डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने


प्रकाशित मिति : आश्विन २८, २०७८ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन जारी गर्दै डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकेको छ । नोभेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् । अक्टोबरका लागि भने ९ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् ।

अकटोबर १ देखि डिभी २०२२ का विजेताहरुलाई अमेरिकाले भिसा दिन सुरु गरेको हो । अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ सुरु भएकाले डिभी २०२२ का विजेताहरुलाई भिसा दिन सुरु गरिएको हो ।

आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।

सन् २०२२ का लागि कुल ७३ लाख ३६ हजार ३ सय २ जनाले डिभी भरेका थिए । आफन्तहरुसहित सन् २०२२ को डिभीमा सहभागी हुनेहरु विश्वभरबाट कुल १ करोड ३१ लख ९१ हजार २ सय ९६ जना रहेका थिए ।

अमेरिकी दूतावास काठमाडौं

आर्थिक बर्ष २०२१ का लागि पनि ३८०१ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर कोरोना महामारी र विगतको ट्रम्पको आप्रवासन रोकका कारण अधिकांशले भिसा पाउन सकेनन् । सेप्टेम्बर ३० भित्र भिसा पाउन नसकेका केही डिभी विजेताहरुका लागि पछि समेत भिसा पाउन सक्नेगरी अदालतले भिसा संरक्षण गरेको छ ।

अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गरेको छ । अदालतको आदेश पछि सरकारले आगामी दिनमा यी भिसा जारी गर्नुपर्नेछ । तर कहिलेसम्म जारी गर्ने भन्नेबारे सरकारले केही बताएको छैन ।

कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । थप ९ हजार ९५ भिसा संरक्षण गरिएको छ ।

गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com