यसरी चुनिनेछन् राष्ट्रियसभा सदस्य


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

के तपाईलाई नेपालका राष्ट्रिय सभाका सदस्यहरु कसरी चुनिनेछन् भन्ने जानकारी छ ? छैन भने हामी तपाईलाई यसबारे जानकारी गराउँदैछौं ।

राष्ट्रिय सभा निर्वाचनमा मतदाताहरुले निर्वाचित हुने सदस्यको संख्या अनुसार उम्मेदवारहरुलाई क्रमश: प्राथमिकताका आधारमा मत दिन्छन्। गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्य गरी २०५६ जना मतदाता हुनेछन्।

गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख प्रत्येकको मतभार १८ छ। प्रदेशसभाका सदस्यको चाहिँ ४८ छ।

तीन जना चयन गर्नुपर्ने हो भने उम्मेदवारहरुमध्ये तीन जनालाई नै मतदाताहरुले १, २ र ३ गरी प्राथमिकताका आधारमा मत खसाल्छन्। निर्वाचित हुनका लागि निश्चित मतसंख्या अर्थात् कोटा तोकिन्छ।कोटाभन्दा बढी मत ल्याएका उम्मेदवारहरुको वा जित्ने सम्भावना नै नहुने गरी कम मत ल्याएका उम्मेदवारहरुको मत दोस्रो प्राथमिकताको उम्मेदवारमा हस्तान्तरण हुन्छ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ, आठ गरी ५६ जना निर्वाचित हुने र सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना सदस्य मनोनित गर्ने व्यवस्था छ। त्यसरी प्रत्येक प्रदेशबाट निर्वाचित गर्दा तीन जना महिला, एक दलित र अर्का एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक हुनुपर्ने बाध्यात्मक व्यवस्था छ।

तर पहिलो प्राथमिकताको उम्मेदवारले तोकिएको भन्दा बढी मत पाए दोस्रो प्राथमिकताकोमा मत सर्ने भएकाले एक, एक जना सदस्यमात्रै निर्वाचित गर्नुपर्ने अवस्थामा भने समस्या हुने देखिन्छ । दलित र अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एक, एक जनामात्रै चुनिने भएकाले त्यसमा एकल संक्रमणीय प्रणाली अपनाउन मिल्दैन। पहिलो हुनेले जित्ने प्रणाली नै अपनाउनुपर्छ।

 

संवैधानिक व्यवस्था

 

८६. राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि :

(१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ ।
(२) राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन्ः–

(क) प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानून बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरीे निर्वाचित छपन्न जना,

(ख) नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना ।

(३) राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।

(४) यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरूको पदावधि प्रारम्भ भएको मानिनेछ ।

(५) राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरीकाले भएको थियो सोही तरीकाले बाँकी अवधिका लागि गरिनेछ ।

(६) राष्ट्रिय सभाका सदस्यको निर्वाचन सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com