नारायणगढ मुग्लिन सडक शनिबारदेखि बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२, चितवन । रातको समयमा ६ घण्टा बन्द गरेर भित्तो काट्ने काम हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि भने दिउँसो ६ घण्टा बन्द गरिने भएको छ। रातिको काम प्रभावकारी नभएकाले दिउँसो बन्द गरेर भित्तो काट्ने कामलाई तीव्रता दिन लागिएको हो। नारायणगढ मुग्लिक सडक आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर कामलाई तीव्रता दिन शनिबारदेखि बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म सडक बन्दगरेर भित्तो काट्ने जनाएको छ। आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिको काम   प्रभावकारी हुन नसकेकाले दिउँसोमा बन्द गरेर काम तीव्र पार्न खोजिएको बताए।

बन्द हुने भएपछि शुक्रबार राति भने बन्द नहुने जनाइएको छ। गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिंदै आइएको छ। रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौं लाग्ने गरेको छ। जसका कारण दिनको काम पनि प्रभावित भएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए। सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाडामा भित्तो काट्ने काम बाँकी रहेको छ। हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार सो समयमा चितवनबाट जाने यात्रुबाहक सवारीलाई दासढुंगामा र ट्रकलाई भतेरी जंगलमा रोकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com