Follow @khasokhasmag

कथा : खीर


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

– इन्द्रबहादुर राई

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिएनँ । घटना -घटना नै भनुँ) यस्तो भएको थियो : हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथा हुँदो धेरै ठाउँ र उपन्यासमा पनि धेरै नै पल्ट पढिसकेको लेखिसकेको भए पनि साँच्चै टिस्टाले बहँदै कराएको मैले धीत मारेर सुन्न पाएको थिइनँ । मध्यदिन र मध्यरातमा स्वाँ…….. लामो ढाक्दो आवाज गरेर टिस्टा खोला बास्छ भनेर पनि बर्खा र हिउँदोमा त्यसको बगरतिर काम गर्न जानेदेखि एकछिन उत्रेर पुलमा पुगेको, पानीमा मास्तिर तल्तिर हेरिपठाएको, त्यतिले टिस्टाको आवाज सुन्ने मेरो तुष्णा र भोक अतृप्त नै रहेको थियो ।

महान् भन्न मनलाग्ने हरियो-नीलो जलराशिको बग्दो फैलावट माथिका सुप्तझैं बालुवाहरुमा अनेकौ विगतका करङहरू कोरिएर रहेको, हावाको वेगले पंखा लागेर वरपरका जम्मै झार-जंगलहरू हल्लिरहेको कल्पनाबीच टिस्टाको हररर-भित्र कतै छुट्टै छलललको आवाज, कतै भिन्दै भुरुरुरु-हरु पनि भएको र बजेको याद आउँथ्यो…..।

गान्तोकबाट फर्किएको त्यस दिन त्यसै र त्यहीँ टिस्टामा मैले बास पारेको थिएँ । डाकबंगलाका कोठाहरु मर्मत गरिंदै रहेछ । मलाई दिएको कोठा पनि हालै चुना पोतिएको आलो गन्धको र चहकिलो सेतो थियो । छेवैको सेटको कोठामा जम्मै डाकबंगला मर्मत गर्ने बढाई, राज, रंगवाला र कुल्लीहरुले डेरा बनाएका रहेछन् । र, तिनीहरु नै हुन् यस कथाका घटना । विशेष दिन बनाएर आज तिनीहरु कोठाभरि थुप्रैका थिए, उछिनी-उछिनी कुरा गरिरहेका थिए, केही पकाइरहेका थिए र बात त्यैमाथि भइरहेको थियो, तिनीहरुले खीर पकाइरहेका थिए ।

खानेकुराको कुरा गरेको मन पर्दैन मलाई । तरै केही नलागेर सुनिरहेँ । दैलोदेखि बाहिर मध्यदिन बितिसकेको चकमन्नको उज्यालो थियो । पलंगमाथि बेडिंग फैलाएपछि फेरि फर्केर बाहिर हेर्दा एक्कासि बढ्ता बेलुका पसिहालेको अर्कै रंगको उज्यालो रुखका पात र हाँगाका अभेक ठाउँहरुलाई पनि छोइराख्न पुगेको थियो ।

‘खीर खानु नै हो भने, एक पावा चामललाई दुई सेर दूध चाहिन्छ’, ओढार परेका चङ्कला आँखाको चित्र दिने एउटा स्वरले किटान गरी-गरी भनिरहेको थियो- ‘यति हाम्रो चामललाई दश सेर दूध चाहिन्छ । कति सेर हाल्यौ ?’

‘कति सेर हाल्नु र ? चार सेर त हाल्या हो ।’ ’टिस्टाजस्तो जग्गामा चार सेर नाथु दूधको खीर खाएको, थुक्क ?’ त्यही अघिको स्वरले भन्यो । ’चार सेर दूध हालेको खीर ! ‘ पनि भन्यो : यस्तरी भन्यो जस्तो कि त्यो कुरा कुनै कालो फाटेको टालो हो र उचालेर सबलाई उसले देखाइ्रहेछ । ’खीर खानु नै हो भने, धेरै चिज चाहियो, एउटा बूढो-बुढो स्वर माथि चढ्यो- ‘पहिले त तिमीहरुको चामलै भएन । नुनिया चामल ल्याउनुपर्छ, मसिनो सलसल परेको……।’ ’अलुवा नै किनिसक्नु छैन रैछ । यहाँ ।’ गम्म परेको मान्छेको जस्तो स्वर बोल्यो- ‘रंगुने अलुवालाई पहाडे चामलसँग झुक्याएर के ।’

‘ठिक्क पहाडे बएर्नी जस्तै हुन्छ त्यो मुर्दा ।’ अर्कोले सघायो तत्कालै ।

‘चिज पाइयो र खीर खाने नै हो भनेदिखि भनेको,’ उसले नहारी भन्दै गयो- ‘नुनिया चामल पुरानो, कालो नुनिया अझ राम्रो, मग्मग बासना आउँछ । दश बाह्र सेर खाँट्टी दूधमा पकाउनू । पानी-दूध र पन्द्रह सेर लाग्छ । पाँच सेर पानी सुकाउनुलाई पकाउँदा-पकाउँदा चामल जति फुटेर सब लिटो भइसक्छ । खोले । मट्ठी पारेको जस्तो बाक्लो दूध छ भने सिता सग्लो सग्लै बसेको ठर्रो हुन्छ । खोले खीर त मुनि डढिसक्छ, भरे जम्मै डढेको गन्हाउँछ, मुनिको पर्नेलाई…… ।’

