अमेरिकाको नागरिकता लिएका झण्डै ६० हजारको नेपाली नागरिकता स्वत खारेज भयो?


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

अमेरिकाको नागरिकता लिएका नेपालीहरुको संख्या झण्डै ६० हजार रहेको छ । अमेरिकी नागरिकता हुने बित्तिकै के उनीहरुको नेपाली नागरिकता स्वत खारेज भयो ? यसबारे कतिपयमा अन्यौल कायम रहेको छ ।

नेपालको वर्तमान कानुन अनुशार नेपाली नागरिकताको समाप्ती विभिन्न ५ कारणले हुनसक्छ । नेपालको कुनैनागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागकिरता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नहुने प्रावधान रहेको छ । यो प्रावधान अनुशार अमेरिकाको नागरिकता लिएका ६० हजारको पनि नेपाली नागरिकता स्वत खारेज भएको छ ।

अमेरिकी नागरिकता लिनका लागि नेपालको नागरिकता त्यागेको प्रमाण अमेरिकी सरकारलाई बुझाउनु पर्दैन । तर कतिपय देशको नागरिकता लिनका लागि भने नेपालको नागरिकता परित्याग गरेको प्रमाण बुझाउनुपर्छ । यो अवस्थामा नेपालको नागरिकता परित्यागको सुचना जिल्ला प्रशासन कार्यालयमा गराउन सकिन्छ ।

कानुनमा व्यवस्था भए अनुशार नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सुचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सुचना दर्ता गर्नेछ । र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहनेछैन ।

त्यस्तै कुनै विदेशी व्यक्तिले झुठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउन आदेश दिनेछ । त्यसरी हटाइएको मितिदेखि निजको नेपाली नागरिकता काम हुनेछैन ।

त्यस्तै वर्तमान कानुन अनुशार कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले १६ बर्ष उमेर पुगेको २ बर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नुपर्नेछ । त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहनेछैन ।

त्यस्तै कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्ने कानुनी व्यवस्था रहेको छ ।

विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वत समाप्त हुने प्रावधान रहेपनि विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त हुने प्रावधान नेपालको कानुनमा छैन । कैयन नेपालीहरु यो प्रावधानमा झुक्किने गरेका छन् । किनभने विदेशको नागरिकता लिंदा नेपालको नागरिकता स्वत समाप्त भएजस्तै विदेशको नागरिकता त्यागेपछि नेपाली नागरिकता स्वत कायम हुने बुझाईका कारण झुक्किने गरेका हुन् ।

तर नेपाली नागरिकता पुन प्राप्त गर्नका लागि आवेदन दिनुपर्छ । कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन नेपालमा आई बसोबास गरेको र विदेशको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन कायम हुने व्यवस्था छ ।

नेपालको संविधान बनेको ७ बर्ष पुग्दा पनि संविधान अनुशार नागरिकता ऐन बन्न नसक्दा पनि अन्यौल उत्पन्न भइरहेको छ । संविधानमा एनआरएन नागरिकताको व्यवस्था भएपनि ऐन बन्न नसक्दा विदेशको नागरिकता लिइसकेका नेपालीहरुले एनआरएन नागरिकता प्राप्त गर्न सकेका छैनन् । जसका कारण अमेरिकी नागरिकता प्राप्त गरिसकेपछि पनि अधिकांशले नेपालमा सम्पत्ति लगायतका विभिन्न कागजातमा नेपालको पुरानै नागरिकता प्रयोग गरिरहेका छन् ।

कति छन् अमेरिकाको नागरिकता लिएका नेपाली ?

अमेरिकी नागरिकता लिएका नेपाली अमेरिकनहरुको संख्या ६० हजारको हाराहारीमा रहेको छ । आर्थिक बर्ष २०२१ मा ७ हजार ३ सय ३२ र २०२० मा ५ हजार ७ सय ९४ नेपालीहरुले अमेरिकाको नागरिकता लिएपछि नागरिकता लिनेहरुको संख्या ६० हजारको हाराहारीमा पुगेको हो ।

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या विगत ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् ।

सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्याभन्दा २०१५ पछिका ५ बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या धेरै रहेको छ ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com