श्रीमानबाट बलात्कार प्रयास, श्रीमतीबाट कुटपिट


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

–इन्दिरा भट्टराई–

विराटनगर । आफूमाथि भएको बलात्कारको प्रयास विरुद्ध प्रहरीमा उजुरी दिएका कारण बुढीगंगा गाउँपालिकामा एक महिला पिटिएकी छन् । बुढीगंगा ३ मा डेरा गरि बस्दै आएकी २३ वर्षीया महिलाले बलात्कारको प्रयास गर्ने आफ्नै घरबेटी विरुद्ध प्रहरी उजुरी दिएका कारण पिटिएकी हुन् ।

गएको विहीबार घरका अन्य सदस्य नभएको मौका छोपी आफूलाई घरबेटीले बलात्कारको प्रयास गरेको भन्दै पीडितले आइतबार प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आइतवारै पीडकलाई पक्राउ गरेको थियो ।

उजुरी पछि डेरा गएर बसेका पीडित, उनका श्रीमान र छोरालाई समेत पीडककी श्रीमती र गाउँलेहरूले मंगलवार कुटपिट गरेका छन् । उनीहरूको कुटपिटबाट पीडितका श्रीमान र डेढ वर्षीय छोरा घाइते भएका छन् । आफ्नो श्रीमानलाई झुटो आरोप लगाएको भन्दै पीडककी श्रीमतीले कुटेपछि अन्य गाउँलेहरूले समेत कुटेको पीडितको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको मोरङ जिल्ला प्रहरी प्रमुख एसपी अरुण विसीले जानकारी दिए । कुटपिटमा संलग्न भएकी महिलालाई बुधबार जनप्रतिनिधीहरूले जिल्ला प्रहरी कार्यालय ल्याएका थिए ।

एसपी विसीले कुटपिट गर्ने पीडकको सानो बच्चा भएकाकारण उनलाई छलफल गर्ने गरि प्रहरीले घर पठाइदिएको बताए ।

एसपी विसीले आफूमाथि बलात्कारको प्रयास भयो भनेर न्याय माग्न उजुरी गरेकै कारण फेरि कुटपिट हुनु दुखद् भएको भन्दै अनुसन्धान पछि पिडकलाई कारवाही हुने बताए ।

बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलक मण्डलले प्रहरीले निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com