अन्तत अमेरिकी दूतावास काठमाडौंबाट सिमित डाइभर्सिटी भिसा जारी, गत महिना १६ जनालाई


प्रकाशित मिति : श्रावण ७, २०७८ बिहीबार

मे महिनासम्म सन् २०२१ का डिभी विजेताहरुलाई भिसा जारी नगरेको अमेरिकी दूतावास काठमाडौंले अन्तत डिभी विजेताहरुलाई सिमित संख्यामा भिसा जारी गरिरहेको छ । जुनमा १६ जना डिभी विजेताहरुले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गर्न सफल भएका छन् ।

जुलाईमा पनि सिमित संख्यामा डिभी विजेताहरुलाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा जारी गरिरहेको छ । तर अहिलेसम्म जुलाईमा कतिजनालाई भिसा जारी गरियो भन्ने विवरण भने प्राप्त भएको छैन । अगस्त र सेप्टेम्बरका लागि पनि केही डिभी विजेताहरुका लागि भिसा अन्तरवार्ता तय गरिएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार विश्भरबाट गत महिना डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या भने २३ रहेको छ । गतमहिना काठमाडौंको दूतावासले कुल ३२९ जनालाई आप्रवासी भिसा जारी गरेको छ । जसमा सबैभन्दा धेरै अमेरिकी नागरिकका बुबाआमा १९५ जना रहेका छन् ।

काठमाडौंको दूतावासले देशीय कोटाबाहेकको अपवादमा परेका १६ जना ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुलाई पनि गत महिना आप्रवासी भिसा जारी गरेको छ । तर ठूलो संख्यामा अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरु भिसाको प्रतिक्षामा रहेका कारण र ब्याकलग चर्को रहेका कारण मारमा परेका छन् ।

विश्वभरबाट अहिलेसम्म कतिले पाए डाइभर्सिटी भिसा ?

अमेरिकी विदेशमन्त्रालयले अदालतमा पेश गरिएको कागजात अनुशार  विश्वभरबाट जुलाई ८ सम्म आर्थिक बर्ष २०२१ का ४ हजार ३ सय ५ जनाको डाइभर्सिटी भिसा आवेदनहरुबारे निर्णय गरिएको छ । जसमध्ये ३ हजार ५ सय ६ जनाले भिसा प्राप्त भएको अदालतमा ब्यूरो अफ कन्सुलर अफेयर्सको अफिस अफ डोमेस्टिक अपरेशन भिसा अफिसका अधिकारीका तर्फबाट अदालतलमा पेश गरिएको विवरणमा जनाइएको छ ।

जुलाई १५ सम्म ६ हजार १८ भिसा अन्तरवार्ता तय गरिएको जनाइएको छ । उनीहरुको अन्तरवार्ता आगामी दिनमा हुने अपेक्षा गरिएको छ । यी भिसा अन्तरवार्तामा कुल ११ हजार ६ सय ५७ जनाको प्रतिनिधित्व हुनेछ । अर्थात् डिभी विजेताका दम्पत्ति र छोराछोरीहरुसमेत यसमा सहभागी छन् ।

मे मा विश्वभरका कैयन अमेरिकी दूतावासले सिमित संख्यामा सन् २०२१ का डिभी लोटरी विजेताहरुलाई पनि भिसा जारी गरेका थिए । तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले भने डिभी विजेता कसैलाई पनि भिसा जारी गरेन ।

मे महिनामा विश्वका विभिन्न देशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटबाट झण्डै १ हजार डिभी विजेतालाई भिसा जारी गरिएको थियो ।  अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक खसोखासले विश्लेषण गर्दा मे महिनामा विश्वभरबाट ९६२ जना डिभी विजेताहरुले भिसा पाएका थिए ।

अमेरिकी दूतावास काठमाडौंले मे महिनामा ५५४ जनालाई आप्रवासी र गैरआप्रवासी भिसाहरु जारी गरेको थियो । तर त्यसमा एकजना पनि डिभी विजेताहरु थिएनन् । सन् २०२१ का डिभी विजेताहरुले सेप्टेम्बरको अन्तिमसम्म भिसा पाइसक्नुपर्ने हुन्छ । वर्तमान कानून अनुशार उनीहरुले अक्टोबर सुरु भएपछि भिसा पाउन सक्नेछैनन् । त्यसका लागि अब झण्डै साढे २ महिनामात्र बाँकी रहेको छ ।

मे महिनामा विश्वभरबा अमेरिकी दूतावास र कन्सुलेटमध्ये अबुधाबीबाट ४५ जना, अल्जियर्सबाट ४५ जना, अल्मेटीबाट ९६ जना, विश्केकबाट ४० जना, कायरोबाट ३३ जना, कासाब्लान्काबाट ४७ जना, दोहाबाट २० जना, जर्जटाउनबाट २३ जना, कुवेतबाट १५ जना, मुम्बईबाट १० जना, नैरोबीबाट २५ जना, प्रिस्टिनाबाट २९ जना, सिड्नीबाट ४१ जना, तिब्लिसीबाट ३५ जना, टोकियोबाट १८ जना, वार्साबाट ४२ जना, यावन्डेबाट ७४ जना डिभी विजेतालाई भिसा जारी गरिएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com