यूएससीआईएसबाट ग्रिनकार्डका लागि मेडिकल रिपोर्टको म्यादबारे कडाइ


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

यूएससीआईएसले ग्रिनकार्ड आवेदनका साथमा पेश गरिने मेडिकल रिपोर्ट आई ६९३ को मान्यताको अवधि सिमित गर्ने सम्बन्धमा नयाँ निर्देशिका जारी गरेको छ। बुधबार देखि लागू भएको नियमअनुसार अब प्रमाणित चिकित्सकले नोभेम्बर १, २०२३ पछि हस्ताक्षर गरेको मेडिकल रिपोर्टका सन्दर्भमा सो रिपोर्ट संलग्न गरी पेश गरिएको आवेदन प्रक्रिया जारी हुन्जेल मात्र मान्य हुनेछ।

नयाँ व्यवस्थाअनुसार यदि आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ सँगै पेश गरेको मेडिकल रिपोर्ट ग्रिनकार्ड आवेदन फिर्ता लिइएमा वा अस्वीकृत भएमा त्यसपछि स्वतः अमान्य हुनेछ। पुनः अर्को आवेदन पेश गर्दा नयाँ स्वास्थ्य परीक्षण गराई नयाँ मेडिकल रिपोर्ट पेश गर्नुपर्नेछ। सामान्यतया ग्रिनकार्ड आवेदकले स्वास्थ्यसम्बन्धी अयोग्यता नरहेको प्रमाणित गर्न मेडिकल रिपोर्ट पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

यसअघि अप्रिल ४, २०२४ मा यूएससीआईएसले नीति परिवर्तन गरी नोभेम्बर १, २०२३ पछि हस्ताक्षरित मेडिकल रिपोर्ट अनिश्चितकालसम्म मान्य हुने व्यवस्था गरेको थियो। जसका कारण ग्रिनकार्ड आवेदकले एकपटक आवेदन अस्वीकृत भएर नयाँ आवेदन पेश गर्दा समेत पूरानै मेडिकल रिपोर्ट पेश गर्न पाउँथे । पछिल्लो समीक्षामा मेडिकल रिपोर्ट अनिश्चितकालसम्म मान्य हुने व्यवस्था धेरै बृहत रहेको र सार्वजनिक स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने निष्कर्ष निकाल्दै यूएससीआईएसले उक्त नीति खारेज गरेको छ ।

गतबर्ष डिसेम्बर २ मा यूएससीआईएसले नयाँ नियम लागू गर्दै ग्रिनकार्ड आवेदनकै साथमा एकैपटक मेडिकल रिपोर्ट पेश गर्नुपर्ने नियम ल्याएको थियो । त्यो भन्दा अगाडि ग्रिनकार्ड आवेदनका साथमा नै मेडिकल रिपोर्ट पेश गर्न आवश्यक थिएन, पछि पेश गर्न समेत पाउने प्रावधान रहेको थियो ।

गत जनवरी २२ देखि लागु हुनेगरी ट्रम्प प्रशासनले मेडिकल रिपोर्टमा कोभिड १९ विरुद्धको खोप आवश्यक नपर्ने नीति ल्याएको थियो । त्यस अगाडि सन् २०२१ को अक्टोबर १ देखि बाइडेन प्रशासनले मेडिकल रिपोर्टमा कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएको थियो ।

जनवरीदेखि युएससीआईएसले कोभिड १९ खोप प्रमाणित गर्ने सन्दर्भमा थप कागजात वा आवेदन अस्वीकार गर्ने आशयको सूचना पठाउन रोकेको छ । युएससीआईएसले कोभिड १९ विरुद्धको खोप प्राप्त गरेको कागजात पेश गर्न असफल भएको आधारमा ग्रिनकार्ड आवेदन अस्वीकार नगर्ने समेत स्पष्ट पारेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com