कूटनीतिक संघर्षमा प्रचण्ड विजयी


प्रकाशित मिति : आश्विन ५, २०७३ बुधबार

संविधानको एक वर्ष पुगेको मितिबाट राष्ट्रिय राजनीति सहज बाटोमा हिंड्ने शुभ लक्षण देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिमा देखिएको गतिरोध र जटिलता हटाउन कम्मर कसेका छन् । उनी संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका थिए, त्यो भ्रमण पनि रद्ध गरेका छन् । संविधान दिवसकै दिन पारेर उनले विभिन्न पक्षसँग संवादको थालनी गरेका छन् । उनले सोमबार सर्वदलीय वैठक बोलाएका थिए तर प्राविधिक कारणले रद्ध भएको छ । उनले चाँडै सर्वदलीय र विभिन्न पक्षसहितको वैठक बोलाउने भएका छन् ।
संविधान दिवसका दिन आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान संशोधन गरेर असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रचण्डको ठाडो शिर

भारत जानुअघि प्रधानमन्त्री प्रचण्डले कुनै विवादास्पद सन्धि सम्झौता गर्दिन भनेका थिए । तैपनि भारतीय दवाबका अगाडि उनी झुक्छन् कि भन्ने आशंका धेरैले गरेका थिए । तर, प्रचण्डले यो भ्रमणबाट नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएका छन् । नेपाल भारत सम्बन्ध र कूटनीतिको गहिरो ज्ञान राख्नेहरुको दावी छ– यो भ्रमणमा प्रधानमन्त्री प्रचण्ड नेपालको हातमाथि पारेर आए । प्रचण्डले स्वदेश फर्कनासाथ त्रिभुवन विमानस्थलमा आत्मविश्वासका साथ भने– भ्रमण सफल भएको छ, दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।

भारतले नयाँ संविधानको विरोध गर्दै नेपाललाई नाकावन्दी समेत गरेको थियो । नयाँ संविधानलाई स्वागत गर्न भारतले इन्कार गर्दै आइरहेको थियो । अब त्यो अवस्था रहेन । भारतलाई कन्भिन्स गर्न प्रधानमन्त्री प्रचण्ड धेरै हदसम्म सफल भएका छन् । अघिल्ला प्रधानमन्त्री केपी ओली संविधानको विरोधमा संयुक्त विज्ञप्तिमा बुँदा राख्न नमानेपछि संयुक्त विज्ञप्ति नै जारी नगरी स्वदेश फर्किएका थिए । तर, यसपटक संयुक्त विज्ञप्तिमा घुमाउरो भाषामा नेपालको संविधानलाई स्वागत गर्न र स्वीकार गर्न भारत बाध्य भएको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको सर्वस्वीकार्यताका लागि सबै पक्षसँग छलफल भइरहेको भनेको र त्यसमा भारतीय प्रधानमन्त्रीले त्यस्तो प्रयासको समर्थन गरेको वाक्यांश संयुक्त विज्ञप्तिमा परेको छ । नेपालको संविधानप्रति सकारात्मक भाव झल्कने शब्दावली हाल्न भारत तयार हुनु भनेको नेपालको हात माथि पर्नु हो । नेपालको हात माथि पर्दा ‘राष्ट्रघात’ भयो भन्नेहरुले अहिले हल्लाखल्ला मच्चाइरहेका छन् ।

ओलीले सकेनन्, प्रचण्डले सके

प्रधानमन्त्री प्रचण्ड भारत पुग्नासाथ एमालेका नेताहरुले धुवाँधार पाराले प्रचण्डले राष्ट्रभात गरे भन्दै प्रचार गरे । पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी जस्तो जिम्मेवार पदमा बसेका केपी ओली समेत गोयवल्स शैलीमा उखानतुक्का भन्दै राष्ट्रघात भएको प्रचारमा भिडेका छन् । उनको भनाइ छ– प्रधानमन्त्री प्रचण्डले भारतमा संविधानबारे छलफल गरे । ओलीको पालामा पनि भारतमा संविधानबारे छलफल भएको थियो । छलफलपछि ओलीले भने अनुसार नेपालको पक्षमा कुनै वाक्य राख्न तयार भएन । त्यसपछि ओली संयुक्त विज्ञप्ति जारी नगरी फर्किएका थिए । प्रचण्डले चाहिँ भारतलाई मनाए । संविधानको विरोध होइन समर्थन झल्कने वाक्यांश हाल्न लगाउन प्रचण्ड सफल भए । प्रचण्ड सफल हुनु भनेको देश सफल हुनु हो । नेपालको संविधानको विरोध गरिरहेको र संविधानको विरोधमा नाकावन्दी समेत गरेको देशलाई चुप लगाउने तथा लगभग संविधानको पक्षमा ल्याउने काम कसरी राष्ट्रघाती हुन्छ ? अब ओलीहरुले जवाफ दिनुपर्ने हुन्छ ।

