न्युयोर्कमा आइस एजेन्टको गोली प्रहारबाट एक व्यक्ति घाइते, मेयर मामदानीद्वारा ट्रम्पसँग कारबाही रोक्न माग


प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार

Photo: Barthel Joseph/Unsplash

बिहीबार दिउँसो न्युयोर्क सिटीको ब्रोन्क्स क्षेत्रस्थित मार्बल हिलमा अमेरिकी आइसका एक एजेन्टले गाडीभित्र रहेका एक व्यक्तिमाथि गोली प्रहार गरेका छन्।

मेयर जोहरान मामदानीका अनुसार, घटना हुँदा ती व्यक्तिको कारभित्र पाँच वर्षका एक बालक पनि थिए। यद्यपि, बालक भने शारीरिक रूपमा पूर्ण रूपमा सुरक्षित रहेका छन्। गोली लागेका ती व्यक्तिको पहिचान खुलेको छैन भने घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको छ। न्युयोर्क पुलिस विभागले ती व्यक्ति होसमा रहेको जनाएको छ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेकयुरिटीले डोमिनिकन रिपब्लिकका एक कागजातविहीन पुरुषलाई लक्षित गरी उक्त अपरेसन चलाइएको दाबी गरेको छ। साथै, ती व्यक्तिको आपराधिक पृष्ठभूमि र आपराधिक गिरोहसँग आबद्धता रहेको आरोप लगाइएको छ, तर मन्त्रालयले यसको कुनै ठोस प्रमाण प्रस्तुत गरेको छैन।

मेयर मामदानीले यस घटनाको कडा शब्दमा निन्दा गर्दै राष्ट्रपतिसँग कुरा गरी सहरमा सबै आइसका गतिविधिहरू बन्द गर्न माग गर्ने बताएका छन्। घटनालगत्तै त्यस क्षेत्रमा विरोध प्रदर्शनहरू सुरु भएका छन् भने स्थानीय अधिकारीहरूले आप्रवासीमाथि भइरहेको बल प्रयोगको विरोध गरेका छन्।

ट्रम्प प्रशासन सत्तामा फर्किएयता अमेरिकी आप्रवासन अधिकारीहरूले दुई दर्जनभन्दा बढी मानिसमाथि गोली चलाइसकेका छन्, जसमा तीन जना अमेरिकी नागरिकको मृत्युसमेत भइसकेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com