कर असुलीमा क्यालिफोर्निया र टेक्सासलाई पछि पार्दै न्यूयोर्क पहिलो नम्बरमा, राष्ट्रिय औसतभन्दा ७१% बढी
प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार
Photo: Michael Discenza/Unsplash
अमेरिकाको न्यूयोर्क राज्य नागरिकहरूबाट सर्वाधिक कर असुल्ने र ठूलो मात्रामा बजेट खर्च गर्ने राज्य बनेको एक नयाँ प्रतिवेदनले देखाएको छ। गैर-नाफामूलक तथा तटस्थ संस्था ‘सिटीजिन्स बजेट कमिसन’ले सार्वजनिक गरेको अध्ययन अनुसार, राज्य र स्थानीय तहका सबै करहरू जोड्दा प्रतिव्यक्ति करको बोझमा न्यूयोर्क अमेरिकाभरि नै पहिलो नम्बरमा परेको छ।
प्रतिवेदन अनुसार, न्यूयोर्कले आफ्ना नागरिकहरूबाट राष्ट्रिय औसतभन्दा ७१ प्रतिशत बढी कर असुल्छ, जुन अर्को महँगो राज्य क्यालिफोर्नियाभन्दा पनि २२ प्रतिशत बढी हो। यसैगरी, खर्चका हिसाबले पनि न्यूयोर्क अलास्कापछिको दोस्रो ठूलो खर्चालु राज्य बनेको छ।
प्रतिवेदन अनुसार न्यूयोर्क राज्यले व्यक्तिगत र कर्पोरेट दुवै क्षेत्रबाट अत्यधिक कर सङ्कलन गर्ने गरेको छ। राज्यले प्रति १,००० डलर व्यक्तिगत आयमा ४१ डलर कर असुल्ने गर्दछ, जुन राष्ट्रिय औसतको तुलनामा ९४ प्रतिशतले बढी हो। यसका साथै, राज्यको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कर्पोरेट कर असुलीमा पनि न्यूयोर्क सम्पूर्ण अमेरिकाभरि नै अग्रस्थानमा रहेको छ।
अत्यधिक कर सङ्कलनसँगै न्यूयोर्क सार्वजनिक खर्चका मामिलामा पनि निकै अगाडि देखिएको छ। यस राज्यले आफ्ना छिमेकी राज्यहरू म्यासाचुसेट्सभन्दा २३ प्रतिशत, न्यु जर्सीभन्दा ४० प्रतिशत र फ्लोरिडाभन्दा ९६ प्रतिशत बढी प्रतिव्यक्ति खर्च गर्ने गर्दछ। यदि न्यूयोर्कले आफ्ना प्रतिस्पर्धी राज्यहरू न्यु जर्सी वा टेक्ससको मोडलमा खर्च व्यवस्थापन गरेको भए, राज्यको वार्षिक ९९ अर्बदेखि १४३ अर्ब डलरसम्म बचत हुन सक्ने प्रतिवेदनले औँल्याएको छ।
विशेष गरी शिक्षा र स्वास्थ्य सेवामा न्यूयोर्कले भारी बजेट विनियोजन गर्दै आएको छ। राज्यले सार्वजनिक विद्यालयहरूमा अध्ययनरत प्रतिविद्यार्थी वार्षिक करिब ३४,००० डलर खर्च गर्ने गर्दछ। त्यसैगरी, विपन्न नागरिकहरूका लागि सञ्चालित ‘मेडिकेड’ स्वास्थ्य बीमा कार्यक्रममा प्रतिव्यक्ति ४,९४० डलर खर्च हुने गरेको छ, जुन राष्ट्रिय औसत २,८०० डलरको तुलनामा निकै उच्च हो।
नेसनल लेभलका विज्ञहरू र राजनीतिज्ञहरूले न्यूयोर्कको यस अवस्थालाई “भ्याम्पायर स्टेट”को संज्ञा दिएका छन्। उच्च कर, महँगो जीवनशैली र सोही अनुपातमा सार्वजनिक सेवा चुस्त हुन नसक्दा धेरै न्यूयोर्कवासीहरू अन्य सस्ता राज्यहरूमा बसाइँ सर्न बाध्य भइरहेका छन्।
यो प्रतिवेदन गभर्नर चुनावको पूर्वसन्ध्यामा आएकाले राजनीतिक वृत्तमा पनि तातो बहस सिर्जना गरेको छ। रिपब्लिकन उम्मेदवार ब्रुस ब्लेकम्यानले निर्वाचित भएमा कर कटौती गर्ने प्रतिबद्धता जनाएका छन् भने वर्तमान गभर्नर क्याथी होचुलका प्रतिनिधिले भने मध्यम वर्गका लागि करको दर घटाइएको र रोजगारी सिर्जनामा ध्यान दिइएको दाबी गरेका छन्।
सिटिजन्स बजेट कमिसनले न्यूयोर्क सरकारलाई थप कर बढाउनुको सट्टा बजेटको दक्षता अभिवृद्धि गर्न र सार्वजनिक सेवाको गुणस्तर सुधार्न सुझाव दिएको छ।





