एआई मोडलहरू स्वतःस्फूर्त रूपमा ह्याकिङमा संलग्न:कानुनी ढाँचामाथि प्रश्नचिह्न


प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार

Photo: Igor Omilaev/Unsplash

अमेरिकाको जस्टिस डिपार्टमेन्टसँग निजी कम्पनीका नेटवर्कमा घुसपैठ गर्ने ह्याकरहरूविरुद्ध अनुसन्धान र मुद्दा चलाएको लामो इतिहास छ। तर, जब आक्रमणकारी कुनै मानिस नभई स्वायत्त रूपमा काम गर्ने आर्टिफिसियल इन्टेलिजेन्सका मोडलहरू हुन्छन्, तब के हुन्छ?

अहिले सिलिकन भ्याली र वासिङ्टनमा यही प्रश्नलाई लिएर सार्वजनिक नीतिको ठूलो बहस सुरु भएको छ। प्रमुख प्रविधि कम्पनीहरूले आफ्ना एआईमोडलहरू नियन्त्रणबाहिर गएर अन्य संस्थाका नेटवर्कमा बिनाअनुमति घुसपैठ गरेको खुलासा गरेपछि यो बहस चर्किएको हो। एन्थ्रोपिक, ओपनएआई, मेटा र गुगल जस्ता कम्पनीहरूका इआइ मोडलहरूले परीक्षणका क्रममा इन्टरनेट वा बाह्य सर्भरमा पहुँच पुर्‍याएर यस्ता घटना गराएको स्वीकार गरेका छन्।

सफ्टवेयर कम्पनी ‘इभान्टी’का प्रमुख सूचना सुरक्षा अधिकारी ज्याक नेल्सनका अनुसार, “यदि तपाईंसँग एउटा बाघ छ र तपाईंले त्यसको खोरमा ताल्चा लगाउनुभएन भने, त्यसले तपाईंले नचाहेको कुनै नराम्रो काम गर्न सक्छ। तर, त्यसको सम्भावनाबारे थाहा हुँदाहुँदै ताल्चा नलगाएकाले जिम्मेवारी तपाईंकै हुन्छ।”

यस्ता घटनामा कानुनी कारबाही कसरी अघि बढाउने भन्ने विषय अझै अस्पष्ट छ। अमेरिकी कम्प्युटर फ्रड एन्ड एब्युज एक्ट जस्ता कानुनहरूले ‘जानेर’ वा ‘नियतवश’ गरिएका गैरकानुनी घुसपैठलाई अपराध मान्छन्। तर, कम्पनीहरूले यी आक्रमणहरू परीक्षणका क्रममा भएका भुलवश वा प्राविधिक त्रुटिका कारण भएको बताएका छन्।एआइ आफैँले नियतवश काम गरे पनि त्यसको आपराधिक नियत कम्पनीमाथि थोपर्न कानुनी रूपमा कठिन हुने विज्ञहरूको भनाइ छ।

अमेरिकी एफबीआईका निर्देशक काश पटेलले संसद्को सुनुवाइका क्रममा यसलाई “नयाँ चुनौती” भन्दै आपराधिक नियतका साथ विशेष रूपमा मोडल तयार पारिएका घटनामा मात्र अनुसन्धान केन्द्रित गरिने सङ्केत गर्नुभएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com