महानगर र उपमहानगर बाहेकका नतिजा ‘आज’
प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

तेस्रो चरणको स्थानीय निर्वाचनको मतपरिणाम आउन ढिलाई भईरहेकोमा आलोचना खेपिरहेको निर्वाचन आयोगले आज साँझसम्म एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका बाहेकका सबै तहको मतगणना सकिने जनाएको छ।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार र पदहरु कम हुने भएकोले मतगणना अहिलेको भन्दा छिटो सकिने आयोगका अधिकारीहरुको आकलन छ।
गत सोमवार प्रदेश नं.२ मा भएको तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने आयोगले नै लिएको लक्ष्यको समयसीमा आज सकिंदैछ।
हालसम्म १२ सय ७१ वडामध्ये करिब ८५ प्रतिशत वडाको मतगणना सकिएको आयोगले जनाएको छ।
कारण
निर्धारित समयमै मतगणना थालनी गरिएको भएपनि मतपरिणाम आउन ढिलाई हुनुका पछाडि राजनीतिक दल वा उम्मेदबारबीचको विवाद नै प्रमुख कारक भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
उनले भने, “कुनै मतबारे विवाद भएपछि लामो छलफलहरु भइरहेका छन् र केही स्थानमा खसेको मतको मुचुल्का र मतपेटिका खोल्दा मुचुल्कामा फरक पर्यो भन्ने विवाद छ। कतिपय स्थानमा उम्मेदवारका प्रतिनिधिहरु समयमै प्राप्त गर्न नसक्दा पनि केही ढिलाई भएको छ।”
यसअघिका दुई चरणमा भएको ढिलाईसँगै बढेको आलोचनालाई मध्यनजर गर्दै निर्वाचन आयोगले तेस्रो चरणमा ३२८ मतगणना टोली परिचालन गरिएको आयोगले जनाएको छ।

प्रत्येक टोलीले आठ घण्टामा ५०० मतगणना गरेमा पाँच दिनमा सक्ने आयोगको अनुमान थियो।
निर्वाचन आयोगसँग पर्याप्त जनशक्ति र स्रोतसाधन भएपनि त्यसको सदुपयोग गर्न नसक्दा मतपरिणाम आउन ढिलाई भईरहेको एकजना पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताए।
सुझाव
आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी अहिलेदेखि नै मतगणकको दक्षता विकासमा जोड दिनुपर्ने उनको सुझाव छ।
उनले भने, “प्रत्येक जिल्लामा आवश्यकताभन्दा अझ बढी मतगणकलाई तालिम दिनुपर्यो। आयोगले एउटा नमुना निर्वाचन गराएर प्राविधिक पक्षलाई थप चुस्त बनाउनुपर्दछ।”
तुलनात्मक रुपमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतपत्रको आकार र उम्मेदवारको संख्या सानो हुने हुनाले मतपरिणाम आउन हालको जस्तो ढिलो नहुने सम्बद्ध अधिकारीहरुले बताएका छन्।
तर दलहरुका कारण हुनसक्ने ढिलाईलाई सम्बोधन गर्न बेलैमा सजग नरहे आयोग आलोचनामुक्त नहुने जानकारहरु बताउँछन्।