धर्म भट्टराई: अमेरिकामा सफलता, नेपालमा सेवा – शिक्षामा १ करोड रुपैयाँको कोष
प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार
सन् २००५ मा विद्यावारिधि गर्ने र प्राध्यापक बन्ने सपना बोकेर अमेरिका प्रवेश गरेका गोरखाका धर्म भट्टराई आज अमेरिकाको मिसिगन राज्यमा सफल चेन रेष्टुरेन्ट सञ्चालकका रूपमा स्थापित भएका छन्। खसोखासको भिडियो पडकास्ट ‘कम्युनिटी कर्नरस्टोन’ मा पत्रकार सुरेश शाहीसँग कुरा गर्दै भट्टराईले आफ्नो दुई दशक लामो अमेरिकी यात्रा, सङ्घर्ष, सामाजिक अभियान र भावी योजनाबारे खुलेर बताएका हुन्।

अध्ययनका लागि अमेरिका आएका भट्टराईले पढाइ सकेर नेपाल फर्किने योजना बनाए पनि परिस्थितिले उनलाई व्यवसायिक बाटोतर्फ मोडेको बताए। “पीएचडी गरेर प्राध्यापक बन्ने सपना थियो, तर जीवनले मलाई उद्यमशीलतामा ल्यायो,” उनले भने।
नेपालको सरकारी सेवामा करिब १०–१२ वर्ष काम गरिसकेपछि अमेरिका आएका भट्टराईले सुरुमा जापानी सुशी रेष्टुरेन्ट उद्योगबाट आफ्नो करियर सुरु गरेका थिए। उनले न्यूयोर्क र मिसिगनका विभिन्न रेष्टुरेन्टहरूमा काम गर्दै पछि व्यवस्थापक र व्यवसाय मालिकका रूपमा आफूलाई स्थापित गरे।
भट्टराईले हाल सञ्चालन गरिरहेको प्रमुख ब्रान्ड ‘द ब्रेकफास्ट क्लब’ हो, जुन अहिले मिसिगनमा ११ वटा शाखासम्म विस्तार भइसकेको छ। उनका अनुसार यो ब्रान्ड बिहान ७:३० देखि दिउँसो २:३० सम्म सञ्चालन हुने “ब्रेकफास्ट र ब्रन्च” अवधारणामा आधारित छ, जसले परिवारमैत्री समय र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिन्छ।
“राति ढिलोसम्म काम गर्ने र परिवार टाढा हुने अमेरिकी जीवनशैलीलाई परिवर्तन गर्ने उद्देश्यले हामीले बिहान केन्द्रित व्यवसाय सुरु गर्यौँ,” उनले भने।
भट्टराईले आफ्नो फ्रेन्चाइज मोडेललाई कम लगानीमा उद्यम सुरु गर्न चाहने आप्रवासी समुदायका लागि अवसरका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार करिब २५ हजार डलरको प्रारम्भिक लगानीबाट व्यवसाय सुरु गर्न सकिने संरचना बनाइएको छ। राम्रोसँग सञ्चालन गरेमा वार्षिक करिब १ लाख ५० हजार डलरसम्म बचत गर्न सकिने उनको दाबी छ।
“हामीले सरल मेनु, छोटो तालिम (एक हप्तासम्म) र कम फ्रेन्चाइज शुल्क राखेर नयाँ उद्यमीलाई सजिलै व्यवसाय सुरु गर्ने वातावरण बनाएका छौँ,” उनले बताए।
व्यवसायसँगै भट्टराईले नेपालमा शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेका छन्। उनले आफ्ना बुबाआमाको नाममा गजाधर–गायत्री फाउन्डेसन स्थापना गरी करिब १ करोड ५ लाख रुपैयाँ बराबरको कोषमार्फत २१ वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यो कार्यक्रममार्फत हाल करिब ५० भन्दा बढी जेहेन्दार विद्यार्थीलाई सहयोग गरिँदै आएको छ। “म बच्चामा विद्यालय शुल्क तिर्न नसक्ने अवस्थाबाट आएको हुँ। त्यही अनुभवले मलाई शिक्षा क्षेत्रमा योगदान गर्न प्रेरित गर्यो,” उनले भने।
“म आफैँ विद्यार्थी छँदा कहिल्यै दोस्रो भइनँ, शिक्षाको महत्त्व मलाई थाहा छ,” उनले थपे। उनी आफ्नो सफलतालाई जन्मभूमिसँग जोड्न चाहन्छन्।
भट्टराईले अमेरिकामा नेपाली समुदायसँग सम्बन्धित विभिन्न संस्थाहरूमा पनि सक्रिय भूमिका निभाएका छन्। उनी मिसिगनमा जनसम्पर्क समिति संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली संघका सदस्य तथा विभिन्न सामाजिक संस्थामा नेतृत्व भूमिकामा रहिसकेका छन्।
व्यवसायबाहेक भट्टराई साहित्यिक क्षेत्रमा पनि सक्रिय छन्। उनले कविता, गीत र कथा लेख्दै आएका छन्। उनका केही गीतहरू लोकप्रिय गायक रामकृष्ण ढकालले समेत गाएका छन्।
भट्टराईले आगामी वर्षहरूमा ‘द ब्रेकफास्ट क्लब’ लाई क्यानडा, मेक्सिको हुँदै अन्य अमेरिकी राज्यहरू र सम्भावित रूपमा नेपालसम्म विस्तार गर्ने योजना रहेको बताए। “हाम्रो लक्ष्य केवल व्यवसाय होइन, उद्यमशीलतामार्फत समुदायलाई आत्मनिर्भर बनाउनु हो,” उनले भने।
साथै, उनले नेपाली फिल्म निर्माण, संगीत एल्बम तथा सामाजिक कथामा आधारित परियोजनाहरूमा पनि लगानी गर्ने योजना सुनाए।
भट्टराईले युवा पुस्तालाई नोकरीमा मात्र सीमित नहुन आग्रह गर्दै उद्यमशीलतामा जोड दिन सुझाव दिएका छन्। उनले नयाँ पुस्तालाई जुन काममा प्रेम र आनन्द आउँछ, त्यही व्यवसाय रोज्न र धैर्यताका साथ अघि बढ्न सल्लाह दिए।
श्रीमती सुधाको बलियो साथ र आफ्नो निरन्तर मिहिनेत नै सफलताको मुख्य कडी भएको उनको अनुभव छ। “आफूलाई मन पर्ने क्षेत्रमा सानो लगानीबाट सुरु गर्नुहोस्, त्यसपछि विस्तार हुँदै जानुहोस्,” उनले भने, “जागिर खोज्ने मात्र होइन, जागिर दिने मान्छे बन्नुहोस्।”
पूरै भिडियो हेर्न यहाँ क्लीक गर्नुहोला।





