अमेरिका निवासी नेपाली मूलका कलाकार श्रेष्ठका ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठको ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका छन् । यसबर्षको ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका तीनवटा बृत्तचित्रहरु नोमिनेशनमा परेका हुन् ।

दशैं पर्व, सरस्वती पूजा पर्व र महा शिवरात्री पर्व नामका उनका बृत्तचित्रहरु नोमिनेशनमा परेका हुन् । ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्ड समारोह आगामी जुन १८ मा क्यालिफोर्नियाको पाल्म स्प्रींगमा आयोजना गरिनेछ ।

फेस्टिभल्स श्रेष्ठबाट निर्मित ५ भागतको बृत्तचित्र श्रृङ्खला हो जसले दैवी प्रेरित रहस्यमय संस्कृति र नेपाली जनताको विविधताको अनुभवका साथमा नेपालको मिथक, किंवदन्ती र पुरातन परम्पराहरूलाई उजागर गरेको छ । आफ्ना बृत्तचित्रहरु नोमिनेशनमा परेकोमा श्रेष्ठले खुशी व्यक्त गरेका छन् ।

द नेशनल एकेडेमी अफ टेलिभिजन आर्टस एण्ड साइन्सेजबाट महान सम्मान प्राप्त गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए । फेस्टिभल शृङ्खला प्रेमपूर्ण परिश्रम रहेका् र यसलाई बनाउन तीन वर्ष लागेको उनले बताए । दर्शकहरु बृत्तचित्रको माध्यमबाट भर्चुअल रुपमा नेपालको यात्रामा जानसक्ने र नेपालको समृद्ध संस्कृतिको बारेमा केही भएपनि जान्न सक्ने उनले बताए ।

यो बृत्तचित्र हेरेपछि उनीहरुले नेपाललाई भ्रमणका लागि गन्तव्य बनाउने निर्णय गर्न सक्ने र त्यसले गर्दा नेपालको पर्यटन उद्योगलाई निस्सन्देह मद्दत गर्ने श्रेष्ठको विश्वास रहेको छ । उनले भनेका छन् -‘यो बृत्तचित्र निर्माण एक गौरवान्वित नेपालीको रूपमा मेरो देशलाई प्रेमपत्र पठाउने मेरो तरिका थियो।मेरा लागि यो देशले के गरेको छ वा गर्नसक्छ भन्दापनि मैले देशको लागि के गर्नसक्छु भन्ने विषय हो ।’

अहिलेसम्म ९ पटकसम्म एमी अवार्डको नोमिनेशन प्राप्त गर्न सफल श्रेष्ठको यो बृत्तचित्र विश्वचर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो । अमेरिकाको लस एन्जलसमा रहेको क्रियटिभ हाइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो बृत्तचित्र १७ वटा एसियाली मुलुकमा प्रशारण गरिएको थियो । यही कम्पनीको ब्यानरमा निर्मित सामाग्रीहरुले विभिन्न अवार्डहरु जित्न सफल भएका छन् भने एमी अवार्डको नोमिनेशनमा समेत परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com