‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिन: प्रचण्ड’


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भावी सरकारको नेतृत्व गर्न आफूलाई नेपाली कांग्रेसबाट प्रस्ताव आएको बताउँदै आफूले त्यो अस्वीकार गरिदिएको बताएका छन्।

पार्टीको बैठकमा प्रचण्डले त्यस्तो बताएको उनको दलका एकजना नेताले बीबीसीलाई जानकारी दिए।

तर प्रधानमन्त्री शेरबहादुर देउवा निकट कांग्रेसका एकजना नेताले आफ्नो दल प्रतिपक्षमा बस्ने बताउँदै उक्त कुरा अस्वीकार गरेका छन्।

चुनावी परिणामपछि पहिलोपटक प्रमुख नेताहरु रहेको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले त्यस्तो प्रस्ताव राखेको जानकारी दिएका हुन्।

आलोचना

बैठकका एकजना सहभागी नेता अग्नि सापकोटाले भने, “कांग्रेसको तर्फबाट आधिकारिक रुपमै पार्टी सभापति तथा प्रधानमन्त्रीले ‘हामी सघाउँछौं, तपाईँ प्रधानमन्त्री बनेर मज्जाले पाँच वर्ष सरकार चलाउनुस्’ भन्नु भएको कुरा अध्यक्षले राख्नुभयो।”

देउवा निकट एकजना कांग्रेस नेताले प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउन कांग्रेस तयार रहेको धारणा हालै सार्वजनिक गरेका थिए जसको कांग्रेसकै कतिपय नेताबाट आलोचना भएको थियो।

नेता सापकोटाका अनुसार चुनावबाट वाम गठबन्धनको जनमत आएको भन्दै आफूले देउवाको प्रस्ताव अस्वीकार गरिदिएको जनाएका थिए।

प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, “बलियो र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुस्, विकासको निम्ति एक भएर अघि बढ्नुपर्छ भनेर मैले प्रधानमन्त्री देउवाको प्रस्ताव अस्वीकार गरिदिएँ भन्नुभयो।”

बैठकतस्वीर 

देउवाले उक्त प्रस्ताव कहिले राखेका थिए भन्ने प्रचण्डले खुलाएनन्।

गन्ध

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई शनिबार भेटेका थिए।

तर उक्त भेटमा राष्ट्रियसभाको गठन र त्यसबारेको अध्यादेशबाहेक कुनै कुरा नभएको देउवा निकट नेताको भनाइ छ।

कांग्रेस नेता बालकृष्ण खाँडले भने, “सरकार निर्माणबारे प्रधानमन्त्रीसँग कुनै नेताको कुरा भएको छैन। त्यस्तो प्रस्ताव राखेको भन्ने कुरा गलत हो। कांग्रेस प्रतिपक्षमा बस्छ। सत्तामा उसको चासो छैन।”

वाम गठबन्धन बनाएका माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको लक्ष्य छ।

गठबन्धनका कतिपय नेताले आफूहरुभित्रै र बाहिरबाट त्यसलाई विफल तुल्याउने प्रयास हुनसक्ने आशंका गर्छन्।

‘नयाँ सरकार गठन र पार्टी एकता सँगै गर्नुपर्ने’ माओवादीको बैठकको निर्णयमा एकथरीले त्यही खेलको गन्ध पाएका छन्।

तर अर्का थरीले एकतासँगै शक्ति बाँडफाँटलाई सम्मानजनक बनाउने स्वाभाविक कदमको रुपमा अर्थ्याएको पाइन्छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com