आकर्षक ‘आस्तिक डिजाइन’


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

-दीपेन्द्र ढुंगाना (फोटोसहित)

नेपालका युवा फेशन डिजाइनर हुन् आस्तिक शेरचन । अहिले उनले समरलाई मध्य नजर गरेर भिन्न भिन्न प्रकारका डिजाइन गरेका छन् । गर्मी महिनामा प्रयोगमा आउने कपडाहरु हलुका र शितल हुनुपर्ने भएकाले त्यही अवधारणा अनुशार उनले डिजाइन गरेका छन् । गर्मी महिनामा लागाउने लुगाको बाहुला अलिक छोटो भएको राम्रो हुने आस्तिकको भनाई छ ।

दुलहीले लगाउने रातो पहिरनदेखि उनले तयार पारेका कुर्तासुरुवाल, लेहेंगा, ब्राइडल वेयर, वान पिसलगायत डिजाइन अत्यन्तै आकर्षक छन् । भारतबाट खाँडी ल्याएर नेपालमा डिजाइन गर्ने र बुट्टा भर्ने काम गर्नुका साथै उनी मखमल, बनारसी, चन्देरी, सुती, रेशम र जालिदार कपडाको डिजाइन गर्छन् ।

फ्रान्समा फेसन डिजाइन पढेका उनलाई एउटा सानो र राम्रो बुट्टा भर्न एक साता सम्म समेत लाग्छ । आस्तिकले फेसन जगतमा राम्रो काम गर्दै गए पनि उनका बुबालाई भने छोराको पेसामा चित्त बुझेको थिएन । अचेल छोराको प्रशंसा सुन्दा मख्ख पर्छन् उनका पिता धनबहादुर । साहित्यकार आमा उषा शेरचन छोरालाई सधै सपोर्ट गर्छिन् । उनको डिजाइन नेपालका बैंकर अनिल शाह, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसहितका सेलीब्रेटीले रुचाएका छन् । उनको डिजाइनको कपडा पहिरेर सेलीब्रेटीहरु र्याम्पमा उत्रिसकेका छन् ।

सगरमाथाको प्रथम आरोही एडमन्ड हिलारीकी नातिनी पनि उनको पहिरन नेपालबाटै लैजान्छिन् । आस्तिकले पुल्चोक– ३ नामको बुटिक सञ्चालन गरेका छन् । जहाँ पाँच हजारदेखि डेढ लाख रुपैयाँसम्मका फेसनेबल कपडा तयार हुन्छन् । पुलचोक थ्री आस्तिकको महत्त्वाकांक्षी प्रोजेक्ट हो । र, नेपालको पहिलो लक्जरी फेसन स्टोर पनि ।

आस्तिकले खोलेको ‘पुलचोक थ्री’ लक्जरी फेसन सोरुम हो । यसलाई उनी बुटिक भन्न रुचाउँदैनन् । बरु, ग्यालरी जस्तै छ यो । पुरानो, महल शैलीको घरभित्र उनले क्लासिक लुक्स आउने फर्निचर, कार्पेट, ऐना आदि सजाएका छन् । त्यहीँ उनका पहिरन प्रदर्शन गरिएका छन्, ग्यालरीमा पेन्टिङ टाँगिए जसरी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com