नेपाललाई एउटा देश रोज्न दबाब हैन, आर्थिक विकल्प दिन चाहन्छौं : अमेरिकी अधिकारी
प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार
अमेरिकी विदेश मन्त्रालयका राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कमा भेटवार्ताका क्रममा। फोटो: राजन काफ्ले/खसोखास
न्युयोर्क — अमेरिकाले नेपाललाई वासिङ्टन, बेइजिङ र नयाँदिल्लीमध्ये कुनै एक पक्ष रोज्न दबाब दिने नीति नरहेको जनाएको छ। बरु नेपाललाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप विकल्प उपलब्ध गराउँदै द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध विस्तार गर्न चाहेको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले खसोखासलाई बताएका छन्।
नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढिरहेका बेला अमेरिकाले नेपालको सार्वभौम निर्णयमा हस्तक्षेप नगरी आर्थिक तथा व्यावसायिक अवसर विस्तार गर्न चाहेको ती अधिकारीले बताए।
“बंगलादेशको जस्तै, मलाई लाग्दैन कि हामी कुनै पनि देशमा गएर ‘तपाईंले एउटा रोज्नुपर्छ’ भनेर भन्नेछौं,” नेपालले भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा राख्दा नेपालको सार्वभौमिकतालाई अमेरिकाले कसरी हेर्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने।
“तर हामी के गर्न चाहन्छौं भने विकल्पहरू उपलब्ध गराउन चाहन्छौं,” उनले भने। “विशेषगरी नेपालको हकमा, हामी हाम्रो व्यावसायिक संलग्नता बढाउन निकै इच्छुक छौं।”
अमेरिकाले नेपालसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन लगानी र व्यावसायिक सम्बन्धलाई महत्वपूर्ण क्षेत्रका रूपमा हेरेको पनि उनले बताए।
“यस वर्ष पहिलोपटक नेपालले—मलाई लाग्छ, गत वर्ष उनीहरूले विदेशमा लगानीसम्बन्धी आफ्नो कानुन संशोधन गरेका थिए—‘सेलेक्टयूएसए’मा नेपाली प्रतिनिधिमण्डल पठायो,” उनले भने। ‘सेलेक्टयूएसए’ अमेरिकी वाणिज्य मन्त्रालयले आयोजना गर्ने लगानीसम्बन्धी कार्यक्रम हो।
उनका अनुसार नेपालबाट नेपाली प्रतिनिधिमण्डलको सहभागिता अमेरिका–नेपालबीच लगानी सहकार्य विस्तार गर्ने दिशामा महत्वपूर्ण प्रारम्भिक कदम हो।
“नेपालमा लगानी कसरी गर्ने भन्ने सन्दर्भमा यो पहिलो कदम हो,” उनले भने। “हामी अझ राम्रो व्यावसायिक वातावरण र व्यापारिक माहोल बनाउन चाहन्छौं। हामी आफ्ना कम्पनीहरू नेपालमा गएको देख्न चाहन्छौं र नेपाली कम्पनीहरू अमेरिकामा आएको पनि देख्न चाहन्छौं।”

नेपालले आफ्ना दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलनमा राख्न गरिरहेको प्रयासबारे सोधिएको प्रश्नमा अमेरिकी अधिकारीले नेपालको जटिल भूराजनीतिक अवस्थालाई स्वीकार गरे।
“र जब हामी सन्तुलनको कुरा गर्छौं, हामी नेपाललाई बुझ्छौं—मेरो मतलब, तपाईं नक्सा हेर्नुस्,” उनले भने। “उनीहरू विश्वको एउटा निकै कठिन स्थानमा छन्।”
नेपालको भारतसँग बलियो सम्बन्ध रहेको उल्लेख गर्दै उनले अमेरिकाले नेपाललाई अमेरिका तथा अन्य पश्चिमी मुलुकसँग पनि सम्बन्ध विस्तार गर्ने थप अवसर उपलब्ध गराउन चाहेको बताए।
“उनीहरूको भारतसँग राम्रो सम्बन्ध छ, र हामी उनीहरूलाई पश्चिमतर्फ पनि हेर्ने तथा हामीसँग अझ राम्रो सम्बन्ध बनाउने अवसर उपलब्ध गराउन चाहन्छौं,” उनले भने। “र हामी त्यसै दिशातर्फ अघि बढिरहेका छौं।”