‘दाँत माझेको जस्तो हुन्छ,’ भन्यो कि के भन्यो अर्कोले मैले राम्रो सुनिनँ ।

एकछिनपछि अर्कै एक स्वर एक छेउदेखि उम्ल्यो – ‘दूध मात्रै ओइराएर हुन्छ ? पेश्ता चाहिन्छ, किसमिस, हाडे बादाम, दालचिनी, नरिवल, तेजपात, ल्वाङ जुटाउनुपर्छ । ठिक्कको धीमा आँचमा पकाउनुपर्छ । किसमिसपछि छोड्नु पर्छ । अगाडि छोड्दा फट्छ ।’

‘त्यो सब हालेर के हुन्छ ?’ एउटा उत्सुक सुरिलो स्वरले सोध्यो ।

‘स्वादको लागि ।’ -’बासनाको लागि ।’-‘तागतको लागि ।’ ‘झ्याउँ-झ्याउँती त्यसलाई सबले कराए ।

‘पल्केलास् ! ‘ अझै त्यही भत्र्सनाको रहलपहलजस्तो कसैले भन्दै थियो- ‘सपनातिर खीर खोजिहिंड्लास् । त्यसरी मन बुझाउलास् ।’

‘त्यसरी यहाँ खीर पकाएको छ भने वासना उः पर बाटोमा हिंड्नेको नामका लाग्छ,’ अर्कोले भन्यो ।

याद गरेर यति बेला मैले तिनीहरुको खीरको बासना सुँध्ने बल गरेँ, पटक्कै पाएको जस्तो लागेन ।

‘तेरो खीर, यहीं बसेको हामीलाई त बासना आउँदैन ।’ बूढोले भनि पनि हाल्यो । ‘क्यै नहेरी, गज्जबकै खीर खाउँभन्दा तिमी नै पैसा निकाल्नु मान्दैनौ,’ प्रतिवादमा आयो उत्तर चोरेर होस्, कमाएर होस्, अर्काको ऋण नतिरेरै होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्छ, बाँचिरहनु सम्नुपर्छ ।’

सबजना सामसुम भए ।
त्यही सामसुमलाई म पनि रुङरिहेको रहेछु । विरोधमा उठेर म आहट दिँदै यता कोठामा टहल्नु थालें । फेरि मेरो उपस्थितिको यो घोषणाले ठूलो ढुंगा लडेर आएकोलेझैं उनीहरुको बातचीतको खोलालाई अलि अर्कैतिर फर्काइदियो ।

‘सब चिज जुटाएर मात्रै कहाँ हुन्छ, पकाउने सिप हुनुपर्छ’ एउटाले थाल्यो, सेतो वाफजस्तो ।

‘जैलेसुकै खीर खाएर पनि त भएन, समय पारेर, आफूलाई विचारेर खानु पर्‍यो,’ अर्कोले थप्यो ।

‘उसो भए मुस्किल रैछ खीर खान !’ तेस्रोले तीतो करायो- ‘असम्भव रैछ ।’ हाँसो अलि-अलि रोक्न नसकी मैले बाहिर हेरें । सब सामान्यजस्तै थियो । साँझका काला रुखहरु नहल्ली उभिरहेका थिए ।

‘चलाउ-चलाउ, ऐले डढ्छ यै पनि ! ‘
‘पाक्यो होला, अब त ।’
‘पाक्यो, पाक्यो !’
‘त्यतिको पाकेकै हो,’
‘पाकेछ-पाकेछ,’ भएर भाँडा उतारियो । अलि परपर सबैजना हटेको र एक दुईले ठाउँ रोजेर ओगटेको अनुमान आयो ।
खाँदा खाँदै एकजनाले सोध्योः
‘के-के गन्हाएको जस्तो लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
‘दाउरा हो दाउरा, अग्गिदेखि म खुब याद गर्दैछु ।’ कुन्नि कसले भन्यो । शंका मर्दै बौरँदै गरिरह्यो ।

‘चिनी लागेनछ ।’ भनेर एकजनाले एक-दुई कदम हिँडी चिनी ल्याई आफ्नो भागमा छर्‍यो ।

‘खीर’ मा खानु नै हो भने,’ फेरि त्यही सुरुमा पकाउने मान्छे खाँदै बोल्दै थियो- ‘चिनी होइन, खीरमा गुँड हाल्नुपर्छ । रंग निस्किन्छ ।’

‘गुँड पनि कालो गुँड होइन, खजुरको पाना-पाना परेको सफा गुँड हालेको मात्रै रसिलो हुन्छ ।’ दोस्रोले लगत्तै सुधार्‍यो- ‘कालो गुँड हालेको त कसरी खानु, छयाः ।’

‘छयाः है, कति खानुको कुरा गरेको ? कति दिनमा के खीर खाएको हो होइन, बडे-बडे कुरा हाँकेर…. मलाई त कुरीकुरी लागिसक्यो ।’ यो भन्नेले यता मलाई सुनाएर ग्लानि कम गर्न खोजेको थियो मैले बुझेँ ।

एक-दुई गाँसमा तिनीहरु व्यस्त भए ।

‘चिनी हालेको गुलियो दूध-भात जस्तो मात्रै भछ ।’ मोटो स्वरले भन्दा जम्मै तिनीहरु एक्कासि हाँसिनिस्के । पकाउनु सिपालु स्वर सबभन्दा लामो हाँसिरहृयो । उसले रोकिदै हाँस्दै गर्दा सँगै अरुहरु फेरि हाँसे ।

आज चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरुले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछः जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै-थुप्रै आदर्शहरु हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरुले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरुकै खीर जस्तो भइरहन्छ । जुन तिनीहरुले कुरा गरेको आदर्श खीरको व्यंग्य जस्तो मात्र थियो ।

जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ?

(सांग्रिला बुक्सबाट प्रकाशित इन्द्रबहादुर राईका प्रतिनिधि कथा संग्रहबाट) 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com