ओलीले भारतसँगको सम्बन्ध पूरै भत्काएका थिए । भारतले नाकावन्दी गरेर नेपाललाई अत्याचार गर्दा ओलीले खोक्रो भाषण मात्र गरे, भारतलाई कूटनीतिको मैदानमा परास्त गर्न या मनाउन केही गर्न सकेनन् । तर, प्रधानमन्त्री प्रचण्डले कूटनीतिको मैदानमा कमाल देखाएका छन् । विरोधी बन्दै गएको भारतलाई मित्र बनाउन सफल भएका छन् । यद्यपि, भारतको आगामी दिनमा भूमिका के हुन्छ भन्न सकिन्न । प्रचण्डको भ्रमण क्रममा भने भारत पूरै मित्रवत भएर प्रस्तुत भएको छ ।

विश्व संस्थाहरुमा तथा विश्व घटनाहरुमा दुई देशको समान दृष्टिकोण रहेको वाक्यांश पनि संयुक्त विज्ञप्तिमा परेको छ । यसलाई पनि एमालेको गोयवल्स विभागले अतिरंजित र गलत ढंगले प्रचार गरिरहेको छ । त्यसो भन्नु भनेको नेपालको वैदेशिक मामिला भारतको हातमा सुम्पनु हो भन्ने उनीहरुको कुतर्क छ । तथ्य चाहिँ के हो भने दुई देशको मित्रता झल्काउन यस्तो भाषा र वाक्य नेपाल भारतबीच मात्र नभएर अन्य देशहरुबीच पनि प्रयोग हुन्छ । विगतमा एमालेका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे भारत जाँदा पनि ठीक यही भाषामा विज्ञप्ति जारी भएको छ । तथ्य यस्तो हुँदाहुँदै पनि एमालेले अतिरंजित प्रचार गरिरहेकोमा कूटनीतिकवृत्त समेत आश्चर्यचकित भएको छ ।

अब एमालेको परीक्षा

एमाले स्रोतहरुका अनुसार बाहिरबाहिर ठूला र चर्का कुरा गरे पनि एमाले भित्रभित्रै रक्षात्मक अवस्थामा पुगेको छ । खासगरी संविधान संशोधनको मामिलामा उसले विगतमा व्यवहारमा एकथोक र मुखले अर्काेथोक गर्दै आएको थियो । संविधान संशोधन गरेर समाधानमा जाने भनेर उसले विभिन्न पक्षसँग सहमतिमा हस्ताक्षर समेत गरेको थियो । अहिले आएर राष्ट्रिय राजनीतिलाई झन् जटिलतामा फसाउन ऊ संविधान संशोधन प्रक्रियाबाट भाग्न थालेको छ । दलहरुबीचको वैठकमा एमाले बोल्न र जवाफ दिन पनि नसक्ने अवस्थामा छ । त्यसैले प्रधानमन्त्रीले बोलाएको बैठकमै नजाने, भागीभागी हिँड्ने तर बाहिर सार्वजनिक रुपमा चाहिँ चर्का कुरा गर्ने द्वैद्य चरित्र एमाले नेताहरुले देखाइरहेका छन् ।

स्रोतहरु अनुसार अब चाँडै नै एमालेसहितका दलहरुलाई संविधान संशोधनमा औपचारिक धारणा माग्नेछन् । मुख्य प्रतिपक्षी एमालेले औपचारिक धारणा ल्याएन भने सहमति हुने दलहरुसँग मिलेर संविधान संशोधन विधेयक संसदमा दर्ता गर्नेछन् । विधेयक दर्ता गरेपछि त्यसमा औपचारिक धारणा राख्न एमाले बाध्य हुने प्रधानमन्त्रीको टिमको आँकलन रहेको बझिन्छ । एमालेले औपचारिक धारणा राखेपछि एमाले राजनीतिमा बाधक कि साधक भन्ने प्रष्ट हुने सत्तापक्षको धारणा छ । तर, एमालेको कुटिल चरित्र नियालिरहेका कतिपय जानकारहरु भने संशोधन विधेयक संसदमा दर्ता भयो भने पनि एमालेले अनेक बहाना गरेर विधेयक नै बहिष्कार गर्नसक्छ । त्यसो ग¥यो भने एमाले जनतामाझ झन् नांगिने निश्चित छ । समयवद्धबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com