मार्चमा डिभी विजेता नेपालीको केस नम्बर थपिएन, भिसा पाउन नसक्दा विजेताहरु अन्यौलमा


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको भिसा बुलेटिन अनुशार मार्च महिनामा नेपाली डिभी विजेताहरुका लागि भिसा प्राप्त गर्नसक्ने केस नम्बर फेब्रुअरीको तुलनामा थप गरिएको छैन । फेब्रुअरीमा डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा करेन्ट बनाइएकोमा मार्चमा पनि ४२ सयमा नै सिमित गरिएको छ ।

जनवरीमा ३२ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरुको भिसा करेन्ट गरिएको थियो । तर अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई भिसा नदिएको र आफूहरुको सेकेण्ड लेटर पनि प्राप्त नभएको आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले गुनासो गरेका छन् ।

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबर र नोभेम्बरमा भिसा नदिइएको खुलासा भएको छ । त्यसपछि पनि डिसेम्बर र जनवरीमा समेत आफूहरुले भिसा पाउन नसकेको डिभी विजेताहरुको भनाई छ ।

अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् । त्यस्तै नोभेम्बरमा ४८७ जनालाई काठमाडौंमा रहेको दूतावासले आप्रवासी भिसा जारी गरेपनि डिभी विजेताले भने भिसा पाएनन् ।

२०२२ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागु भिसाको प्राथमिकता खारेज गरेपनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासिनताका कारण डिभी विजेताहरु चिन्तित छन् ।

अमेरिकी दूतावास काठमाडौं

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लाख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

डिभी २०२२ का विजेताले केन्टकी सर्भिस सेन्टरमा डीएस २६० मात्र बुझाए पुग्ने

तत्कालदेखि लागु हुने गरी अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो र साथमा अमेरिका आउने परिवारका सदस्यहरुको डीएस २६० फर्म बुझाउनुपर्ने र अन्य थप कागजात आवश्यक नपर्ने जनाइएको छ ।

केससँग सम्बन्धित सबै आवेदकको डीएस २६० आप्रवासी भिसा आवेदन फर्म प्राप्त गरिसकेपछि केन्टकी सर्भिस सेन्टरले भिसा अन्तरवार्ता तय गर्नेछ । दूतावास वा कन्सुलेटमा भिसा अन्तरवार्ता तय गर्नका लागि आवेदकले अबदेखि केन्टकी सर्भिस सेन्टरमा थप कागजातहरु बुझाउन नपर्ने विदेश मन्त्रालयले स्पष्ट पारेको छ ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने भएको छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ । आवश्यक कागजातको सुची यहाँ हेर्न सक्नुहुनेछ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

केन्टकी सर्भिस सेन्टर

अन्तवार्ताभन्दा अगाडि भिसा आवेदकले राम्रोसँग तयारी गरेको र आवश्यक कागजात सुरक्षित रहेको सुनिश्चित गर्न केन्टकी सर्भिस सेन्टरले आवेदनहरु पूर्व प्रकृयामा लैजादै आएको छ । यसले कन्सुलर सेक्सनको प्रभावकारिता बढाउनुका साथै आवश्यकहरुलाई आफ्नो योग्यता प्रमाणित गर्न सहयोग गरेको थियो ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यसलाई पाइलट कार्यक्रमका रुपमा ल्याइएको र बर्षको अन्तिममा कार्यक्रमको लागत र लाभबारे विश्लेषण गरिने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com