५० प्रतिशत एसाइलम आवेदकलाई ३० दिनमा वर्क परमिट


प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार

अमेरिकामा युएससीआईएसले झण्डै पचास प्रतिशत एसाइलम आवेदकलाई ३० दिनमा वर्क परमिट प्रदान गरेको छ । अध्यागमन अधिकारीहरूले एसाइलम आवेदकको वर्क परमिट प्रशोधन गर्न लाग्ने समयमा स्थिर प्रगति गरेका हुन् ।

युएससीआईएसले अदालतले तोकेको ३० दिने समयरेखाभित्र प्रशोधन गरेका वर्क परमिट आवेदनहरूको अंश गत वर्ष ५ प्रतिशत भन्दा कममा झरेको थियो । तर सन् २०२३ को अप्रिलसम्म एक महिना भित्र प्रशोधन हुने वर्क परमिट आवेदनको प्रतिशत ४४ दशमलव ४ पुगेको छ ।

युएससीआईएसको तथ्याङ्क अनुसार गत वर्षको अन्त्यमा ७ लाख ८ हजार भन्दा बढी एसाइलम आवेदनहरू विचाराधीन थिए। एसाइलमको वर्क परमिटका लागि एक महिनाभन्दा बढी सयम लगाउने ट्रम्प प्रशासनको नियम कार्यान्वयनमा एक संघीय जिल्ला न्यायाधीशले रोक लगाएपछि युएससीआईएससमक्ष १ महिनामा वर्क परमिट प्रकृयामा लैजानुपर्ने कानुनी बाध्यता रहेको छ ।

सन् २०२० को अगस्तमा युएससीआईएसले एसाइलम आवेदन विचाराधिन रहेका ९६ दशमलव ६ प्रतिशत आवेदकको वर्क परमिट ३० दिनमा र ९९ प्रतिशतको वर्क परमिट २ महिनामा प्रशोधन गर्दै आएको थियो । तर सन् २०२२ को जुनमा ३० दिनभित्र वर्क परमिट प्रशोधन गर्ने प्रतिशत ६ मा झरेको थियो ।

गत फरबरीमा १६ प्रतिशत र मार्चमा ३४ प्रतिशत हुँदै अप्रिलमा यसमा उल्लेख्य सुधार आएको हो । ७६ प्रतिशतभन्दा धेरैले २ महिनामा वर्क परमिट पाउदै आएका छन् ।

एसाइलम आवेदन विचाराधिन रहेकाहरुले आवेदन विचाराधिन रहेको १८० दिनपछिमात्र वर्क परमिट प्राप्त गर्न सक्छन् । यद्यपी आवेदन भने १५० दिनपछि पनि दिनसक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com