लण्डनमा नेपाली महिलासँग जोआना लुम्लेले मनाइन् नारी दिवस


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

गोर्खा आन्दोलनकी एक सहयोगी अभियन्ता लोकप्रिय बेलायती अभिनेत्री जोआना लुम्लेले नेपाली महिलासँगै नारी दिवस मनाइन्।

लण्डनस्थित नेपाली दूतावासमा आयोजित नारी दिवस कार्यक्रममा बेलायतका सयौं नेपाली महिलामाझ अभिनेत्री लुम्ले सहभागी बनिन् ।

त्यस अवसरमा सम्बोधन गर्दै अभिनेत्री लुम्लेले नेपालसहित सिंगो विश्वमा क्रमशः महिलाहरुको अवस्था सुधार हुँदै गएको धारणा राखिन्। समस्याहरु बुझ्न र समाधान गर्न सिकाइ जरुरी छ भन्दै उनले सिक्ने हरेक अवसरहरु उपयोग गर्न महिलाहरुलाई आव्हान गरिन् ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालमा महिलाहरुको अवस्था क्रमिक रुपमा सुधार भएको  उल्लेख गरे। लण्डन दूतावासले हरेक वर्ष तीज र नारी दिवस गरी दुई पटक महिलाका लागि कार्यक्रम गर्दै आएको उनले स्मरण गरे। दूतावासलाई बेलायतका सबै नेपाली महिलाको माइतीघर बनाउने उनको भनाइ थियो।

राजदूत पत्नी पुनम राज्यलक्ष्मी सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन्। गायिका मिरा राणाले गीत प्रस्तुत गरिन्।

अन्य केही कलाकारले गीत तथा नृत्यहरु समेत प्रस्तुत गरेको कार्यक्रमको अन्त्यमा अभिनेत्री लुम्ले पनि सहभागी महिलाहरुसँगै नेपाली गीतमा नाचेकी थिइन्।

तस्बिर मिलन तमु

Source : Setopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com