न्युयोर्कमा मन्त्री पौडेल: “पढाईमा मलाई जित्ने सबै अमेरिकामा, उहाँहरू उदाहरणीय बन्नुपर्छ”


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अमेरिकामा रहेका नेपालीहरू समाजका लागि उदाहरणीय बन्नुपर्नेमा जोड दिएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाले “नेपालको स्वास्थ्य र सर्वपक्षीय विकासमा डायस्पोराको भूमिका” विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकामा रहेका नेपालीहरूको व्यवहार उदाहरणीय हुनुपर्ने बताएका हुन्।

उनले भने, “म अमृत साइन्स क्याम्पसमा पढेको मान्छे हुँ। पढाइमा मलाई जित्नेहरू अहिले सबै अमेरिकामा हुनुहुन्छ। त्यो बेलामा आईएस्सी टप गर्नेहरू पनि अहिले अमेरिकामै हुनुहुन्छ। हाम्रो समाजका बलिया मानिसहरू अहिले एनआरएन बन्नुभएको छ। अब ती बलिया मानिसहरूको व्यवहार कस्तो छ भन्ने समाजले हेरेको छ। देशै छोडेर आए पनि ती मानिसहरू यस्तो अवस्थामा हुनु पर्छ—जहाँबाट उनीहरूले देशलाई थुप्रै कुरा सिकाउन सकून्। उनीहरू उदाहरणीय बन्न सक्ने स्थितिमा हुनु पर्छ।”

तर तीनै मानिसहरूले बनाएको संस्था एनआरएनए (गैरआवासीय नेपाली संघ) उदाहरणीय बन्न नसकेको उनले बताए। उनले भने, “हाम्रो समाजका बलिया मानिसहरूले बनाएको संस्था हो—एनआरएनए। तर यस संस्थाको अधिवेशन समयमा हुँदैन, विधि अनुसार चल्दैन, र पाँचवटा गुटमा विभाजित छ। त्यस्तो उदाहरण देखिरहँदा समाजको एनआरएनप्रति भरोसा नै टुट्दै जान्छ। यो पनि अर्को निराशाको विषय हो। संस्था कसरी चल्नुपर्छ भन्ने कुरा त एनआरएनले नै देशलाई सिकाउनुपर्ने हो। तर अहिलेको अवस्थामा एनआरएन त्यो सिकाउने दिशामा अगाडि बढिरहेको देखिँदैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको संविधानले “गैरआवासीय नेपाली” भन्नाले नेपालमा आवास नभएका तर नेपाली नागरिकलाई जनाउने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले अझ परिष्कृत शब्द प्रयोग गर्न सकिन्छ भने त्यसतर्फ प्रयास गर्नुपर्ने बताए। उनले भने, “गैरआवासीय नेपाली भनेको नेपाली होइन भन्ने होइन। नेपालमा बसोबास नगरेका तर नेपाली नागरिक भएको जनाइएको हो। त्यसैले यस्तो संस्था उदाहरणीय बन्नु आवश्यक छ भन्ने मलाई लाग्छ। किनभने यस संस्थाले देशलाई विभिन्न ढंगबाट योगदान पुर्‍याइरहेको छ। यदि अझ संगठित र व्यवस्थित भयो भने, अझ ठूलो योगदान दिन सक्छ।”

कार्यक्रममा मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका विषयमा चर्चा गर्दै सुशासन र नागरिक स्वतन्त्रता सरकारको मूल उद्देश्य भएको बताए। स्वास्थ्य सुधार लगायत अन्य क्षेत्रमा प्रवासी नेपालीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले नेपाली समुदायलाई नेपालका विभिन्न क्षेत्रहरूमा सहयोग जुटाउन पहल गरिदिन आग्रह गरे। स्वास्थ्य सुधारका लागि बीमा कोषमार्फत योजना ल्याउनु आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “राज्यको स्रोत भनेको नागरिककै पैसा हो, त्यसैले नागरिक झनै सचेत हुनुपर्छ। म जनताको निराशालाई आशामा बदल्ने गरी काम गरिरहेको छु।”

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार, लेखक तथा कवि डा. नवराज लम्सालले आफू पार्टी र देशका लागि उपयोगी लेख लेख्न चाहेको बताए। उनले लोकतन्त्र बलियो भएको र देश सुध्रिएको देख्न चाहने प्रवासी नेपालीहरूलाई देशको माटोसँग जोड्न मन्त्रीलाई आग्रह गरे। नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले सरकारले गाउँमुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिंदै, निमुखा तथा दुर्गम बस्तीहरूमा सरकारको सेवा पुर्‍याउन स्वास्थ्यमन्त्रीलाई अनुरोध गरे।

साथै, संसारभर रहेका नेपाली जनसम्पर्क समिति, नेपालीहरू र नेपाल सरकारलाई सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। कार्यक्रममा कांग्रेस नेता बेद खरेल, एनआरएनए अध्यक्ष सूर्य लम्साल, संजीव श्रेष्ठ, तोरण गुरुंग, गौतम दाहाल, महासचिव मुनेन्द्र नेवाङ, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण लामिछानेलगायत विभिन्न संघसंस्थाका नेता तथा सामाजिक व्यक्तित्वहरूले सम्बोधन गरेका थिए। वक्ताहरूले नेपालको विकासमा डायस्पोराले खेल्न सक्ने भूमिका र सरकारले त्यसलाई कसरी सदुपयोग गर्न सक्छ भन्ने विषयमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com