाश पाउनु पर्ने हो।’

न्यायाधीश राणाले प्रधानन्याधीश पराजुलीले भने आफैंले न्याय परिषदबाट फरक उमेर कायम गरी अहिलेसम्म सेवामा रहिरहेको बताए।

‘हामीले पहिला यो कुरा थाहा पाएनौं। अहिले थाहा भयो। यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिनँ,’ न्यायाधीश जबराले भने, ‘निवृत्त भैसकेको व्यक्तिले तोकेको इजलासमा बस्न कानूनी तथा नैतिक हिसाबले नमिल्ने देखिएको हुँदा सोही बमोजिम आदेश गर्ने निर्णय गरेको छु।’

राणाले अबदेखि आफू पराजुलीसँग बेन्चमा नबस्ने भन्दै इजलास बहिष्कार गरे।

प्रधानन्यायाधीशको नेतृत्वको पूर्ण इजलास कुनै न्यायाधीशले बहिष्कार गरेको नेपाली न्यायीक इतिहासमा यो पहिलो घटना हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com